Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, April 1, 2013

'आमा' पुगिन् 'चपली हाइट'

विष्णु शर्मा

नेपाली फिल्मले आउँदो वर्ष आधा शताब्दीको यात्रा पूरा गर्दैछ। प्रकाश थापाले रोपेको वृक्ष निश्चल बस्नेतहरू मलजल गर्दैछन्। साहवंशदेखि गणतन्त्रसम्मको घामपानी खेपिसके पनि दर्शकले फल भने चाख्न पाएका छैनन्; त्यो फल- फिल्मबाट समाज, अर्थतन्त्र र राजनीतिले खोजेको मूल्य हो। बलिउड भारतीय स्वतन्त्रता आन्दोलनमा सहयोगी बन्यो भने हलिउड अद्योपान्त अमेरिकी एजेन्डालाई संसारभर विस्तार गर्दैछ। दुर्भाग्य! आधा शताब्दी पार गर्नै लाग्दा पनि नेपाली फिल्मको पहिचान विश्व मानचित्रबाट गुमनाम छ। मुलुक जस्तै घरेलु फिल्म सार्वभौमसत्ता भारतीय र अमेरिकी हेजेमोनीले थिचिएको छ। दरबार, प्रपोगान्डा र शक्तिकेन्द्रको राजनीतिक अभीष्ट पूरा गर्ने ध्येयले नेपाली फिल्मको इतिहास थालनी भएको हो। पञ्चायती व्यवस्थालाई माटो सुहाउँदो भनेर नागरिकमा भ्रम छर्न राजा महेन्द्रले फिल्मको प्रयोग गरे। 'आमा', 'हिजो आज भोलि' जस्ता रुचाइएका फिल्मलाई उनले निर्दलीय शासन व्यवस्थाको औचित्य पुष्टि गर्न लागु गरे। संस्थागत रूपमा साही नेपाल चलचित्र संस्थान खडा गरियो। महेन्द्रको निधनपछि वीरेन्द्रको शासनमा फिल्म बुझ्ने दृष्टिकोण विश्वजनित बन्यो।

वीरेन्द्रकालीन वर्षहरूमा साहित्यिक सोच र कोण भएका पुस्ता जुटे। त्यति बेला गाउँ र समाजको रुचिविज्ञान समेटेर कन्टेन्ट र सिनेम्याटि्रक ल्यांग्वेज फिल्ममा पस्कने गरिन्थ्यो। बलिउडको स्कुलिङबाट हुर्किएका र भारतकै पुनातिर पढेको पुस्ताको ज्ञान र अनुभवले फिल्म बन्थे। २०४६ को राजनीतिक परिवर्तनले फिल्मको संरचनामा परिवर्तन ल्यायो। शिक्षा, मनोरञ्जन, अभिमुखीकरण र सूचना जस्ता मिसनमा फिल्म बन्न थाले। भूमण्डलीकरणले हलिउड र बलिउड हामीकहाँ पस्न थाल्यो। 'बलिदान', 'वीर गणेशमान' जस्ता राजनीतिक, 'आमा' जस्ता मिसन बोकेका र ज्वाइन्ट भेन्चर फिल्म।

अहिले नेपाली फिल्म डिजिटलाइजेसन बनेको छ। थ्रीडी र मल्टिप्लेक्स पुस्ता तयार छ। जातजाति र क्षेत्रीय फिल्मको प्रभाव बलियो छ। एउटै सांस्कृतिक जराबाट उमि्रएको बलिउड र पश्चिमा हलिउड प्रभाव शहरमा व्यापक छ। बलिउडकै दृश्यभाषामा फिल्म बनिरहेका छन्। यस्तो हुनुमा नेपाल र भारतीय फिल्मको भूगोल एउटै हुनाले हो।

