Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 19, 2013

ओस्करले सिकाएका पाठहरू

विष्णु शर्मा
जनवरी २०, २०१३

बधाइ छ, फ्रेन्च सिनेमा ‘द आर्टिस्ट’लाई जसले एकेडेमी अवार्ड (ओस्कर)को ८४ औं संस्करण जितेको छ । ‘द आर्टिस्ट’ले उत्कृष्ट सिनेमा, अभिनेता, निर्देशकसहित पाँच विधामा ओस्कर जित्यो । संवादरहित यो सिनेमा थ्रीडी र एनिमेसनको जमानामा आएको ब्ल्याक एन्ड ह्वाइट फिल्म हो । सन् बीसको दशकको अन्त्यतिरको समयमा हलिउडका साइलेन्ट फिल्म (मुक फिल्म)मा काम गरेका दुई कलाकारको कथात्मक यो सिनेमा त्यही बेलाको शैलीमा निर्मित छ । मुक फिल्ममा निकै चलेका हिरोलाई फिल्ममा आवाज आएपछि हुने समस्यालाई फिल्मको कथानक तुल्याइएको छ । अन्ततः प्रक्षेपण नै सहि, ‘द आर्टिस्ट’ले ‘द डेसेन्डान्ट्स’, ‘ह्युगो’, ‘द हेल्प’, ‘मिडनाइट इन पेरिस’, ‘एक्सट्रिमली लाउड एन्ड इन्क्रेडिबल्ली क्लोज’, ‘मनिबल’, ‘ट्री अफ लाइफ’ र ‘वार हर्स’लाई माथ दियो ।





‘द आर्टिस्ट’को जित र एकेडेमी अवार्डको पछिल्लो संस्करणले पहिचान एवम मानकका लागि संघर्षरत नेपालजस्ता अल्पविकसित मुलुकका चलचित्रका लागि गतिलो पाठ सिकाएको छ । ओस्कारको ताजा नतिजाले सिनेमालाई बौद्धिक सम्पत्तिको रुपमा नभई प्रोडक्टको रुपमा हेर्ने हलिउडको ग्लोकोलाइजेसन प्रवृत्तिमाथि प्रहार गरिदिएको छ । अर्कोतिर, सिनेमालाई सांस्कृतिक र व्यावसायिक दुवै रुपमा ग्रहण गर्ने फ्रान्ससहितका सिनेमाहरूको एउटा समूह (जो हलिउडको समानान्तररुपमा आफूलाई उभ्याउन चाहन्छ)लाई ओस्करको पटाक्षेपले राहत पुगेको छ । तर, हामी यहाँ सोमबारको ओस्कारबाट उद्योगको मान्यता नपाइसकेको नेपाली चलचित्रले के–के पाठ सिक्न सक्छ भन्ने कुरा चर्चा गर्दछौं । जुन, कुरालाई नेपाली सिनेमाले स्वीकार्नुको विकल्प छैन ।

सिनेमा दृश्यविधा हो
उत्कृष्ट फिल्मसहित पाँच ओस्कर जितेको ‘द आर्टिस्ट’ मौन (साइलेन्ट) सिनेमा हो जसलाई हेर्न आँखा भएमात्र पुग्छ, सुन्नलाई कान चाहिँदैन । रेडियो नाटकजस्ता सिनेमा बनाउने नेपाली सिनेमाका कथित सर्जकहरूले यो सिनेम्याट्रिक ल्यांग्वेजलाई आत्मसात गर्नुपर्छ । ‘द आर्टिस्ट’ले सुरुदेखि अन्त्यसम्म द्वन्द्व र संयोजनलाई यसरी प्रस्तुत गरेको छ कि साइलेन्ट सिनेमा हेर्नेलाई पनि त्यसले बाँधिराख्छ । फ्रेन्च सिनेमाको यो इन्गेजमेन्ट हाम्रा लागि अनुकरणीय छ । नेपाली ब्लकबस्टर ‘लुट’मा संवादको हिस्सा ज्यादा भएपनि त्यसमा दृश्यका विधाका विशेषतालाई अनुकरण गरिएको थियो । ‘द आर्टिस्ट’बाट हाम्रा सिनेमाले फिल्म श्रव्य विधा होइन दृश्य विधा हो बुझ्नुपर्छ ।

