विष्णु शर्मा
२३ फेव्रुअरी, २०१३
२३ फेव्रुअरी, २०१३

एक्सक्लुसिभ, फलो, स्टिङ हुँदै नियमित समाचारका लागि नेता, खेलाडी, कलाकार र ब्यापारीले तिर्ने पैसाको समाचारमा भारतीय मिडियाको यथार्थले धेरै चिमोट्छ । यो यथार्थबाट नेपाली पत्रकारिता अछुतो हुने कुरै भएन । पत्रकारिताको एबीसी सूत्रलाई शिरोधार्य गर्ने नेपाली मिडियाको यो हर्कत पनि बेला–बेला नदेखिएको होइन । फिल्म हेरिसकेपछि मिडिया क्रिटिक रोकाले भनेजस्तै सामान्य तलब पाउने नेपाली सम्पादकले राजधानीमै कसरी घर ठड्याउन सक्छ र कार हाँक्न सक्छ भन्ने प्रश्न खडा भएको छ । बलिउडमा करन जोहर र आमिताभ बच्चनले कसरी पैसा तिरेर मिडियामा आफ्नो फिल्म र आफूलाई प्रस्तुत गरे ? मुकेश र अनिल अम्बानी कसरी टेलिभिजनमा लगानी गरिरहेका छन् ? प्रभु चावलाजस्ता बरिष्ठ पत्रकार कसरी बिकिरहेका छन् ? ललित मोदीले आइपीएलमा कस्तो घोटाला गरे ? पत्रकारसँगको उठ्वसको दृश्य हेर्दा शब्द भन्नु बेकारै हुन्छ ।
दशकभन्दा लामो पत्रकारिता अनुभवमा मैले देखेको यथार्थ पनि यही हो । नाम नलिइकन भन्दा राजधानीका कतिपय ‘ठूला’ पत्रकारलाई मैले कफि खुवाएको छु र ट्याक्सी भाडा पनि तिरिदिएको छु । फिल्म पनि हेराएको छु । व्यक्तिगत बाध्यता पनि होलान् तर बाध्यताको उपजले निम्त्याउने बाइप्रोडक्ट गम्भिर हुन्छन् । फेसबुक साथी लेनिन बन्जाडेले लेखेका थिए –‘पैसा भयो भने समाचार दैलो खोज्दै घर–घर आउँछ ।’ यो निहितार्थ गम्भिर छ । फिल्म हेरिसकेपछि पत्रकारिताका प्राध्यापक स्नेह सायमीले नेपाली मिडियामा ‘पेड न्यूज’को आफ्नो अनुभव सुनाए । उनले यस्तो वृत्तचित्र नेपालमा पनि बन्न सक्ने बताए । ‘एकदिन यो बन्ने नै छ’ सायमी भन्दै थिए, ‘मेरै अनुभव र भोगाइले यो देखाएको छ ।’
लामो समय मैले फिल्मी पत्रकारितामा पनि बिताएँ । विज्ञापन र न्यूज पनि चिन्न नसक्ने पत्रकारको भीडमा पेड न्यूज सामान्य प्रचलनमै छ यहाँ । कतिपय बेला कर्पोरेट मिडिया पनि यस्तो प्रकरणमा मुछिएका छन् । मसँगै छेउमा रहेर फिल्म हेरेका इजरायली गोरा निर्देशक डान उलम्यान पनि यस्तो थाहा पाउँदा छक्क परे जसको फिल्म ‘गेइ ओनी’ हुमन राइट्स फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको थियो । यस्तो अभ्यासको पत्रकारिताबाट लोकतन्त्र, सूचनाको अधिकारको कसरी संरक्षण हुन सक्छ भन्ने थाहा पाउन तपाईंले उक्त फिल्म हेर्नैपर्छ ।
No comments:
Post a Comment