Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, October 1, 2013

१७ वर्षपछि अमेरिकामा महासंकट | अमेरिका बन्दले ८० हजारले रोजगारी गुमाए




अमेरिकामा १७ वर्षपछि पहिलोपटक सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको छ । अमेरिकामा सन् १९९५ पछि यस्तो महासंकट पहिलोपटक आएको हो । आउँदो वर्षको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न बाध्य भएको हो ।  राष्ट्रपति बाराक ओबामाले यसलाई टार्न अन्तिम समयसम्म प्रयास गरेपनि रिपब्लिकन पार्टीका अगाडि उनको केही नलागे पछि यस्तो अवस्था आएको हो । बजेट पारित हुन नसकेपछि सात लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई केही समयका लागि बेतलबी बिदा दिइने भएको छ । राष्ट्रपति बाराक ओबामाले अघि सारेको ओबामा हेल्थ केयर कार्यक्रमका लागि बजेट बिनियोजन गर्न यो योजना अघि सारेको विपक्षीको आरोप छ ।

     
कैयन सरकारी कामकाज ठप्प हुनुभन्दा एक घण्टा पहिले द्धिपक्षीय समतिको बैठक समेत बोलाइएको थियो । तर डमोक्र्याट्सका तर्फबाट कामकाज ठप्प हुनबाट रोक्न अब धेरै ढिलो भइसकेको बताइएको थियो । सरकारी कामकाज ठप्प हुँदाको असर कम गर्नका लागि राष्ट्रपति बाराक ओबामाले सम्भावित उपायका लागि काम गर्न सुरु गरिसकेका छन् । बराक ओबामाले कामकाज ठप्प हुँदाको समयमा पनि सेनालाई बजेट दिनमा कुनै रोक नलाग्ने विधयेकमा हस्ताक्षर गरेका छन् । सरकारी कामकाज ठप्प हुने आशंका रोक्न सम्भव भएपनि विपक्षीको कुनै सहयोग नभएका कारण यस्तो अवस्था आएको ओबामाले बताएका छन् । ओबामाले रिपब्लिकन पार्टीको आलोचना गर्दै रिपब्लिकनहरुले देशमा पुन चुनाव चाहेको बताएका छन् । 
                  
सरकारी कामकाज ठप्प हुँदा ७ लाख सरकारी कर्मचारीहरुलाई विना तलव घर पठाइने र बजेट मामिला समाधान नभएसम्म उनीहरुले तलब पाउने निश्चित नहुने भएकाले अमेरिकामा हाहाकार मच्चिएको छ । बाराक ओबामाको हेल्थकेयर कानुन अर्थात् ओबामा केयरको राजनीतिक बाधा नै यो समस्याको मुख्य कारण सावित भएको छ , जुन कानुनसँग सम्बन्धित अधिंकाश भाग सन् २०१० मा पारित भएको थियो भने यसलाई सर्वोच्च अदालतले पनि पारित गरिसकेको थियो । जुन मंगलवारबाट लागु हुने अवस्थामा रहेको थियो । 
               
कामबन्दीको खतराको बीच पनि आगामी हप्तासम्मका लागि दोश्रो आर्थिक समयसीमा पनि रहेको छ । १७ अक्टोबरसम्म अमेरिकी सरकारले ऋण लिएर आफ्नो खर्च धान्ने अवस्था रहेको छ । दोश्रो आर्थिक समय सिमा बढाउने हो भने स्वास्थ्य कानुनमा सुधार गर्नुपर्ने रिपब्लिकनहरुले संसदमा शर्त राखेका छन् । कामकाज ठप्प हुने अवस्था आएपछि राष्ट्रिय पार्क र वासिंटन स्मिथसोनियन म्युजियम बन्द हुने भएको छ । बुढाबुढीले पाउने सुविधाको रकममा ढिलाई हुनेछ । यसबाट भिसा र पासपोर्ट सम्बन्धि कामकाज समेत प्रभावित हुने भएको छ । तर हवाई यातायात नियन्त्रण र खाद्य पदार्थ निरिक्षण जस्ता अत्यावश्यक कामहरु भने बन्द हुने छैनन् । रक्षा मन्त्रालयले भने बर्दिधारीहरु काममा रहेपनि सिभिल कर्मचारीहरुलाई घर फर्कन निर्देशन दिइसकेको छ ।
             
