Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, September 18, 2013

अर्का आङ ली पर्खँदै विश्व फिल्म

विष्णु शर्मा
 
'लाइफ अफ पाई' निर्देशक ओस्कर पाएपछि ।

विदेश नीतिमा एउटा चर्चित भनाइ छ –‘छिमेकी देशको चासो र स्वार्थ फेरिन सक्छन् तर छिमेकी नै फेर्न सकिँदैन ।’ यही मान्यताको आधारमा कुटनीतिमा प्राथमिकता निर्धारण गरिन्छ । अघिल्लो मंगलबार साउथ ब्लकमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदले बोलेका कुराले भने नेपाली फिल्मप्रति दक्षिणको चेतावनीपूर्ण चासो उद्घाटित भयो । भारतको यस्तो ‘हाइप्रोफाइल स्टेटमेन्ट’ माओवादी अध्यक्ष प्रचण्डको त्रिदेशीय समझदारी प्रस्तावलाई लिएर भएको थियो । खुर्सिदले भनेका थिए, ‘नेपालका कतिपय प्राथमिकता भारतले नचाहेका हुनसक्छन्, यसो भन्दैमा हामीले प्राथमिकता निर्धारण गर्न मिल्दैन । नेपालमा भारतीय फिल्म नदेखाइने भनियो, हामीले के भन्ने ? उसो भए दर्शकको मागअनुसार भारतीयभन्दा राम्रा फिल्म नेपालले बनाउनुपर्‍यो अथवा भारतीय फिल्म यताबाट लैजाँदा महंगो शुल्क परेको स्थिती हो भने त्यसमा छलफल गर्न सकिन्छ ।’
नाङ्गो सत्य पनि यही नै हो । कुनै एउटा उच्च भारतीय अधिकारीले पहिलोपटक दिएको यस्तो ‘बोल्ड’ फिल्मी डायलगले एकैपटक दुईटा वाण हानेको छ । पहिलो निशाना नेपाली फिल्मको गुणस्तरमा लगाइएको छ र दोस्रो तिमीहरू (नेपाल)ले क्वालिटी फिल्म बनाउन सक्दैनौ भने बलिउड प्रभुत्व स्वीकार गर भन्ने राष्ट्रियताको सन्दर्भमा ताकिएको छ । भारतीय फिल्म बाँड्ने र प्रदर्शन गर्ने नेपाली फिल्म वितरकका लागि साउथ ब्लकको यस्तो अभिव्यक्ति राहतपूर्ण हुनसक्छ । तर, प्रेम र घृणाको यस्तो खुर्सिद भनाईलाई नेपाली फिल्मले चुनौतिकै रुपमा स्वीकार्नुको विकल्प छैन । पचास वर्षदेखि नेपाली फिल्ममा चलेको गुणस्तरको बहस बाहिरबाट आउनु जायज होइन । किनभने कुटनीतिमा फिल्मले कला होइन, राष्ट्रियताको प्रतिनिधित्व गर्छ । आफ्नो भूगोलबाट बाहिर गएपछि फिल्म पनि ‘राजदूत’ बन्छ ।

बलिउडको यस्तो खुला चुनौति भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने वैद्य माओवादी कदमको पृष्ठभूमिमा आएको हो । भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बराल खुर्सिद अभिव्यक्तिलाई असन्तोष कुटनीतिको रुपमा लिन्छन् । ‘परनिर्भरताको सिद्धान्तअनुसार दुई मुलुकबीच कहिल्यै द्वन्द्वहरूको अन्त्य हुँदैन’ बराल भन्छन्, ‘तर, पुँजीवादी अर्थव्यवस्थामा आफू कमजोर भएमा स्वभाविकरुपमा ठूलो माछाले खान्छ ।’ उनले नेपाली फिल्मको मौलिकता, युनिभर्सल अपिल र दृश्यभाषा निर्माणमा जोड दिए । विश्वको पाँचौ ठूलो अर्थतन्त्र र दोस्रो ठूलो फिल्म उत्पादक भारतीय बलिउडलाई कमजोर र अविकसित नेपालले जित्न सक्ने एउटै माध्यम हो –फिल्म । पछिल्लो समय कतिपय घरेलु फिल्म दृश्यभाषा, कन्टेन्ट र गुणस्तरका हिसाबमा बलिउडभन्दा अब्बल छन् । इन्डिपेन्डेन्ट र संयुक्त लगानीका ठूला फिल्म हेर्दा नेपाली फिल्मको भविष्य उज्यालो देखिन्छ ।

