Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 19, 2013

करोड क्लवले जोगाउला प्रतिष्ठा ?


विष्णु शर्मा 
जनवरी १९, २०१३
फिल्म राम्रो बन्नु र चल्नु अलग कुरा हुन् । राम्रो बनेपनि, चलिदिएन भने हितकर हुँदैन । फिल्म गतिलो नभैदिए, लगानीकर्ताको रुचि घट्छ र कमब्याक सहज हुँदैन । अझ, कलाकारको फेसभ्यालु र करियर यसैमा टिकेको हुन्छ । एक करोड पनि आम्दानी नगर्ने फिल्मका कलाकारको भ्यालुमा यति चाँडो पहिरो जान्छ कि, हत्तपत्त उनीहरु निर्माताको रोजाइमा पर्दैनन् । तर, यतिबेला नेपाली फिल्म केही यस्ता कलाकारको कक्षमा फन्को मारिरहेको छ, जो करोड क्लवका सदस्य छन् र एकसाथ पैसा छाप्ने मेसिन पनि ।



अभिनेता सौगात मल्ल करोड क्लवका आकर्षक सदस्य हुन् जसको राप र तापमा नेपाली फिल्म बुर्कुसी मारिरहेको छ । ब्लकबस्टर ‘लुट’बाट प्रसिद्धी कमाएका मल्ल यतिबेला मायानगरीका एक्ला वृहस्पति हुन् । जो झन्डै दर्जनभन्दा बढी फिल्ममा प्रोटागोनिस्ट (मुख्य पात्र)को रुपमा अनुबन्धित छन् । सर्वाधिक आम्दानीमा कीर्तिमान राखेको ‘लुट’ले सवा तीन करोड मात्र कमाएन, सौगात र हाकु कालेको समानान्तर छवि निर्माण गरिदियो । उनलाई यतिबेला घरेलु फिल्मका डार्क हर्स मानिन्छ ।

फिल्म हिट हुन पात्र कि स्टार चाहिन्छ ? सौगात भन्छन् –‘नेपाली फिल्ममा दुवैको आवश्यकता देख्छु । बिरालो कालो या सेतो हुनुले केही फरक पार्दैन, मुख्य कुरा उसले मुसा मार्न सक्नुप¥यो ।’ नाट्य पृष्ठभूमिका यी खिरिला अभिनेताका हाइवे, रक्तचन्दन, बधशाला, सुनगाभा, एक अनटाइटल अमेरिकी प्रोजेक्ट प्रतीक्षित फिल्म हुन् । करोडभन्दा बढी कमाउने फिल्मको चर्चा गर्दा आउने करोड क्लवको सदस्यमा सौगात मल्लले नाम लेखाएलगत्तै फिल्म बजारीकरण र निर्माणका धेरै थरी कुरामा ब्यावसायिक आकार देखापरेको हो ।

आर्यन सिग्देल, करोड कमाउने फिल्मका पहिलो अभिनेता हुन् । ‘फस्टलभ’ले १ करोड ९० लाख ग्रस कमाउँदा आर्यन करियरको उत्कर्षमा थिए । तर, दुर्भाग्य ! उनी अभिनित पछिल्ला कुनैपनि फिल्मले लगानी रिकभर गर्न सकेनन् । पछि पनि आर्यन करोड लगानीका फिल्मका हिरो त बने तर, ब्यावसायिक शुन्यता मात्र हात लाग्यो । यतिबेला आर्यन आफ्नै लगानीमा फिल्म निर्माणको कसरतमा छन् । अहिले पनि थानकोटका यी रैथाने अभिनेता दर्शकीय रोजाइको प्राथमिकतामा छन् । तर, पात्र र अभिनय शैली बदल्नुपर्ने चुनौति उनीसामु छ ।

पूर्व इन्डियन आइडल प्रशान्त तामाङ करोड क्लव सदस्यमा नाम लेखाउने अर्का अभिनेता हुन् । उनी हिरो बनेको फिल्म ‘गोर्खापल्टन’ले २ करोड २० लाख ग्रस कमाएको हो । इन्डियन आइडल बनेलगत्तैको सफलता र प्रसिद्धिलाई प्रशान्तले यो फिल्मबाट आत्मसात त गरे तर, उनी अभिनित पछिल्ला दुबैवटा फिल्म फ्लप रहे । गायन पृष्ठभूमि र नेपाली भाषी भारतीय प्रहरीका जवान प्रशान्तले ‘गोर्खापल्टन’पछि प्रसिद्धि जोगाउन सकेनन् । समिक्षकहरु प्रशान्तको गोर्खापल्टन सफलतालाई आकस्मिता भन्छन् ।