एकातिर सरकारी कामकाज ठप्प भएको छ भने अर्कातर्फ १७ अक्टोबरमा सरकारको ऋण सिमा पनि समाप्त् हुनेछ । ऋण सिमाको अवधि नबढेमा सरकारलाई तीसदेखि ६० बिलियन डलरसम्म रकमको आवश्यकता हुनेछ । ऋण सिमा बढाउन नसके सरकार ऋणतिर्न पनि असक्षम हुनेछ । सन् २०११ मा पनि ऋणसीमाको सन्र्दभमा यस्तै अवस्था आउदा रिपलब्लिकन र डमोक्र्याट्सहरु अन्तिम समयमा सहमतिमा पुगेका थिए ।
           
          
पछिल्लो समयमा अमेरिकी अर्थव्यवस्थामा सुधार आइरहेको थियो । तर अमेरिकामा सरकारी कामकाज  ठप्प हुने अवस्था आएपछि यसले अमेरिका र विश्वकै अर्थतन्त्रमा प्रभाव पार्न सुरु गरिसकेको छ । सन् १९९५ मा क्लिन्टनका पालामा २८ दिनसम्म सरकारी कामकाज ठप्प भएको थियो । यसपटकको अवस्थाले पनि अमेरिकी अर्थव्यवस्थामा गढबडी उत्पन्न हुन लागेको अर्थविद्हरुले बताएका छन् । कर्मचारीहरुलाई तलब नमिल्दा उनीहरुले गर्ने खर्च कम हुने , खर्च कम हुँदा अर्थव्यवस्थामा माग कम हुने भएकाले अर्थव्यवस्थामा गिराबट आउने बताइएको छ ।
         
अमेरिकामा सरकारी कामकाजहरु ठप्प हुने अवस्था आउँदा एसियाली बजारमा गिराबट आइसकेको छ । जापान, अष्टे्रलिया र दक्षिण कोरिया लगायत विश्वका कैयन स्थानमा शेयर बजारमा गिराबट आइरहेको छ । यो अवस्था लम्बिदै जाँदा अन्य मुलुकहरुमा पनि असर पर्दै जानेछ । 

                 कामकाज ठप्प हुँदा नेशनल पार्कहरु, संग्राहालयहरु, संघीय भवनहरु बन्द हुनेमात्र नभई रक्षा विभागका ८ लाख सिभिल कर्मचारीहरुमध्ये आधा भन्दा धेरै वेतलवी विदामा जानुपर्नेछ । जहाँ कर्मचारीले काम गर्नैपर्ने अवस्था आउनेछ, उनीहरुले विनातलव समेत काम गर्नुपर्नेछ । उर्जा विभागका अधिंकाश केन्द्रहरु पनि बन्द हुनेछन् । उर्जा विभागका १३ हजार ८ सय १४ जना कर्मचारीहरुमध्ये ११ सय १३ कर्मचारीहरुमात्र काममा रहनेछन् । विजुलीको लाइन संचालन गर्नका लागि भने केही कर्मचारीहरु खट्नेछन् । अमेरिकाको परमाणु हतियारको कार्यक्रम संचालनका लागि भने ३ सय ४३ जना कर्मचारीहरु खट्नेछन् । एयरपोर्टहरुमा सुरक्षा जाँचका लागि भने कर्मचारीहरु खटिनेछन् । नियमित सुरक्षा जाँच र कर्मचारीहरुको ड्रग्स टेस्टको प्रकृया भने बन्द हुनेछ ।

राष्ट्रिय चिडियाखानासहित १९ वटा संग्राहालयहरु बन्द हुनेछन् । ४२ सय २ जना कर्मचारीहरु मध्ये ६ सय ८८ जना मात्र धनमालको सुरक्षाका लागि काममा खट्नेछन् । आंतरिक सुरक्षा विभागका १४ प्रतिशत कर्मचारीहरु पनि घर फर्कनेछन् । न्याय विभागका १ लाख १४ हजार ४ सय ८६ जनामध्ये ९६ हजार ७ सय ४४ जनाले मात्र काम गर्नेछन् । एफबीआईका कर्मचारीहरु भने घर फर्कने छैनन् । अमेरिकाको हुलाक विभाग पनि संचालन भइरहनेछ । 

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकनहरुलाई सरकार खुलाउनका लागि आग्रह गरेका छन् । मंगलबार यस्तो आग्रह गर्दै ओबामाले सरकारी कामबन्दी जारी रहे अर्थतन्त्र तहसनहस हुने बताएका छन् । सोमबार मध्यरातबाट सरकारी कामकाज ठप्प भएपछि उत्पन्न संकटको समाधानका उपाय खोजिरहेका ओबामाले रिपब्लिकनहरुलाई दोष दिइरहेका छन् ।

No comments:

Post a Comment