Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 22, 2014

फिल्म समिक्षा | फिटकिरी

विष्णु शर्मा

बिल गेट्स भन्छन्, –‘जब व्यवस्था असफल हुन्छ तब, भाग्यको खेल सुरु हुन्छ ।’ म यहाँ फोब्र्स अर्बपतिको भनाई किन सापटी लिँदै छु भने २ घन्टा २० मिनेट लामो सिनेमा ‘फिटकिरी’ हेरेर म यही निष्कर्षमा पुगेको छु । सहरमा भाग्यको खेल सुरु भएको छ र त्यो भाग्यले उत्पादन गरेको ‘सफोकेसन’ काठमाडौंको यथार्थ बनेको छ । सहर यतिबेला ‘सफोकेसन’ बाँच्दैछ । अनुप बराल निर्देशित ‘फिटकिरी’ले सहरी विक्षिप्त मनोविज्ञानको कथा भन्छ । त्यो कथामा तीन रङ पोतिएका छन् –रातो, नीलो र हरियो ।



जीवनको रङ हरियो हुन्छ । शान्तिको अर्थ लगाइने हरियो कहिलेकाहिँ उग्र पनि बन्नसक्छ । हिंसाको रङ रातो कहिलेकाहिँ शान्त पनि हुनसक्छ । अर्थात जे देखिन्छ, त्यो सत्य नहुनसक्छ । काठमाडौं आवरणमा जे देखिन्छ, त्यो त्यस्तो छैन । ब्यापारी, सज्जन, दुर्जन, फटाहा, दलाल सहरको एउटै डाइनिङ टेबुलमा भेटिन सक्छन् । फिल्म ‘फिटकिरी’को सार यही हो । सहरमा बस्ने मान्छेको कन्फिलिक्ट अफ इन्ट्रेस्ट   (स्वार्थहरुको द्धन्द्ध) फिल्मको गुदी हो ।

फिरौतीका लागि एक धनाढ्यको अपहरण भएपछि ‘टसल’ सुरु हुन्छ । अपहरणकारीसम्म पुग्ने जिम्मा पाएको पुलिस अफिसरको अनुसन्धान सामु आउने अवरोध फिल्मको द्धन्द्ध हो । यस्तो द्धन्द्ध उक्त पात्रको तीन तहमा देखिएको छ –मनोवैज्ञानिक, पारिवारिक र बाह्य । अवरोधका यी तीन आयामले द्धन्द्धको विकास उचाइमै भएको छ । एन्टागोनिज्म जति शक्तिशाली देखिन्छ, उति नै प्रोटागोनिज्म बलशाली । संघर्षको यो उत्कर्षस्वरुप पहिलोपटक कुनै नेपाली फिल्ममा हेर्दैछु । द्धन्द्ध संरचनाको यस्तो पिरामिड त ‘दासढुंगा’ र ‘मोक्ष’मा हेरिसकेको हो ।

निकट अतितलाई हेर्दा अपहरण र फिरौतीको ‘हाइप्रोफाइल चित्र’ पूर्वसभासद श्यामसुन्दर गुप्ता प्रकरणमा देखिएकै हो । मन्त्री भैसकेका गुप्ताको सादृश्य लाग्ने स्केचले तत्कालिन कालखण्डको चित्रण गर्छ । ‘फिटकिरी’को टाइम र स्पेस पनि यही नै हो । एक ज्याज डान्सर युवती जसको महत्वाकाङ्क्षा एन्जेलिना जोलीको होर्डिङ बोर्डअघि उभिनु र मध्यमवर्गको अखडा मानिने दरबार मार्गमा हेलिने विम्वमा मात्र सीमित छैन । बाबुराम पात्र जो मतियार मात्रै होइन, जसलाई आफू किन मर्दैछु भन्ने पनि थाहा छैन । यस्ता पात्र सहरमा गुमनाम छन् । 