हिन्दी फिल्म चलाउन हल बनाउनु परेको इतिहास नेपाली फिल्मको यथार्थ हो। प्रकाश थापालाई छाड्ने हो भने 'मनको बाँध' अगाडि बनेका सबै फिल्म निर्देशक नेपाली मूलका भारतीय नागरिक थिए। सबैको हातमा भारतीय नागरिकता थियो। बीएस थापा, हीरासिंह खत्री, डिबी परियारको राष्ट्रियता भारत हो। बलिउडबाट दीक्षित भएर फिल्म बनाएकाले स्वभाविक रूपमा नेपाली फिल्मको सादृश्यता उस्तै हुने भयो। यसकारण अहिलेसम्म पनि नेपाली फिल्मका पाठशाला दुई वटा छन्। प्रकाश थापाको व्यावसायिक स्कुल र तुलसी घिमिरेको यथार्थवादी स्कुल। नेपाली फिल्मको आधुनिक गति यी दुई पाठशालाबाटै अघि बढेको छ। उज्ज्वल घिमिरे, शोभित बस्नेत, छवि ओझाले प्रकाश थापाको स्कुलिङको प्रतिनिधित्व गर्छन् भने नवीन सुब्बा, मनोज पण्डित, निश्चल बस्नेत, छिरिङरितार शेर्पाहरू तुलसी घिमिरेको यथार्थवादी प्रवाहमा सामेल छन्।

नेपाली फिल्ममा यति बेला अर्को यस्तो पुस्ता छ- जो म्युजिक भिडियो र मोडलिङमा आफूलाई अभ्यस्त बनाएर फिल्ममा हाम्फालेको छ। यो पुस्ताले कोरियन फिल्मलाई नेपालमा हलिउड र बलिउडको समानान्तर रूपमा खडा गर्न चाहन्छ। काठमाडौंली मध्यम वर्गको प्रतिनिधित्व गर्ने यो पुस्ताका आलोक नेम्वाङ, सुदर्शन थापा, प्रचण्डमान श्रेष्ठ, दीपक रौनियार कोरियाली स्कुलिङबाटै आएका हुन्। यी तीन वटै पाठशालामा बढेका निर्देशकले गर्ने स्टोरी टेलिङमा नेपाली मौलिकता छैन। कथा भन्ने शैली, कन्टेन्ट संरचना, विषयवस्तु उठानको सोचलाई यो वर्ग र पुस्ताले भारत तथा दक्षिण कोरियाबाट आयात गरिरहेको छ। बरु, नेपाली रुचिविज्ञानमा बनेका 'मुनामदन', 'क्याराभान' ओस्कर अवार्डमा छानिए। पचास वर्षे यात्रामा नेपाली फिल्मले गरेका सर्वाधिक कमजोरी विषय र शैलीलाई नेपालीकरण गर्न नसक्नु हो। केही समयअघि अभिनेत्री रेखा थापाले होमप्रोडक्सन 'अन्दाज' बलिउड पाठशालामा उत्पादन भएको खुल्ला स्विकारोक्ति दिएकी थिइन्।

दस वर्षमा एउटा पुस्ताको ग्याप हुन्छ। पचास वर्षको कालखण्डमा पाँच पुस्ता तयार भइसक्यो। नेपाली फिल्मले जेनेरेसन अनुसार सोचको विकास गर्न सकेन। सुरुमा चेतना र विकास, बीचमा मनोरञ्जन अनि अहिले इन्फो-टेनमेन्ट (सूचना र मनोरञ्जन) र एडु-टेनमेन्ट (शिक्षा र मनोरञ्जन) मिडियमको रूपमा लिन थालिएको छ। 'कन्यादान' ले बाल विधवाले पुनः बिहे गर्नु पर्छ भन्ने चेतना जगायो। 'झुमा' ले झुमा संस्कारलाई बेठीक भन्यो। विभिन्न कालखण्डमा फिल्मले एकखालको सामाजिक मनोविज्ञान निर्माण गरेको छ।