पाँचौ सातामा २ करोड ५ लाख ग्रस आम्दानी गरेको फिल्म ‘सायद’ले बक्सअफिसमा सफलता मात्र पाएन, यसका टीनएज एक्टरद्धय संयम पुरी र विल्सनविक्रम राईले करोड क्लव ज्वाइन गरे । ‘सायद’ रिलिजअघि नै प्रसारित प्रोमोको समिक्षाबाट विल्सन र संयमले मिडिया हाइप बनाइसकेका थिए । टीनएज पनि फिल्मका मुख्य पात्र बन्न सक्छन् भन्ने शैलीको सुरुआत ‘सायद’ले गरेको छ । फिल्ममा संयमको अभिनय देखेर उनलाई अन्य निर्माता र निर्देशकले पनि अभिनयको प्रस्ताव गरेका छन् । ‘फिल्मले करोड कमाइसकेपछि मलाई हेर्ने र लिने आमदृष्टिकोणमा परिवर्तन भएको महसुस गरेको छु’ टीनएज एक्टरले भने, ‘सकेसम्म फिल्मलाई राम्रोसँग बनाउन र चलाउन सकियो भने यसले कलाकारको पनि हित गर्छ ।’ फिल्ममा संयमले लागुऔषध सेवन गर्ने प्लस टु विद्यार्थीको भूमिका पस्किएका छन् ।

अभिनेता मात्र होइनन्, करोड क्लवमा अभिनेत्री पनि अटाएका छन् । ‘फस्टलभ’ले गतिलो पैसा कमाएन मात्रै, हिरोइन निशा अधिकारीलाई रजतपटमा स्थापित गरिदियो । निशा यतिबेला नम्बर वान रोजाइकी अभिनेत्री हुन् । ‘फस्टलभ’बाटै ऋचा शर्माले अभिनय करियरको थालनी त गरिन् तर, निशासामु उनी गौण रहिन् । यो फिल्मको सफलताको क्रेडिट निशाले लिइदिइन् । ‘चपली हाइट’ हिरोइन विनिता बराल करोड क्लव ज्वाइन गर्ने अभिनेत्री हुन् जसको डेब्यु फिल्मले पैसासँगै विवाद पनि कमायो । विनिता अभिनित ‘फुलस्टप’ रिलिजको तयारीमा छ ।

लगानीको महंगो युद्ध सुरु भएसँगै फिल्ममा करोड क्लवको चर्चा सुरु भएको हो । कलाकार लिने प्यारामिटर मात्रै होइन कलाकार स्वयमको करियरसँग सम्बन्ध भएकाले पनि धेरैले यसलाई खासरुपमा लिने गरेका छन् । ‘फेसनको रुपमा करोड क्लवको चर्चा सुरु भएको छ’ अभिनेता दयाहाङ राई भन्छन्, ‘यसलाई मैले फेसन, करियर र प्रतिष्ठाको रुपमा लिएको छु । राम्रो अभिनय मात्र पर्याप्त होइन, यसका लागि ब्यावसायिक सफलता पनि जरुरी छ ।’ फिल्मले करोड कमाएर मात्र सेलिव्रिटीको स्टाटस कायमै रहिरहेको भने छैन । प्रशान्त तामाङ र आर्यन सिग्देल यसका उदाहरण हुन् ।

‘कलाकारको स्टारडम दर्शकीय रोजाइमा निर्भर हुने गर्छ’ अभिनेता अनुप बराल भन्छन्, ‘सफलतामा टिकिरहन दर्शकीय मनोविज्ञानमा आएको परिवर्तनलाई बुझेर अघि बढ्न सक्नुपर्छ ।’ आफूलाई अभिनेताभन्दा पनि स्टारको रुपमा लिने प्रवृत्ति र एउटै पात्रमा बाँचिरहने बानीले कलाकारको व्यावसायिक सफलतामा प्रभाव पार्ने ठम्याइ उनको छ । के करोड क्लव कलाकारको मागिखाने भाँडो हो ? व्लकबस्टर ‘लुट’ अभिनेता मल्ल भन्छन्, –‘एक हदसम्म यो कुरा सहि हो तर, सबथोक होइन । हात्तीको देखाउने दाँत र चपाउने दाँतजस्तै हो ।’

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete