Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, August 21, 2014

देर आए, दुरुस्त आए !

 
Anupam Kher with me.


विष्णु शर्मा, ५ भदौ, २०७०

नेता शैलीमा नमस्कार गर्दै भित्र छिरे अनुपम ।

‘म अनुपम खेर । सबै नेपाली भाइ बहिनीहरुलाई नमस्कार गर्छु’ गत महिना नरेन्द्र मोदीले नेपाली संसदमा गरेको सम्बोधनकै झल्को दिने गरि अनुपम खेरले हिन्दी लवजमा नेपाली बोले । ताली गड्गडाहट भयो ।

अनि २५ वर्षपछि काठमाडौं आउनुको पत्र–पत्र खोल्न थाले, यस्तो लाग्थ्यो उनी प्याजको पत्र केलाउँदै छन् । शुक्रबार आर्मी अफिसर्सल क्लबमा मंचन हुने नाटक 'कुछ भी हो सक्ता हे'को पूर्वसन्ध्यामा अनुपम हामीसँग गफिँदै थिए ।


मोदी शैलीमा उनी प्रस्तुत भए । नेपाललाई बुद्ध भूमि र पशुपति नाथको थलोको रुपमा बलिउडका यी अग्ला अभिनेताले व्याख्या गरे । ‘दिस इज ल्यान्ड अफ बुद्ध एन्ड पशुपति । जब में नेपाल आता हुँ, तब रिल्याक्स फील करता हुँ’ अनुपम खुले ।

नेपाल आउनुको कारण थियो एक बालकल्याण संस्थाका लागि आफ्नो जीवनमाथि बनेको नाटक मंचन गर्नु । एक गाउँको गरिब केटो कसरी मुम्बइको माया नगरीको सफल व्यक्ति हुन्छ भन्ने अनुपमको वास्तविक कथा नाटकले चित्रण गर्छ । त्यो नाटकको पात्र यिनै अनुपम हुन् जो अभिनयलाई कम्प्रोमाइज ठान्छन् ।

‘मैले जीवनमा जतिपनि दुःख भोगेँ, आर्थिक संकट खेपेँ ती सबै नाटकमा लेखिएका छन्’ नोस्टाल्जिक सुनिए उनी, ‘सानो टाउनको केटो, कसरी फिल्ममा स्थापित हुन्छ भन्ने कुरा छ । यो लेखिरहँदा म हाँसेको थिएँ । तरपनि यथार्थ कथा थियो । हाँसेर पनि अभिनय गर्नुपर्ने कम्प्रोमाइजमा म छु ।’

उनले शुक्रबार काठमाडौंमा ३ सय १ औं पटक नाटक मंचन गर्दैछन् । गतवर्ष मुम्बइमा पितालार्ई समर्पण गर्दै तीनसय पटक नाटक देखाइएको थियो । शुक्रबार बिहान पशुपति अर्चनापछि अनुपम नाटक रिहर्सलका लागि व्यस्त हुनेछन् ।

उनी प्रेसमिटमा निकै वाचाल र फ्रयांक सुनिए अनि देखिए । प्रायः कलाकारलाई यस्तो मुडमा देख्नु दुर्लभ लाग्छ । कुनै उभारले थिचेजस्तो ।

भारतीय प्रधानमन्त्री मोदीको पशुपति भ्रमण र संसदमा उनले गरेको सम्बोधनलाई अनुपमले खुलेर प्रशंसा गरे । यसो हुनुमा अनुपमको बीजेपी मोह पनि लुकेको हुनसक्छ किनभने उनकी पत्नी किरण खेर बीजेपीबाट भारतीय लोकसभामा सांसद छिन् ।




नेपाल बसाइमा पशुपतिबाहेक उनी केही बौद्ध गुम्बा जानेछन् अनि ठमेल । आयोजकसँग ठमेलको बजार घुमघाम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपाली सिनेमा भन्ने वित्तिकै बलिउडको अपेक्षा कस्तो हुन्छ ? बलिउडले कुन चस्मा लगाएर नेपाली सिनेमालाई हेर्छ ? सामान्य तर गहन लाग्ने यो प्रश्नको उत्तर उनले सहजै दिए –पैसा र राम्रो रोल दिनूस, म नेपाली फिल्म खेल्छु ।’

