Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, April 12, 2014

फिल्म वर्ष समीक्षा २०७० : इकोनोमी भर्सेस इनोभेसन



वर्ष २०७० को समाप्तीतिर दक्षिण अफ्रिकाबाट यस्तो खबर आयो, जुन सुन्दा धेरैलाई विश्वास लाग्दैन तर यो यथार्थ हो । द इकोनोमिस्टका अनुसार सिनेमा र प्रविधि विकासले नाइजेरिया दक्षिण अफ्रिकालाई उछिन्दै महादेशकै सर्वाधिक धनी देश बनेको छ । धन्यवाद –नलिउडलाई जसको तीव्रतर विकासले देशको अर्थतन्त्र एकरातमै ८९ प्रतिशत पुग्यो । वर्षिक सिनेमा उत्पादनको दरले नलिउडले बलिउडलाई पनि उछिनेको छ । नाइजेरियाली जीडीपीको १.४ प्रतिशत हिस्सा नलिउडले ओगेटेको छ । हाम्रा लागि यो सपना हुनसक्छ, तर नाइजेरियाको यो स्थिती आजकै मान्छेले बनाएका हुन् ।


सपना, अठोट, साहस र प्रणाली बने के मात्र हुँदैन । त्यो नलिउड जसले नाइजेरियालाई विश्वका सर्वाधिक धनी देशको २२ औं स्थानमा स्थापित गरिदियो । त्यो नलिउड जसको आकारले मात्र सिंगो देशकै अर्थतन्त्र हल्लिन्छ र त्यो नलिउड जुन सर्वाधिक सिनेमा उत्पादन र निर्यातमा अग्रसर छ ।

अब फर्कौं नेपालतिर र विषय प्रवेश गरौं । वर्ष २०७० को आर्थिक र मनोवैज्ञानिक समिक्षा गर्नु यहाँ सान्दर्भिक हुनेछ । संख्याले गुण दिन्छ भन्ने माक्र्सवादी सिद्धान्तको विश्वब्यापी डक्ट्रिनलाई बितेको वर्षले न्याय गर्न सकेन । लगानी टाइटानिक जहाजजस्तै डुब्यो र यसको पहिचान हराएको मलेसियाली जहाजजस्तै भएको छ । हेरौं नेपाली फिल्मको २०७० अंकगणित :

कूल रिलिज सिनेमा : ९७
भर्डिक्ट रिलिज : ९५
कूल लगानी : ४७ करोड ५० लाख नेरु
लगानी रिकभर सिनेमा : ५ (६ एकान ६, होस्टेल, काली, झोला, झोले, बधशाला)
लगानी रिकभर : ७ करोड २५ लाख ग्रस
घाटा : ४० करोड २५ लाख नेरु ग्रस
विदेशी फिल्म कलेक्सन : ११ करोड ग्रस (धुम ३ र चेन्नइ एक्सप्रेस)


यो अनुमानित आँकडाले नेपाली सिनेमा बजारको सपाट चित्र प्रस्तुत गर्छ । गतवर्षभन्दा कम रिलिज भएपनि ९७ फिल्मको डिजिट आफैमा ओभरलोड हो । हामीलाई ५२ सातामा ६० फिल्म भएमात्र पुग्छ तर हप्तामै ४ फिल्म रिलिज हुँदा बजार नराम्रोसँग बिथोलिएको मात्र छैन, असफलताको ग्राफ चुलिँदो छ । मागभन्दा आपूर्ति बढी भयो ।

‘६ एकान ६’ सिनेमा १ करोड ६० लाख ग्रस (६५ लाख नेट) कमाएर सर्वाधिक ग्रसर बन्यो । तीन फिल्म (झोला, झोले, ६ एकान ६) करोड क्लब प्रवेश गरे । ती २० फिल्म जसले १ लाख रुपैयाँ पनि कमाएनन् । ७० फिल्मको कमाइ ५ लाख रुपैयाँ तल रह्यो र १० लाख नेटमाथि पुग्ने फिल्मको संख्या १५ रह्यो ।