आशाको यो किरण पूर्वी एसियाली राष्ट्र बर्माबाट अघिल्लो साता देखाप¥यो । दुईवर्षअघि नेपाली फिल्मलाई राष्ट्रियताविरोधी देखेको उसले अहिले भने सहायकको रुपमा देखेको छ । बर्मेली प्रधानमन्त्री थान सेनका किचन क्याबिनेट संचारमन्त्रीले नेपाली फिल्मलाई आठलाख नेपाली भाषी बसोबास गर्ने आफ्नो मुलुकमा वितरण र प्रदर्शनका लागि हरियो झण्डा देखाएका छन् । यही बर्मा हो जसले राजनीतिक सुधारको प्रक्रिया सुरु नहुँदै त्यतिबेला नेपाली फिल्मले बर्मेलीको नैतिक स्वास्थ्यमा असर पार्ने भन्दै प्रदर्शन रोकेको थियो । जब आङसाङ सुकी नजरबन्दबाट मुक्त भइन् तब बर्मेली जुन्ता सैनिक सत्ताले नेपाली फिल्मलाई म्याकडोनाल्ड र केन्टुकी फ्राइड चिकेनजस्ता अमेरिकी बहुराष्ट्रिय उत्पादनको आँखाबाट हेर्न सुरु गरेको थियो । यसकारण दोस्रो विश्वयुद्धपछि कुटनीतिक सम्बन्ध स्थापना भएको बर्मा नेपाली फिल्मको ठूलो अन्तराष्ट्रिय बजार बन्न सक्छ ।

नेपाली फिल्मको आर्थिक ट्रेन्डमा भारतीय विदेशमन्त्रीको बोली र बर्मेली जुन्ता सरकारको हरियो झण्डा ठूला मोड हुन् । यस्तो ट्रेन्डको अर्को घुम्ती द्वन्द्व फिल्म ‘बधशाला’ रिलिजमा देखियो । कुनै एउटा फिल्मलाई लिएर नेपाली बौद्धिक समाज यसअघि यसरी कहिल्यै विभाजित थिएन । माओवादी विरोधी र पक्षका दर्शकले ‘बधशाला’लाई यसरी टिप्पणी गरे, मानौं यो फिल्म कम र राजनीतिक एजेन्डा बढी हो । फिल्मले सैनिक र युद्धबन्दी बीचका पात्रको विकासको सामान्य कथा भनेको थियो । पैसा छापेको ‘लुट’ले छाडेको संवेदनाशुन्य फिल्मको सामाजिक मनोविज्ञानलाई ‘बधशाला’ले आइस–ब्रेक गरेकै हो । यसको सफलता मापन बक्सअफिसको अंकगणितमा होइन, दर्शकीय मनोविज्ञान र समाज जोड्ने सुत्रधारको रुपमा गरिनुपर्छ । ‘लुट’ले छाडेको ह्याङओभर भंग गरेर यसले सामाजिक बहस र अन्तक्रियाको उठान गरेको छ । त्यो भन्दा पनि महत्वपूर्ण समाजलाई प्रोटागोनिस्ट र सत्तालाई एन्टागोनिस्टको रुपमा चित्रण गर्ने साहस गरेको छ । माओवादी विद्रोहको आधार फिल्मको थिमै हो ।

अक्सर फिल्म निर्माता राष्ट्रिय भावना ओतप्रोत, संस्कृतिको चित्रण अनि देश चिनाउने खालका फिल्म बन्नुपर्छ भन्छन् । यथार्थमा आदर्शको यो स्वरुप जिया केसीको तिघ्रा, निशा अधिकारीको इलिगल सगरमाथा आरोहण र महानायककी गर्लफ्रेन्डको अवतारमा देखापर्छ । कथनी र करनीको यो दूरीलाई भैरवनाथ बायोपिकले मेटाएको थियो । फिल्मलाई समाजबाट टाढा राख्ने ठेकेदारी प्रथा र बलिउडबाट पैठारी गरिने जुठो स्टोरी टेलिङविरुद्ध बनेको ‘बधशाला’को समिक्षा विषयगत ढंगमा आउनुपर्ने थियो तर आएन । कटवाल प्रकरणले नभाँडिएको शान्तिप्रक्रिया फिल्मले भाँडिन्छ भन्ने जंगी अड्डाको मनोविज्ञानलाई फिल्मले जबर्जस्ती हल्लाइदिएको थियो । डार्क श्रेणीका यस्ता फिल्म पाइपलाइनमा छन् । नयाँ दशकमा फिल्म र सत्ताबीच केही यस्ता टकराव हुनेछन् जसलाई लिएर सरकार अनुदार बन्नेछ । फलस्वरुप दृश्यभाषालाई संस्थापन पक्षले सांस्कृतिक मूल्यकै रुपमा स्वीकार्ने अवस्था सिर्जना हुनसक्छ ।

दृश्यभाषाको अर्को खाले अभ्यास गतसाता सहरमा भयो । विश्वव्यापी कन्सेप्टका रुपमा चौंथो फिल्मको मान्यता पाएको आदिवासी फिल्म मेलाको सातौं संस्करण काठमाडौंमा गरियो । आदिवासी सौन्दर्य, संस्कृति र एजेन्डा बोकेका दुईदर्जन देशका फिल्म स्क्रिनिङ गरिएको फेस्टिभलमा पूर्व र पश्चिम गोलाद्र्धका फिल्ममेकर भेला भए । मेनस्ट्रिमको कथा भन्ने शैली र फिक्सनका कल्पनाशिलताबाट वाक्क–दिक्क भएका दर्शकले स्टोरी टेलिङको अर्को पाटो बुझ्न पाए । फरक भूगोलका आदिवासी संस्कृति, परम्परा र चुनौति जान्न पाए । छोटा फिल्मले भन्ने आदिवासित्व र अधिकार युनिभर्सल हो भन्ने पत्तो पाए । चौंथो फिल्मको यस्तो कुम्भ गरेको थियो –इन्डिजिनियस फिल्म अर्काइभले । अगुवामध्येका एक नवीन सुब्बा भन्छन्, ‘आदिवासी अधिकार र आदिवासित्वलाई जीवन्त राख्न फेस्टिभल सार्थक बन्यो । अर्को वर्ष झनै भव्य हुनेछ ।’

चौंथो फिल्मको यस्तो प्रियतालाई पहिचानको सामाजिक आन्दोलन, राजनीतिक मूल्यको विगठन, छोटा र यथार्थ फिल्मप्रतिको आकर्षणको अर्थमा बुझ्नुपर्छ । दोस्रो जनआन्दोलनपछि सुरु भएको जातिय पहिचानको एक्टिभिजम र कथित मूलधारका फिल्मले सामाजिक स्वीकार्यता पाउन नसकेपछि मिसनकै रुपमा आदिवासी फिल्म बनाउने र फेस्टिभल आयोजनाको ट्रेन्ड सुरु भएको हो । नेपालको सिको गर्दै पेरु र इथियोपियाले पनि आफ्नो मुलुकमा आदिवासी फिल्म फेस्टिभल आयोजना गरे । यसर्थ नेपाली आदिवासी फिल्मको युनिभर्सल अपिल निर्माण भएको छ । परिवर्तनको यो प्रक्रिया नेपाली मेनस्ट्रिममा पनि देखिन थालेको छ । छोटो समयमै मेनस्ट्रिमभन्दा अल्टरनेटिभ शैलीका छोटा फिल्मले आफ्नो राजनीतिक र आर्थिक मूल्य निर्माण गरेका छन् । पछिल्लो संस्करणको आदिवासी फिल्म कुम्भमा हेरिएको चर्चित अमेरिकी डकुमेन्ट्री ‘रिल इन्जन’ले भनेको जनजाति पहिचानको कथा अब नेपाल छिर्दैछ । हलिउड निर्माणमा रेड इन्डियनले गरेको बलिदानी संघर्षको कथा भन्ने यो फिल्मले समाज र सत्ताबीचकै चित्र उतार्छ । जातिय पहिचानका लागि ओस्कर अवार्ड नै बहिष्कार गर्ने महान हलिउड अभिनेता मार्लोन ब्रान्डोजस्ता पात्र नेपाली चौंथो फिल्मका लागि अहिलेको अपरिहार्यता हो ।

विश्व फिल्मका लागि कान्स फिल्म फेस्टिभलको आसन्न संस्करण एउटा ऐतिहासिक मोड हुनेछ । आउँदो मे १५ देखि २६ सम्म हुने कान्सलाई एकेडेमी अवार्डपछिको प्रतिष्ठित मानिन्छ । परम्परागत हलिउड प्रभाव कम र उदाउँदा एसियाली राष्ट्रका फिल्म उद्योगको प्रभाव बढी देख्न पाइने कान्सको ६४ औं संस्करणलाई भारतीय फिल्म उद्योग बलिउडले थिचेको महसुस हुनेछ । महिला जुरीको सहभागिता नभएको भनेर आलोचित कान्सको पछिल्लो संस्करणमा नौजना जुरीमा बलिउडकी विद्या बालन पनि अटाएकी छन् । हलिउड लिजेन्ड स्टिभन स्पिलवर्ग, आङ ली, क्रिस्टोफ वाल्ट्ज, निकोल किडम्यान जुरी टोलीका सदस्य हुन् । बलिउड लिजेन्ड अमिताभ बच्चन र लियोनार्दो डिक्याप्रियो स्टारर ‘द ग्रेट गाट्स्वी’ कान्समा प्रिमियर हुनेछ । रजनीकान्त अभिनित ‘कोचिदैयान’, ‘बम्बे टकिज’, ‘ऊँग्ली’, ‘मनसुन सुटआउट’, ‘द लन्चबक्स’जस्ता बलिउड फिल्म पनि प्रदर्शन हुनेछन् ।

अमिताभ, करन जोहर, दिवाकर बनर्जी, ऐश्वर्या राय, अनुराग कश्यप, जोया अख्तर, रानी मुखर्जी, सैफअली खान, सोनम कपुर, फ्रिडा पिन्टोजस्ता बलिउड हस्तीले कान्सको रातो गलैंचा नाप्नेछन् । भारतीय सिनेमा शताब्दी पुगेको छेकोमा बनाइएको फिल्म ‘बम्बे टकिज’ कान्सलाई प्रतीक्षित बनेको छ । कान्सको यो एडिसन विश्व फिल्मको भविष्यका लागि बुद्धिविलास गर्ने थलो पनि बन्नेछ । थ्रीडी प्रविधि र निर्माणमा संयुक्त लगानी कान्सको फिल्मी बजारका प्रमुख एजेन्डा बन्नेछन् । आर्थिक अभावमा फिल्म बनाउनुपर्ने नेपालजस्ता तेस्रो विश्वका लागि कान्स बजार लाभदायी बन्नसक्छ । दक्षिण कोरियाली फिल्म पनि कान्सका लागि हटकेक बन्नेछन् । विश्व भू–राजनीतिमा आएको परिवर्तनको महसुस कान्समा हुनेछ । कतिपयले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा होलन्डको मित्रताले बलिउड कान्समा हावी भएको तर्क गरेका छन् । समग्रमा हलिउडका लागि कान्सको ग्ल्यामर ‘थ्रेट’ बनेको यथार्थ हो ।

अघिल्लो साता काठमाडौंमा पनि रिलिज भएको टम क्रुज स्टारर साइन्स फिक्सन ‘ओब्लिभियन’ले हलिउडको पछिल्लो अन्यौलपूर्ण ट्रेन्डलाई दर्शाउँछ । फिल्म रिलिज हुने वित्तिकै हलमा धुइरिएका क्रुजका नेपाली प्रशंसकले फिल्मबाट अपेक्षाकृत मनोरञ्जनको भ्यालु पाउन सकेनन् । ‘अवतार’, ‘द कार्टर’, ‘ब्याटलसिप’जस्ता अघिल्ला साइन्स फिक्सनकै कथा र प्रविधि भन्ने ‘ओब्लिभियन’ले नयाँपन पेश गर्न सकेन । जेम्स क्यामरुनको ‘अवतार’ हेरिसकेका दर्शकले क्रुजको फिल्ममा पुरानै ग्लसी चित्र पाए । संसार अन्त्यपछिको अलौकिक कथा पस्किएको फिल्मभित्र युनिभर्सल अपिल भएपनि सिर्जनात्मक भने रित्तो छ । ‘ओब्लिभियन’ हलिउडमा पछिल्लो समय सिर्जनाको खडेरी भएको संकेत हो । कथा, प्रविधि र प्रयोग दोहोरिने क्रम बढेपछि हलिउडी पर्दा फिक्का देखिन थालेका छन् । हलिउडमा अहिले जोश छैन । ऊ कन्फ्युज छ । अन्वेषण, विमर्श र रचनात्मकता पाइन छाडेका छन् । ‘ओब्लिभियन’ दर्शनशुन्य हलिउडको उपज हो ।

‘ओब्लिभियन’ हेर्दा यस्तो लाग्छ –हलिउडका कथानकमा प्रोटागोनिस्ट र एन्टागोनिस्ट चिन्न मुस्किल हुन थालेको छ । अमेरिकी फिल्म उद्योगमा अहिले भैरहेका अभ्यास र प्रयोग सन् ९० कै दशकअघि गरिएका प्रयत्न मात्र हुन् । बलिउडी सूत्र फिल्मको ब्याकरणलाई हलिउड र हलिउडी आर्ट्स व्याकरणलाई यतिबेला बलिउडले फलो गरिरहेको जस्तो सादृश्यता देखिएको छ । एउटै शैलीको ट्रेलर र कथानकले दर्शकीय अपेक्षा र सिर्जनाको सम्मान हुन छाडेपछि त्यसको अंकगणितीय असर उत्तर अमेरिकी बक्सअफिसमा देखिन थालेको छ । कोकाकोला, म्याकडोनाल्ड, माइक्रोसफ्ट, एप्पलजस्ता बहुराष्ट्रिय कम्पनीकै नाफाको बाटो पछ्याइरहेको हलिउड कलाभन्दा मल्टिनेसनल कम्पनी धेरै हो । त्यसैले अमेरिकामा गएर फिल्म बनाउनुभन्दा पहिले कोकाकोलाले सोच्ने ‘वे अफ थिङकिङ’लाई बुझ्न जरुरी छ भनिन्छ । बजारले चेतना बेच्दैन, वस्तुमात्र बेच्छ भन्ने अर्थ–राजनीतिक अवधारणा हलिउडमा लागु भैरहेको देखिन्छ । उदारवादी अर्थतन्त्रमा देखापरेको यस्तो प्रणाली संकट अहिले हलिउडमा देखिएको विचारको संकट पनि हो ।

