Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 1, 2013

राजेश हमाल बन्लान् स्वतन्त्र प्रधानमन्त्री ?

विष्णु शर्मा
१ फेव्रुअरी २०१३

यतिबेला स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने राष्ट्रिय बहस छ । यसका लागि पूर्व न्यायाधीश, नागरिक समाजका अगुवा लगायतको नाम चर्चामा छ । हुन त म दलिय प्रणालीमा दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने मत राख्छु । तर, हाम्रा दलहरूको असक्षमता र अकर्णम्यता देख्दा कहिलेकाहिँ स्वतन्त्र व्यक्तिको नाम पनि उचित लाग्छ । यदि यो बहस उठ्ने हो भने म नेपाली फिल्मका महानायक राजेश हमाल स्वतन्त्र प्रधानमन्त्रीका रुपमा उठाउनु उचित हुनेछ । कसैले यो विचारलाई ‘हावा’ र ‘गसिप’ भन्लान् तर, विश्वका चर्चित सेलिव्रेटी राजनीतिमा लागेका उदाहरण छन् । महानायक हिजोआज जहाँ जान्छन्, त्यहाँ पुगे भने नेताहरूको उछितो काढ्छन् र आफू प्रधानमन्त्रीको लागि योग्य रहेको जीकिर गर्छन् । मेरा साथी ज्योतिष हरिहर अधिकारीले उनलाई राजनीतिमा लागेमा हमाल प्रधानमन्त्री समेत हुने भविष्यवाणी पनि गरिसकेका छन् ।

हमालको यो राजनीतिक छटपटी यतिबेला मोफसलमा सुटिङ भैरहेको फिल्म ‘राजनीति’मा खेलेकाले मात्र पैदा भएको होइन । हमालले मसँगको भेटमा आफू पटक–पटक राजनीतिमा लाग्न इच्छुक रहेको बताइसकेका छन् । उनी हालका प्रधानमन्त्री बाबुराम भट्टराईका प्रशंसक पनि हुन् ।

बलिउडमा गोविन्दा, संजय दत्तालगायतका कलाकार राजनीतिमा उत्रिए । हलिउडमा आर्नोल्ड स्वार्जनेगर रिपब्ल्किन पार्टीबाट गभर्नर पनि बने । पाकिस्तानी क्रिकेट टीमका पूर्व कप्तान इमरान खानले यतिबेला इस्लामावादमा तहल्का मच्चाइरहेका छन् । नेपालमै भुवन केसीसहितका कलाकार खुलेर पार्टीको झन्डा बोकिरहँदा महानायक चाहिँ अहिलेसम्म स्वतन्त्र छन् । प्रमका लागि उनको प्रस्थानविन्दु दलीय सहमति नै हुन्छ । हमाललाई स्वतन्त्र व्यक्तिको उम्मेदवार बनाउँदा साथीहरूलाई कस्तो लाग्छ, प्लिज कमेन्ट पाऊँ ।

No comments:

Post a Comment