नयाँवर्षका लागि अझै ५० फिल्म स्टकमा छन् । निर्माणको गति तीव्र छ र मुहूर्तको क्रम रोकिएको छैन । धुम ३ ले नेपालबाटै ८ करोड ग्रस कमाएर लग्यो । शाहरुख खान स्टारर चेन्नइ एक्सप्रेसले ३ करोड ग्रस कमायो । हलिउड सिनेमाले बितेको वर्ष नेपालबाट २ करोडभन्दा बढी कमाएको मोटामोटी हिसाब गरिएको छ ।

यस्तो अस्थिरता हुनुमा वर्ष २०७० का केही राष्ट्रिय घटनालाई लिन सकिन्छ । बितेको वर्ष चुनाव केन्द्रित रह्यो । माओवादी कमजोर बन्यो, विश्वकप क्रिकेटले हल भरिए र सबै टिभीसामु व्यस्त रहे, सत्ता परिवर्तन भयो र चलचित्रका एकाध गतिविधि भए । सिनेमाभन्दा व्यक्तिका गसिप बढी लेखिए । अभिनयभन्दा देह प्रदर्शनको चर्चा बढी भयो ।

यो अंकगणित हेर्दा लाग्छ, नेपाली फिल्मको ब्यापार घाटाको ब्यापार हो । ‘अहिले नेपालको फिल्म निर्माण ठगी हो’ वितरक तथा निर्माता सुनिल मानन्धर भन्छन्, ‘नयाँ निर्मातालाई ठगी गर्ने काम मात्र भैरहेको छ । टाइटल दर्ता गर्दा अब ५ लाख रुपैयाँ डिपोजिट गर्नुपर्छ, नत्र फिल्म माथि जाँदैन ।’ सुनिलको जोड पुराना निर्माताको कमब्याक नहुनुमा देखिन्छ ।

विजोर वर्ष २०७१ सामु यस्ता ठूला चुनौतिका पहाड छन् जसलाई पल्टाउन सानोतिनो तागतले पुग्दैन । नयाँवर्षमा फिल्मका लागि रिलिज डेट पाउनु नै ठूलो कुरा हो । बलिउड हेजेमोनीले थिचिएको नेपाली फिल्म बजारमा यो सघनता आउँदो वर्ष निकै बढ्नेछ । बलिउडकै क्यालेन्डर हेरेर आफ्नो क्यालेन्डरमा रातो घेरो लगाउनुपर्ने बाध्यता आइपर्नसक्छ ।

विदेशी हेजेमानीको सुरुवात बैशाख ५ गतेको हलिउड सिनेमा क्याप्टेन अमेरिकाबाट सुरु हुनेछ र बलिउडी तीन खानसहितका स्टारले नेपाली मल्टिप्लेक्स ओगट्नेछन् । फ्यान्टम र बम्बे भेल्भेटजस्ता प्रतीक्षित फिल्म एकैसाथ रिलिज हुँदा नेपाली फिल्मले हल नपाउन सक्छन् । यो त उदाहरणमात्र हो । नयाँवर्षमा खुल्न लागेका करोडौं लगानीका मल्टिप्लेक्स नेपाली फिल्मका लागि थ्रेट बन्नेछन् ।

लोडसेडिङले तेलको खपत गर्नुपर्ने भारले मोफसलका सिंगल स्क्रिन बन्द हुनसक्छन् । कतिपय हलका स्टाफले महिनौंदेखि तलब पाएका छैनन् । बरु, सहरमा सिभिल ट्रेड सेन्टरको पाँचतारे हल, क्यूएफएक्सको ठमेल र पुल्चोक हल, राइजिङ मल, बानेश्वर आइप्लेक्स, बागबजार, विश्वज्योति, रन्जना मल्टिप्लेक्स खुल्दैछन् । पोखरा, हेटौंडा र नारायणगढमा नयाँवर्षमा मल्टिप्लेक्स निर्माणको काम सुरु हुनेछ । जति मल्टिप्लेक्स आउँछन्, यसको थ्रेट नेपाली फिल्मलाई हो भनेर बुझ्दा हुन्छ ।