नेपालमा यति बेला फिल्म हेर्ने तीन दृष्टिकोण छन्। फिल्मी चेतनाले जनता बलियो हुनु पर्छ भन्ने मार्क्सवादी थिम हो। पुँजीवादले फिल्म मनोरञ्जन साधनको रूपमा हेर्छ। यस क्रममा नेपालमा तेस्रो दृष्टिकोण जन्मियो- 'फिल्मको फ्रेन्च मोडेल'। समाज जोड्ने तर्कसहित नेपाली फिल्ममा पछिल्लो समय यसको चर्चा छ।

फिल्म र समाज दुई अलग टापु हुन् भनेर देखाउने प्रयत्न भइरहेको छ। आमसंचार र समाज बुझेका बुद्धिजीवी, प्राध्यापक र मिडियाले वास्ता नगर्दा यस्तो भएको हो। फिल्ममा लाग्नेले 'समाजले हामीलाई सधैं हेप्यो' भनिरहे। समाजतिर लाग्नेले फिल्मलाई 'नौटंकी' भने। यो व्याख्याले फिल्म र समाज एउटै नदीका दुई किनारा जस्ता भए। तर, अहिले परिस्थिति बदलिएको छ। ती दुई टापु जोड्न एकेडेमिक पुल बन्ने क्रम जारी छ। पहिले भारतको पुनामा गएर प्राक्टिकल गरेपछि फिल्म बन्थे। अहिले फिल्म पढाउन काठमाडौंमै कलेज खुलेका छन्। विदेश र अनलाइनमा स्वध्ययन गर्ने बानीको विकास भयो। पछिल्लो समय सामाजिक घटना र युनिभर्सल विषयभन्दा पनि फेन्टासीमा आधारित फिल्म निर्माणको ट्रेन्ड छ। कहिलेकाहीँ समाज र फिल्मबीच द्वन्द्व जस्तो देखिन्छ। यी दुईबीच समन्वय हुन नसक्दा फिल्म संस्कार र भाषा बोकेका विश्वजनित फिल्म हामीकहाँ अभाव भयो।

हामी नेपाली फिल्म बलिउडभन्दा पृथक हुनु पर्छ भनिरहेका छौं र बलिउड मार्काको पनि भयो भनेर हिट गरिरहेका छौं। यस्तो हुनुमा बलिउडसँग हाम्रो सांस्कृतिक निकटता हो। कोरियन संस्कार हामीसँग मिल्दैन। अर्को समस्या डकुड्रामा, डकुमेन्ट्री, सेल्युलोइड र एड् फिल्म पहिचान गर्न नसक्नु हो। सबैलाई एउटै ड्याङमा राखेर फिल्म भनिदिँदा माध्यमगत विविधता र सौन्दर्यमाथि प्रहार भइरहेको छ। यस्तो 'हाइब्रिड' चिन्न नसक्नु नेपाली फिल्मका लागि रोग जस्तै बनेको छ।

चालीस र पचासको दशकमा साहित्यिक कृतिबाट फिल्म बनाउने ट्रेन्ड बस्यो। 'प्रेमपिण्ड', 'मुनामदन', 'बसन्ती', 'मसान' जस्ता एडप्टेड फिल्म यो समयका उत्पादन हुन्। फिल्म हेर्ने, पढ्ने कि सुन्ने विधा हो भन्ने अन्यौल यहीँबाट पैदा भयो। निर्देशकले पुस्तक र फिल्मबीच भिन्नता बुझ्न सकेनन्। फिल्ममा लेखक जे सोच्छ, त्यो लेख्न सक्दैन। जे लेख्छ, त्यो खिच्न सकिँदैन। जे खिचिन्छ, त्यसलाई त्यही रूपमा एडिट गर्न सकिँदैन। जे एडिट गर्न सकिन्छ, त्यसलाई मिक्सिङ गर्न सकिँदैन। यसकारण फिल्म पाँचौ पुस्ता हो। यहाँ जेनेरेसन ग्याप हुन्छ। साहित्य दोस्रो पुस्तामै पढ्न पाइन्छ। फिल्मको समीक्षा या त प्राविधिकरूपमा मात्र गर्ने, या पाठ्यसाहित्यमा गर्ने बानीले यो भ्रम रहन गएको हो। यस्तो शैली निरन्तर भइराख्यो भने गणतन्त्र नेपालले बुझ्ने फिल्म परिभाषा निर्माणमा कठिनाइ हुनेछ। किनकि, नेपाली फिल्मको आफ्नै उद्योग बनेको छैन। संघीय फिल्म नीतिको ढाँचा पनि तयार छैन।

नेपाली फिल्म हिन्दु धर्मको पूर्वीय दर्शन हो। बलिउड अहिलेसम्म यही दर्शनले चलेको छ। रामायण र महाभारत जस्ता दर्शन हामीले पछ्याइरहेका छौं। यस्तो फिल्मको दर्शनमा सामान्यतया एउटा हिरो, हिरोइन र खलनायक हुन्छन्। संयोगान्तमा फिल्म सकिन्छ। वियोगान्त अक्सर हुँदैन। तर, पूर्वीय दर्शन चलाउने हाम्रो प्रविधि भने पश्चिमा छ। विचार पूर्वीय र प्रविधि पश्चिमा भएकाले फिल्ममा यसको सन्तुलनकारी संयोजनको खाँचो छ। आर्यन अनुहार, चुच्चो नाक र राम जस्तो हिरो, चुच्चो नाक भएकी सीता जस्ती हिरोइन र थेप्चो नाक भएको रावणजस्तो खलनायक होवोस् भन्ने नेपाली फिल्मको मान्यता छ। नयाँ पुस्ताले बनाएका 'लुट', 'चपली हाइट', 'सायद' जस्ता फिल्ममा स्टारडमको अन्त्य र कन्टेन्टको महत्व बढेपछि पूर्वीय दर्शनको मान्यतामा केही बदलाव आएकै हो। फेसन र फिल्म परिभाषामा नपर्ने चिम्सा आँखा र मंगोलियन अनुहारका दयाहाङ राई पछिल्लो समय रुचाइएका अभिनेता हुन्।

'लुट'ले व्यवसायिक कीर्तिमान बनाएपछि आधा शताब्दी लामो फिल्मी ट्रेन्डमा नयाँ परिवर्तन आयो । स्टार होइन कन्टेन्ट, मेनस्ट्रिम होइन थिएटर, कम लगानीमा ठूलो प्रतिफल, सिंगल होइन मल्टिप्लेक्स थिएटरको ट्रेन्ड सुरु भएको छ। फिल्मलाई समाजसँग जोड्ने कसीको सुन्दर नमुना थियो 'लुट'। यही विन्दुदेखि फिल्म गाउँबाट सहर पसेको हो। यथास्थितिको विरोधी भएकैले होला मध्यमवर्ग नयाँ जेनेरेसनका फिल्म हेर्न रुचि राख्छ। पुरानो शैली दुत्कार्छ। फिल्म हेर्छ र चित्त नबुझे फेसबुक, ट्वीटर र ब्लगका भित्तामा गाली लेख्छ। अहिले प्रत्येक दर्शक समीक्षक बनेका छन्। उसको एउटा फेसबुक स्टाटसले फिल्मको बक्सअफिसमा प्रभाव पार्छ। नेपालमा रिलिज नहुँदै एकै दिनमा अमेरिका, युरोप र एसियामा फिल्म रिलिज हुन्छ।

नेपाली फिल्मबाट सन्तुष्ट हुनु पर्ने बेला अहिले छैन। वर्षमा दुईतीन फिल्म रिलिज हुने अवस्थाबाट हिँडेको नेपाली फिल्म यति बेला वर्षमा एक सय २० फिल्म रिलिज गर्ने हैसियतमा छ। तर, दुई वटा फिल्मबाहेक अरूले लगानी रिकभर गर्न सकेका छैनन्।

No comments:

Post a Comment