अहिलेसम्म आफूले कुनैपनि नेपाली सिनेमा नहेरेको र संस्कृति एउटै भएकाले भारतीय र नेपाली सिनेमामा भिन्नता नभएको अनुपम ठम्याइ छ । नेपाल–भारतबीच संयुक्त लगानीमा फिल्म निर्माण हुनुपर्ने खाँचा औंल्याउँदै उनले भविष्यका नेपाली कलाकारलाई कार्यशाला दिन आफू इच्छुक रहेको बताए ।

२५ वर्ष अगाडि आउँदा त्यतिबेलाको काठमाडौं सडक र अहिले भिन्नता आएको उनको अनुभव रहेछ । ‘देर आए, दुरुस्त आए’ लामो समयपछि काठमाडौं आउँदाको कुरालाई उनले उखानमा ढाले अनि अब नेपाल आउँदाको प्लान सुनाए, ‘अर्कोपटक नेपालको पहाडमा ट्रेक जानेछु ।’

आफू अभिनेता नभएको उनको सोच छ । भन्छन्, ‘आइएम नट एन एक्टर, एक्टिङ इज माइ पार्ट अफ लाइफ ।’ भन्छन्, ‘अभिनेताबीच राम्रो र खराबको मात्र भिन्नता हुन्छ । अभिनय पनि कार्पेन्टर पेशाजस्तै हो । अभिनय राम्रो कार्पेन्टिङ हो ।’

‘अभिनेताको रुपमा म यात्रा गर्न चाहन्छु र एउटा ठोस गन्तव्यमा पुग्न चाहन्छु । थोरैलाई मात्र आफ्नो गन्तव्यबारे थाहा हुन्छ’ जीवनको मोटिभेसनबारे उनी सुनिए ।

ताली चर्को बजाउन भन्दै उनले सिटी हाले । सुइययाययाााा...

आफ्नो व्यक्तिगत बानीले पजेटिभ क्यारेक्टर बनाएको भन्दै उनले अभिनयलाई मद्दत गरेको बताए । ‘मैंने अपने दिमाग खराब नहीं होने दिया, पिछले ३० वर्षमे’ व्यक्तिगत क्यारेक्टर र फिल्म क्यारेक्टरको संक्रमणबारे उनले भने ।

‘आइएम नट आर्टिफिसियल..’ अनुपम कृत्रिमताविरोधी सुनिए, ‘एक्टिङ सुड बि न्याचुरल ।’

‘हामी को हौं भन्ने कुरामा हामीले खुशि मान्नुपर्छ’ भन्छन्, ‘यो नै कुछ भी हो सक्ता हे हो । नाटकको मूल सन्देश र मर्म नै यही हो ।’

काठमाडौंलाई नै किन रोज्नुभयो ? भारतीय पत्रकार वीणा सिन्हाले जब सोधिन, तब अनुपमले फर्काए –काठमाण्डू ने मुझको चुना, मैंने काठमाण्डूको नहीं चुना ।’ अर्कोपटक पत्नी तथा अभिनेत्री किरण खेरलाई पनि सँगै लिएर नेपालको हिमालय घुम्ने इच्छा उनले व्यक्त गरे ।

फिल्म लाइनलाई रोज्नुमा उनले आफ्नो मजबुरी नरहेको बताए । ‘फिल्म मेरो बाध्यता होइन तर, यहाँ पैसा कमाइन्छ’ उनले आफू फिल्म क्षेत्रमा लाग्नुको कारण सुनाए अनि गहकिलो उखान सुनाए –घोडा घाँस से दोस्ती करेंगे तो क्या खाएगा ?’

जब गफगाफ सकियो, अनि आफै सेल्फीका लागि अघि सरे । क्यामेराका फल्यास चम्किन थाले । आफैले सेल्फी लिए अनि फोटो खिच्न भने । शुक्रबार उनलाई कोसेली बालआश्रममा रहेका १ सय २० बालबालिकाको लागि च्यारिटी नाटक गर्नूछ ।

जाँदा जाँदै भने –सी यू देअर, टु वाच दी कुछ भी हो सक्ता हे...।

No comments:

Post a Comment