एउटा अनौपचारिक तथ्यांकअनुसार एउटा औषत नेपालीले फिल्मका लागि वार्षिक १५ सयदेखि २ हजार रुपैयाँ खर्च गर्दो रहेछ । जसमध्ये ६० प्रतिशत सीडी र डीभीडी तथा ४० प्रतिशत हलमा पुगेर फिल्म हेर्न रुचाउँछ । उक्त खर्च पाँच फिल्म हेर्नका लागि हो । महिनामा एक फिल्म हेर्ने फुर्सद उसलाई हुन्छ । अन्य महिनामा ऊ खेतीपाती, वर्षा र राजनीतिक कारणले रोकिन्छ । यसकारण फिल्म निर्माणमा आधी कमी कुनै हालतमा आउनुपर्छ ।

आउँदो वर्ष नयाँ जनराहरुको प्रयोग हुनेछ । यीमध्ये कमेडी जनरामा धेरैले फिल्म बनाउनेछन् । नेपाली समाज खुलेर हाँस्न नसकिरहेको बेला कमेडी जनरा अझै केही वर्ष रुचाइनेछ । महिला केन्द्रित एक्सन फिल्म आउनेछन् तर यी फिल्मको बक्सअफिस सफलता यसै भन्न सकिनेछैन । ७० को दशकतिर बलिउडमा रेखा र विजया शान्तिको जस्तै प्रयोग ०७१ सालमा हुनेछ । किनभने पितृसत्तात्मक समाजविरुद्ध चलचित्रमार्फत गरिने विद्रोहको यो छिटा हुनेछ । हिजोआज समाजमा महिलाहरुको उपस्थिती प्रभावशाली देखिन थालेको छ । साथै, पल्टिकल थ्रीलर जनराका फिल्म पनि निर्माण हुनेछन् ।

नेपाली फिल्म पहाडबाट तराई झर्नेछ । सिनेमाले पर्दामा मधेशको पहिचान खोज्नेछ । पर्दामा पहाडिया मनोविज्ञान अत्यन्त एक्सप्लोइट भैसकेकाले तराई नेपाली फिल्मको लोकेसन हुनेछ । जसको संकेत वर्ष ०७० को समाप्तीमै देखिएको छ । भ्रष्टाचार, अनियमितता र प्रतिआतंकवादका मुद्दालाई नेपाली फिल्मले विषयवस्तु बनाउन सक्ने देखिएको छ ।

जनराहरुको प्रयोग गर्दा अब नेपाली फिल्म ०७१ मा व्यक्तिको कथामा रमाउनेछ । बायोपिक, हरर, सस्पेन्स, मर्डर मिस्ट्रि र हुमन स्ट्रगलजस्ता व्यक्तिवादी जनरामा सिनेमा बन्नेछन् । कथामा व्यक्तिको मूल्य मान्यता खोज्ने विश्वब्यापी लहरको प्रभाव नेपाली फिल्ममा पनि देखिनेछ । किनभने अस्कर अवार्डको पछिल्लो संस्करण यही दर्शनले बाँडिएको थियो र हुमन इमोसनका फिल्मले अवार्ड जितेका थिए ।

वर्ष २०७६ सम्म नेपाली फिल्मको संक्रमण लम्बिन सक्छ । नयाँ र पुरानो पुस्ताबीच फिल्मको दृष्टिकोण, महत्व र प्राथमिकतालाई लिएर एकखालको द्धन्द्ध लम्बिनेछ र चर्कनेछ । यसलाई इकोनोमी भर्सेस इनोभेसन भन्न सकिन्छ । किनभने पुरानो पुस्ताले फिल्ममा इकोनोमी (व्यवसायिक मूल्य) खोज्छ र नयाँ पुस्ताले फिल्ममा इनोभेसन (अन्वेषण र प्रयोग) ज्यादा रोज्छ । बिपरित धारको यो सिन्थेसिस (संयोजन) इकोनोमी एन्ड इनोभेसन हुनसक्छ । तर, तत्कालै यो बहस मेटिनेछैन ।

जसरी वर्ष ०७० मा नयाँपुस्ताले कथा भन्ने शैलीमा नयाँ प्रयोग गर्न खोजे र जसरी पुरानो पुस्ताले व्यवसायिक मूल्य निर्माणमा जोड दिए, यसकारण यी दुवै धारलाई समानान्तर ढंगले अगाढि बढाउनु जायज देखिन्छ । केही कन्ट्रोभर्सियल लाग्ला तर, देशमै फिल्म संस्कृति निर्माण नगरिकन ओभरसिज बजार खोज्नु महत्वपूर्ण होइन । घरमा सिनेमा कल्चरको विकास नभैकन विदेशी बजार खोज्दै हिँड्नु रत्नाकर डाँकुको जस्तै कथा हुनेछ । किनभने युनिभर्सल्ली ग्राह्य हुन पहिले आफ्नै पहिचान स्थापित गर्नुपर्छ र स्वतन्त्रताको अर्थ स्थापित गर्नुपर्छ ।