यिनै मल्टिनेसनल कम्पनी हुन् जसले फिल्मको शक्ति बुझेर त्यसलाई व्यापारसँग जोडेका थिए । फिल्म बनाउन पैसा नचाहिने इतिहासको उल्टो गंगा बगाएर यी कम्पनीले फिल्म बनाउन पैसा चाहिने र निर्माणमा मिलियन डलर खर्चने प्रवृत्तिको थालनी गरेका थिए । फिल्मको अति कर्पोरेटीकरणले निम्ताएको यस्तो संकटको शिकार स्वयम हलिउड बनिरहेको छ । नेपालजस्ता निर्धन राष्ट्रले कर्पोरेट होइन, कम लगानीमै अब्बल स्टोरी टेलिङ गर्नु नै हित हुनेछ । चीन र भारतले पछ्याइरहेका ‘फेस्टिभल फ्रेन्ड्ली’ फिल्म निर्माणको मार्गमा अघि बढ्दा नेपाली फिल्मले मानक खडा गर्न सक्ने देखिन्छ । चीनले गतवर्ष १ सय १८ फिल्म फेस्टिभल आयोजना ग¥यो जहाँ ६ सय १४ वटा फिल्म स्क्रिनिङ गरिए र ७३ फिल्मले अन्तराष्ट्रिय अवार्ड जिते । सव–टाइटल, सांस्कृतिक अवरोध, स्टोरी टेलिङ र मूल्यको रुपान्तरणजस्ता प्रधान अवरोधका बाबजुद पनि चीनले आफ्ना फिल्मलाई अन्तराष्ट्रिय एक्सपोज गराइछाड्यो ।

यस सन्दर्भमा तपाईँ छक्क पर्न सक्नुहुन्छ कि –किन हलिउडले बोतल मात्र फेरि राख्यो, तर किन रक्सीलाई बदलेन ? पैसा र प्रविधिले हलिउडलाई यस्तो मिथकसँग जोड्नुको पछाडि कथात्मक सौन्दर्यविनाको प्राविधिक दुरुपयोग नै थियो । कन्टेन्टलाई प्रविधिसँग गाँस्न नसक्दा हलिउड आजको क्रसरोडमा उभिएको हो । थ्रीडी, आइम्याक्स, ब्लु रेजस्ता आधुनिक प्रविधि उसका लागि गतिला साधन त बने तर सँगै राक्षस पनि । यो सन्दर्भमा क्यामरुनको चाखलाग्दो भनाइ चर्चित छ । ‘अवतार’लाई डिज्नले प्रदर्शन गर्न अस्वीकार गरेपछि क्यामरुनले भनेका थिए, ‘फिल्म हृदयबाट बनाइन्छ, टेबुलको कम्प्युटरबाट होइन ।’ पहिलोपटक थ्रीडी प्रविधिमा फिल्म बनाएका क्यामरुनको लस–एन्जल्स स्टुडियोको एक तथ्यांकअनुसार सन् २०२० सम्म फिल्म (एनालग)को मृत्यु भैसक्नेछ र त्यसको स्थान डिजिटल प्रविधिले लिनेछ ।

विश्व फिल्मको वैतरणी यात्राका लागि अर्को ‘लाइफ अफ पाइ’ शैली अहिलेको खाँचो हो । ओस्करको पछिल्लो संस्करणमा सर्वोत्कृष्ट निर्देशकसहित चार अवार्ड जितेको बंगाली बाघ र भारतीय केटाको कथा पेश गर्ने यो फिल्म प्रविधि र कथा भन्ने सौन्दर्यको सुन्दर उदाहरण थियो । समीक्षकले फिल्मलाई दशककै उत्कृष्ट फिल्मको रुपमा व्याख्या गरेका छन् । चीनले पनि ताइवानी निर्देशक लीजस्तै निर्देशकको सपना देख्न थालेको छ । फिल्मका तीनैवटा आयामलाई सुन्दर ढंगले भन्न सकेका लीलाई एसियाली फिल्मले मार्गदर्शकको रुपमा लिनुपर्ने हुन्छ जसले पैसा र प्रविधिको आडम्वरी हलिउडलाई पनि धुलो चटाइदिए । ‘लाइफ अफ पाई’मा प्रविधि, कथा र संवेदनाको त्रिवेणी बगाएका लीले देखाएको कम बजेट, सामान्य कथा र न्यारेसनको पाटोलाई नेपालले पनि अनुकरण गर्नुपर्ने देखिन्छ । यसका लागि फिल्म कानका लागि होइन, आँखाका लागि हो भन्ने सिम्पल कुरा बुझ्न सके मात्र मौलिक सिनेम्याटिक ल्यांग्वेज निर्माण हुन सक्थ्यो ।

No comments:

Post a Comment