Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 1, 2013

‘डिप पर्पल’को कन्सर्टमा लुकेको नेपाल

विष्णु शर्मा
१ मार्च, २०१३

भिडियो साझेदारी साइट ‘युट्युव’का अनुसार ‘गङनम स्टाइल’लाई नेपालबाट समेत लाखौं पटक हेरिएको छ । ‘कोलाबेरी डी’ले काठमाडौंमा ज्वरो निकालेको धेरै भएको छैन । यी दुई गीतका सूत्रधार कोरियाली गायक साइ र दक्षिण भारतीय धनुषले ‘म्युजिक कल्चर’ स्थापित नभैसकेको हिमाली राज्यमा पारेको सांगीतिक प्रभावको ह्याङओभर अझै कायम छ । हामै्र तन्नेरी ‘टेक्नो पुस्ता’ नेपाली संगीतिज्ञलाई चिन्दैन तर, पश्चिमासहितका विदेशी म्युजिसियनलाई गजेटमा समेट्छ । ‘लिभ लोकल्ली एन्ड थिंक ग्लोबल्ली’ मान्यता राख्ने यो पुस्ता नजिक देख्दैन । नजिककालाई चिन्दैन ।

मैले यो विषय ठीक यतिबेला उठाएको छु जतिबेला विश्वकै एउटा बूढो ब्यान्ड ‘डिप पर्पल’ सातापछि काठमाण्डूलाई जुरुक–जुरुक पार्दैछ । मार्च १५ मा दशरथ रंगशाला बेलायती रक ब्यान्डको प्रस्तुतिको साक्षी बन्नेछ । ब्रायन एडम्स र अतिफ अस्लमजस्ता विदेशी गायकले कन्सर्ट गरेको र डिप पर्पलले गर्न लागेको यस्तो एउटा मुलुक नेपाल जसको स्वयम लिंग छुट्टिएको छैन । नेपाली संगीत भाले हो कि पोथी वा तेस्रो लिंगी ? जैविक बहस सुरु भएको छ । अन्तराष्ट्रिय टावरिङ भएका म्युजिसियनले कन्सर्ट गरेमा त्यसले पर्यटन र अर्थतन्त्रमा प्रभाव त पार्ला तर सँगै हाम्रो आफ्नै सांगीतिक पहिचानको खोजीको पहललाई भने बिर्साइदिने गरेको छ ।

मेलवादेवी, बच्चुकैलाश, नारायणगोपाल हुँदै सुगम पोखरेलसम्मको यात्राले इतिहास त निर्माण गरेको छ तर, इतिहासको ब्याज खाएर भविष्य बन्दैन । यसका लागि सरकार र समाजसँग संगीत जोडिनुपर्छ । विदेशी कन्सर्टले नेपाललाई विश्वसँग त जोड्छ तर त्यसको आधार इकोनोमिक मात्र हुन्छ । संस्कृति र राष्ट्रिय तत्व बिनाको संगीतले गति लिन सक्दैन । गति लिए जस्तो देखिएपनि त्यसमा गतित्व हुँदैन । यही सूत्रबाट चलेको छ विदेशी ब्यान्डको नेपाल कन्सर्ट । डिप पर्पलको आसन्न कन्सर्टको छेकोमा नेपाली संगीत क्षेत्रको धराशायी, कलाकारको पलायनता र पहिचानको खोजीको बहस पनि सँगै हुनुपर्छ । पाकिस्तानको अतिफले नेपालमा गाइरहँदा, नेपालकै कर्णदासले अमेरिकामा भाँडा मस्काइरहेको यथार्थ बिर्सनुहुँदैन ।

प्रधानमन्त्री बाबुराम भट्टराईले दसैंको मेसोमा फिल्ममेकरलाई बालुवाटारमा आयोजना गरेको चियापानमा म पनि सहभागि थिएँ । त्यतिबेला गायक सत्यराज आचार्यले भट्टराईसँग संगीत विकास बोर्ड स्थापनाको प्रस्ताव राखेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले आफू सकारात्मक रहेको पनि बताएका थिए । तर, त्यो मुद्दा यतिबेला कुन रछ्यानमा छ, कसैलाई पत्तो छैन । चलचित्र विकास बोर्डजस्तै संगीत विकास बोर्डको उक्त प्रस्ताव आफैमा क्रान्तिकारी पनि थियो । तर, आफूलाई संस्कृतिप्रति सचेत बताउने भट्टराईले यसमा चासो दिएनन् । नेपाल खुम्चिएर काठमाडौं र काठमाडौं खुम्चिएर पुतलीसडकको नियती भोगेको स्वदेशी संगीत विकासको प्रस्थानविन्दु बोर्ड नै हुन्छ । डिप पर्पलको कन्सर्ट यो बहसको सान्दर्भिकता हुनसक्छ ।

No comments:

Post a Comment