वर्ष ०७० मा नेपाली सिनेमाको सर्वाधिक ठूलो गल्ती रह्यो –फिल्ममेकरले साहित्य, समाजशाष्त्र, मनोविज्ञान, राजनीति, मानवशाष्त्र, दर्शन र नाटकसँग अन्तक्रिया नगर्नु । अध्ययनका यी ब्यापक शाष्त्र र विषयबाट अलग रहेर फिल्म निर्माण हुनु र सिनेमालाई लिट्रेचर प्रोडक्टको रुपमा स्वीकार नगर्नु सबैभन्दा ठूलो भूल हो । वर्ष ०७० मा नेपाली फिल्ममेकरले यो प्राज्ञिकतालाई अनुसरण गर्नैपर्छ ।

बितेको वर्ष केही स्वतन्त्र फिल्मको तौल तराजुमा बढी देखियो । केसाङ छेतेनको छोटो फिल्म ‘हु विल बी गोर्खा’ले मल्टिप्लेक्समा ३० लाख कमायो । यो आम्दानी फिचर फिल्मको भन्दा बढी हो । निर्देशक तथा समिक्षक मनोज पण्डित गम्भिर विषय र गम्भिर प्रकृतिमा बनेका फिल्मभन्दा सामान्य कथामा, असामान्य तरिकाले बनेका भावनात्मक, मनोरन्जनात्मक सिनेमा निर्माणको खाँचो रहेको बताउँछन् ।

ब्याकरणीय हिसाबमा नेपाली सिनेमाले आफूलाई सच्याउँदै छ । यस्तो शैली ०७० मा रिलिज भएका झन्डै डेढदर्जन फिल्ममा देखियो । फिल्म पढेका र चासो राख्ने नयाँपुस्ताले बिस्तारै भएपनि पर्दामा ब्याकरणको खोजी गर्न थाले । प्रविधिमा केही प्रयोगहरु भए र प्राविधिक शिल्पमा नेपाली सिनेम्याट्रोग्राफर कन्सस हुन थालेका छन् ।

अहिलेसम्म नेपाली सिनेमाको मास साइकोलाजी परिभाषित हुन सकेको छैन । सबै फिल्म निर्माता मासका लागि फिल्म बनाउँछौं भन्छन् तर, यसको डिफाइन हुन सकिरहेको छैन । सिनेमाभन्दा हिरो, हिरोइन बिक्दा रहेछन्, प्रवृत्ति ठ्याक्कै बिपरित भएको छ । जबसम्म सिनेमा चल्दैन, तबसम्म गसिपको बिक्री भैरहनेछ । जब सिनेमा बिक्न थाल्छ, तब गसिपको बिक्री रोकिन्छ । सिनेमा पत्रकारिताको प्रयोग ०७० सालमा गसिपको नाममा ज्यादा गरियो ।

बहुचर्चित फिल्म नीति ०७१ सालमा पनि आउने सम्भावना निकै कम छ । स्वयम फिल्म वृत्तमा यसको बहस जति हुनुपर्ने हो उति सकिरहेको छैन । राज्यले सिनेमालाई सेरेमोनियलरुपमा ग्रहण गरेको छ भन्ने कुराको पुष्टि हो यो । तर, कालो बाँदलमा चाँदीका घेरा हुन्छन् भन्ने मान्यतालाई स्वीकार्ने हो भने सिनेमा विकासका सम्भावना उज्वल छन् । हामीले कन्टेन्ट र स्क्रिनप्लेलाई बलियो बनाउने हो भने अवश्य नेपालमा बलिउड सिनेमाका दर्शक ५० प्रतिशतले घट्नेछन् । नयाँ वर्षको शुभकामना । 
Published on merocinema.com

No comments:

Post a Comment