रङ होइन संवेदना चाहिन्छ
हलिउड र बलिउडमात्र होइन नेपाली सिनेमा रङलाई लिएर चम्किला लाग्छन् । बलिउड त यसैपनि कस्मेटिकमा विश्वास गर्ने प्रवृत्ति हो । हलिउड सिनेमाहरू दरबारमार्गका पसलमा चम्कने लाइट इफेक्ट जस्तै हुन् । नेपाली फिल्मभित्र रङको यति भद्दा प्रयोग गरिएको हुन्छ कि घरका भित्ता, पर्खाल, खम्बा र अनुहारमा रङ पोतेर कृत्रिम बनाइएको हुन्छ । जति गाढा रङ, उति दर्शकलाई आकर्षित गर्न सकिन्छ भन्ने भ्रमको मनोविज्ञान नेपाली निर्देशकमा छ । तर, ‘द आर्टिस्ट’ विशुद्ध श्याम श्वेत सिनेमा हो । यदि ब्ल्याक एन्ड ह्वाइट फिल्ममा रगत बगिरहेको दृश्य छ भने रगत रातो हुन्छ भन्ने अब्जेक्टिभ मनोविज्ञान दर्शकमा आउनुहुँदैन, बरु त्यससँग उनीहरूको संवेदना साटिनुपर्छ । सिनेमामा रङ होइन, क्राफ्ट नै ठूलो कुरा हो । रङले होइन इमोसनले दर्शक तान्नुपर्छ । भिजुअलको सौन्दर्य रङमा होइन, संवेदना सम्प्रेषणमा हुनुपर्छ ।

राजनीतिलाई जोड्ने माध्यम
यसपटकको ओस्कारमा उत्कृष्ट विदेशी भाषाको फिल्म ‘अ सेपरेसन’ (इरान)लाई लिएक कृटनीतिक वृत्तमा समेत चासो देखिएको छ । खासगरि, अमेरिकी कुटनीतिज्ञहरूले चासो सतहमै देखाएका छन् । आणविक तनावले अमेरिका र इरानको सम्बन्ध निकै चिसिएको बेला इरानी फिल्मले अमेरिकाबाट ठूलो पुरस्कार पाउनु संयोगमात्र होइन । अमेरिकासहित युरोपेली मुलुकले यतिबेला इरानी तेल निर्यातमा इम्बार्गो (तेल नकिन्ने) घोषणा गरिसकेका छन् । दुई मुलुकबीच फाटेको मन सिनेमाको सियोले बुन्न काम भैरहेको छ । हाम्रा नेपाली सिनेमाले पनि राजनीतिक अस्थिरता, द्वन्द्व र निराशाले फाटेको नेपाली जनताको मनलाई जोड्ने खालका सिनेमा बनाउनुपर्छ । बलिउड सिनेमा ‘डर्टी पिक्चर’ हेरेर इन्टरटेनमेन्ट, इन्टरनेटमेन्ट र इन्टरनेटमेन्ट भन्दै कराएर अब सिनेमा उकासिने छैन ।

प्रविधि र पैसा होइन सृजनशिलता
‘द आर्टिस्ट’ र ‘अ सेपरेसन’ले स्पष्ट सन्देश दिएका छन् –सिनेमा कम्प्युटरबाट होइन मनबाट बन्नुपर्छ । पैसा र प्रविधि सिनेमा निर्माणमा समग्रता होइनन् । फ्रान्स र इरानले निकै कम मूल्यमा सार्थक र यथार्थवादी सिनेमा बनाएर विश्वको मन जितेका छन् । दुवै सिनेमाको लागत पनि कम हो जसरी ठीक विपरित, हलिउड सिनेमामा इराक, अफगानिस्तान र भियतनाम युद्धमा जसरी पैसाको खोलो बगाइन्छ । दुवै सिनेमाले पैसा र प्रविधिको प्रचुरता बिनै सृजनशिल्पको भरमग्दुर प्रयोग गरेका छन् । नेपाली सिनेमा पनि पैसा र प्रविधिको पछाडि होइन, आफ्नै स्रोत साधनले पुग्नेरुपमा सिर्जशिलतमा अघि बढ्नुपर्छ । सिर्जना हाम्रा सिनेमाको ठूलो अभाव हो । नयाँ उखान छ –बाँदरको हातमा आइफोन । प्रविधि र पैसा छ तर बुद्धि छैन भने के गर्ने ?

ट्रेन्ड : रियालिटी सिनेमाको
सँधैजस्तो ओस्करले खेपिरहेको आरोप के हो भने व्यापारमा भाग्य चम्काइसकेका फिल्मलाई यसले गतिलो किन मान्दैन ? फिल्मको ब्यापारसँग अवार्डको गोरु बेचेको साइनो सम्म नभएपनि अवार्ड पाउनुअघि दर्शकको नजरमा नपरेका फिल्मले त्यसपछि भने राम्रो ब्यापार गरेका उदाहरण प्रशस्तै छन् । किनभने ओस्कार निर्णय कमर्सिएलभन्दा पनि रियल सिनेमाबाट प्रभावित भैरहेको छ । पछिल्ला वर्षका एकेडेमी अवार्डका निर्णयलाई मूल्यांकन गर्दा ब्यावसायिकभन्दा रियालिटी सिनेमाहरू धमाधम अवार्ड जितिरहेका छन् । नेपाली सिनेमाले आफ्नो पहिचान स्थापित गर्ने हो भने हलिउड र बलिउडबाट कपि, ट्रान्सेलसन र ट्रान्सक्रिप्ट होइन मौलिक कथामा रियालिस्टिक सिनेमाहरू बनाउनुपर्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete