विष्णु शर्मा
१० फेव्रुअरी, २०१३
शनिबार नखिपोट मैदानमा गेसो अध्यक्ष पदमबहादुर गुरुङले बेलायतविरुद्ध आन्दोलनको धम्की दिइरहँदा यता दरबारमार्गमा भएको मिस नेपाल छनौटमा पोखरेली भलिबल सुन्दरी सिपोरा गुरुङ प्रतियोगी छानिइन् । यी दुई घटना एकसय असी डिग्री विपरित कोणका थिए जसले समाजशाष्त्रमा गम्भिर सांकेतिक अर्थ बोकेका छन् । यी दुई घटनालाई यसरी पनि बुझ्न सकिन्छ –नेपालमा आदिवासी जनजातिको दुई वर्गको उदय भैरहेको छ । एउटा –१८ वर्ष उमेर पुगेका आफ्ना छोराछोरीलाई नेपालबाट अलग्गाएर बेलायती नागरिक बनाउन चाहन्छ र अर्को –नेपालमै आफ्नो पहिचान खोजिरहेको छ । पदम र सिपोरा दुई अलग प्रतिनिधि पात्र मात्र हुन् ।
अक्सर म दिनको एकपटक नखिपोट पुग्नेगर्छु । नखिपोट मेरो ह्याङआउट थलो पनि हो । शनिबार दिउँसो चर्किँदो घाममा गेसो अध्यक्ष गुरुङले बेलायतमा प्रधानमन्त्री डेभिड क्यामरुन जत्तिको अधिकार गोर्खाहरूको पनि भएको बताए । १८ वर्ष माथिका गोर्खाका सन्ततीलाई आवासिय भिसा नदिइए आन्दोलनमा उत्रने उनको अभिव्यक्तिले खुबै ताली पनि पिट्यो । मैले यतिबेला नेपालमै पहिचानका लागि संघर्षरत अर्को कित्ताको जनजाति समुदाय जो गोर्खा भर्ती बन्दको माग गर्छ उनीहरू र सिपोरा गुरुङलाई सम्झिरहेको थिएँ । सिपोरा मिस नेपालमा छानिनु आफ्नै खालको सन्देश पनि थियो ।
सितिमिति राजधानी बाहिरका लाई यस्तो राष्ट्रिय ब्युटी पेजेन्टमा सहभागि नगराइने र त्यसमा पनि जनजातिलाई नसमेटिने प्रवृत्तिविरुद्ध सिपोरा छानिएकी थिइन् । नेपाली आर्यनबहुल फेसनको परिभाषाले चिम्सा आँखा, गोलो अनुहार र मंगोलियन आवरणलाई सजिलोसँग फेसनको परिभाषामा समेट्दैन । तर, पछिल्लो समय जनजातिको आर्थिक र सामाजिक हैसियत बढेसँगै मिस नेपालजस्ता पेजेन्टमा उनीहरूको उपस्थिती बाक्लिएको छ । मोडलिङमा विविधता नभएको भन्दै आलोचना खेपिरहेको विश्व फेसन बजारमा समेत एसियाली मंगोलियनको उपस्थिती र डिजाइन हर्लक्क बढेको छ । चिनियाँ सुन्दरीले मिस वल्र्ड जित्नु र आयोजना गर्नुका आफ्नै तर्क छन् ।
तर, गेसो र सिपोराका यी गतिविधिले आउँदो नेपालको सामाजिक ढाँचालाई चित्रण गर्छ । यो पहिचानको लडाईं पनि हो । एउटा देशबाट भाग्न चाहने र अर्को देशभित्रै पहिचानको लडाईं लड्ने । जनजाति पहिचानलाई जोगाउने हो भने पछिल्लो विकल्प रोज्नुसँग गेसोसँग अर्को विकल्प छैन ।
No comments:
Post a Comment