पात्रको विकास र स्थापना शक्तिशाली पक्ष हो । यसले पात्र र दर्शकबीच ‘ब्रीज’ बनाएको छ । भलै, निर्देशकले पृष्ठभूमि निर्माण र पात्रको मनोविज्ञान विकासमा लामो समय लिएकै किन नहून, यसले घरेलु फिल्ममा देखिएको भिजुअल साइकोलोजीको रिक्ततालाई मेट्ने काम गरेको छ । पुलिस अफिसर पात्रको बहुमुखी द्धन्द्धले संवेदना प्रवाह गर्छ । पति–पत्नीबीचको चरित्रकरण अब्बल पक्ष हो । इमोसन ट्रान्सफरको झोक्का यहाँनेर प्रतित हुन्छ । तर, मनोवैज्ञानिक र बाह्य द्धन्द्धको विकासमा मुख्य पात्रबाट आशा गरिएजस्तो भावनाको प्रसार छैन । यसले फिल्म र दर्शकीय इन्गेजमेन्टलाई कमजोर तुल्याइदिएको छ ।

‘गोल’का लागि मुख्य पात्रले गरेको संघर्ष ओझेल यतिबेला पर्छ जतिबेला गुदी कम र स्टाइल हावी हुन्छ । ‘जार्गन’ लाग्ने कतिपय दृश्यले मनोविज्ञानको सम्बन्धलाई रोकेका छन् । दृश्य रुपान्तरणको यो पक्ष फिल्मको ‘लुप होल्ज’ हो भन्ने मेरो ठम्याइ हो । यद्यपी, नन–लिनियर शैलीमा भनिएको कथाले दर्शकलाई बाँधेर चाहिँ राख्छ । बाँध्ने यो शैली थ्रीलर जनराका नेपाली फिल्ममा खास प्रयोग हो । उत्कर्षसम्म कथाको मर्म र सिचुएसनलाई आबद्ध तुल्याइराख्न निर्देशक बराल र लेखक यज्ञश सक्षम ठहरिएका छन् ।

एउटै पात्रको मनोविज्ञान, आयाम र भूमिकालाई ३६० डिग्रीमा सरल ढंगले देखाइएको छ । प्रायः नेपाली निर्देशक ड्रामाको यो बहुचरित्रकरणलाई वास्ता गर्दैनन् । किनभने एउटै व्यक्तिले एकै समय अनेक जीवन बाँचिरहेको हुन्छ भन्ने बोध उनीहरुलाई हुँदैन । जस्तो –जीवनजंग थापाको रोलमा सौगात मल्लले एकैसाथ चार जीवन बाँचेका छन् –पुलिस, अफिसर, पति र बाबु । जस्तो –रुपा अर्थात दिया मास्के एकैसाथ ज्याज डान्सर, प्रेमिका र अन्य रोलमा जमेकी छन् । स्वभाविकरुपमा नाट्य र औपन्यासिक संरचनाको यो स्वरुपले द्धन्द्ध सिर्जना गर्छ र दर्शकमा थ्रील पनि । राजनीति र समाजको लय नमिल्दा सहरिया मान्छेले एकसाथ धेरै जीवन बाँच्नुपर्छ । २०६९ सालको कथा भएकाले ‘फिटकिरी’ ताजा नेपाली सहरको पोट्रेट हो । श्यामसुन्दर गुप्ता प्रतिनिधि चरित्र हुन् ।

फिटकिरी आफैमा विम्व हो तर फिल्मभित्र विम्व कम तर रुपक र प्रतीक ज्यादा छन् । न्यारेसनको यस्तो शैलीमा फिटकिरी घोलिन पनि सक्छ र नघोलिन पनि । थाहा पाउन हलसम्मै पुग्नुपर्छ । प्रोटागोनिस्टको ‘गोल’लाई फिटकरीको रहस्य बनाइएको भए शीर्षकको सार्थकता बढी हुन्थ्यो । किनभने सिचुएसन निर्माण गर्ने तीन सहायक पात्र र संघर्षका मुख्य तीन पात्रबीच खास सम्बन्ध देखिँदैन । त्यो स्क्रिप्लेको प्लट मात्र हुनसक्छ । यो प्वाल टाल्न सकेको भए दृश्य रुपान्तरण सजिलै बग्न सक्थ्यो ।

रह्यो समाजसँग फिल्मको सम्बन्ध । मध्यमवर्गको तीव्र उदयसँगै पर्दामा सहरको कथा भन्न थालिएको छ । आधुनिकता र पुँजीवादले व्यक्तिवादलाई हत्या गर्न थालेपछि पर्दामा मान्छेको मूल्य र मान्यता खोज्न थालिएको छ । बलिउडमा साना सहरको कथा भनिन थालेका छन् । हलिउड प्रकृतितर्फ फकर्न थालेको संकेत अस्करको पछिल्लो संस्करणमा देखियो । ‘फिटकिरी’ आफ्नै कथा र दृश्यभाषा खोज्ने ट्रेन्डको श्रीगणेश पनि हो । यसका पात्रहरु ठमेल, दरबारमार्ग, रत्नपार्क र नयाँसडकतिर देखिन सक्छन् र ठोकिन सक्छन् ।

‘फिटकिरी’को जरा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणसँग गाँसिएको छ । केटी बेच्ने दलाल, पासपोर्ट बेच्ने सभासद, क्यासिनोमा घर हार्ने जुवाडे र ठमेलमा जीवन हार्ने केटी ‘फिटकिरी’का जीवन्त पात्र हुन् । मध्यमवर्ग सुविधा र भविष्य खोज्दै जसरी सहर पस्दैछ तब ‘सफोकेसन’ पनि उत्तिकै बढ्दैछ । अर्थतन्त्रको उत्पादकत्व घट्दो तर महंगी बढ्दो छ । आय र व्ययको असमानता ‘फिटकिरी’को रचनागर्भ हो । विश्व फिल्म जसरी कर्पोरेटकरणबाट व्यक्तितिर फर्किइरहेको छ, त्यसको छिटा ‘फिटकिरी’ फिल्म बन्नसक्छ भन्ने मलाई लाग्छ ।

तर, फिटकिरीसँग धेरै प्रश्न अनुत्तरित छन् । निर्देशक बरालले यी प्रश्नको उत्तर दिनैपर्छ । के फिल्ममा देखाइएजस्तो प्रोटागोनिस्ट हाम्रो स्टेट, सिस्टम र साइकोलोजीसँग एक्लै लड्न सक्षम छ ? फिल्मको प्रोटागोनिस्टले कुन व्यवस्थाको प्रतिनिधित्व गर्छ ? या सिनेमा लिवर्टीको प्रयोगमात्र हो ? निर्देशकले फर्मुला शैलीबाट पृथक रहेको दाबी गरेपनि के मुख्य भिलेन पात्रको अन्त्यसँगै प्रोटागोनिस्ट सामु रहेका अन्य द्धन्द्धहरुको अन्त्य आफै हुन्छ ? के सहरको चरित्र तीन रङको छायाँमात्र हुन्छ कि श्यामश्वेत पनि ? निर्देशक बराललाई अर्को मिलियन डलरको प्रश्न –सिनेमा ब्याकरणले चल्ने हो कि मनोरन्जनको एस्थेटिक भ्यालुले ? पछिल्लो प्रश्नभित्र निर्माताले गरेको भनिएजस्तो जस्तो रचनात्मक हस्तक्षेपको गुन्जायस कस्तो थियो ?

फिल्ममा द्धन्द्ध र संघर्ष अनिवार्य हुन्छ भन्ने विज्ञानको नियमलाई नेपाली निर्देशकले फिटकिरीबाट ग्रहण गर्नैपर्छ । किनभने हामी सिक्ने कुरामा पछाडि छौं । पात्रको बहुचरित्रकरण, बोल्दा बोल्दै मर्ने रोगबाट मुक्ति, संवाद भावले हो –डायलगले होइन भन्ने आधारभूत सूत्र बुझ्नु अनिवार्य छ । न्यूरोडको सडकमा अलपत्र परेको गाई फिटकिरीको मुख्य पात्र बन्नसक्छ भने सहरका अलपत्र मान्छे किन कन्टेन्ट बन्न सक्दैनन् ? पात्र विकास र द्धन्द्धको उठानका लागि फिटकिरी स्मरणीय भइरहनेछ । यस्तो व्याकरणमा मात्र गुणस्तरिय क्राफ्ट उत्पादन हुनसक्छ ।

1 comment:

  1. Such a micro analysis of the movie. thank you for your great review!!!

    ReplyDelete