Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, January 25, 2013

अमेरिकामा नेपाली : हैसियत र यथार्थ


गिरिश पोखरेल/वासिङटन
जनवरी २५, २०१३

आजभोली अमेरिका आउने नेपालीहरुको संख्या दिन-दिनै बढ्दैछ । अमेरिका आएर केही वर्ष बसेर नेपाल पुगेपछि ती नेपालीहरुको गफ सुन्दा अमेरिकामा तिनलाई चिन्ने जान्नेहरु ए फलानोको हैसियत यो पो रहेछ भनेर उल्टो छक्क पर्दछन् । धेरै वर्षअघि अमेरिकाबाट नेपाल पुगेर रसेन्द्र भट्टर्राई नामक एक व्यक्तिले नेपालको एक दैनिक मारफ्त दिएका गफ सायद धेरै नेपाली पत्रकारहरुले बिरि्ससकेका होलान् । त्यसो त ती भट्टर्राईको निधन भएकै निक्कै वर्ष बितिसकेको छ ।


त्यही भएर होला आजभोली फेरी त्यही प्रवृत्तिका मानिसहरुको गफले नेपालका पत्रपत्रिका तथा नेपाली अनलाइन, टेलिभिजनहरु भरिन थालेका देखिन्छन् । जो अमेरिकामा सामान्य मजदुरी गरेर जीवनयापन गरिरहेको हुन्छ तर उसलाई नेपाल पुगेर आफू अमेरिकामा रहेको नेपालीमध्येकै उत्कृष्ट हुँ भन्ने देखाउन रहर चल्छ र उसले नेपालका संचारमाध्यमहरुलाई प्रयोग गरिरहेको देखिन्छन् ।



अमेरिकामा केही वर्ष बसेका र आफूलाई कोही आफूलाई अमेरिकी उपल्लोस्तरको इन्जिनियरको गफ लगाउँछन् त कोही साइन्टिस्ट अनि कोही अमेरिकाको राजनीतिक कार्यकर्ता त कोही अमेरिकाको उपल्लोस्तरको सरकारी हुँ भन्ने गफ लगाउँदै नेपालका संचारमाध्यममा छाएको देख्दा अमेरिकामा तिनलाई चिन्ने नेपालीहरु भने "लाटो देशमा गाँडो तन्देरी" हुन सजिलो रहेछ भन्ने उखान सम्झन्छन् । जे भए पनि उ त्यस्ता संस्थामा काम गर्ने एउटा सामान्य कर्मचारी समेत हुन्छ हुँदैन त्यो कसैलाई थाहा हुन्न । तर नेपाल पुगेर उसका धाक र रवाफ सुन्दा लाग्छ अमेरिका खर्लप्पै खाइसकेकोरहेछ ।

कुनै जमानामा एक नेपालीले अमेरिकाको विश्व बैंकमा काम गर्छु भन्ने गफ लगाएर नेपाल पुगेर सोही हैसियतकी श्रीमती विहे गरेर अमेरिका आएको र विहे गरेर आएको तीन चार महिनापछि आफ्नो लोग्नेको हैसियत कन्ट्याक्टरमार्फत विश्वबैंकको सामान्य गार्ड भएको थाहा भएपछि श्रीमती लोग्ने छाडेर नेपाल गएको रोचक कहानी डीसी क्षेत्रमा बस्ने पुराना नेपालीहरु धेरैलाई थाहा छ । आजभोलि पनि अमेरिका बस्ने केटो भनेपछि नेपालमा पुगेर आफ्नो हैसियतभन्दा माथिको परिवारसँग पारिवारिक सम्बन्ध कायम गर्दै अमेरिका आइपुग्ने नेपाली जोडीहरुको कथा-व्यथा उही विश्व बैंकमा काम गर्छु भन्नेकै सरह कतिको भइरहेको समय-समयमा सुनिन थालेको छ ।

युरोप अमेरिकामा बसेको भन्ने बित्तिक नेपालमा पुगेपछि उसको हैसियतलाई सोधिखोजी नै नगरी पारिवारिक सम्बन्ध कायम गर्नाले त्यस्ता पारिवारिक सम्बन्ध धेरै समयसम्म नदिकेको घटनाहरु दिनप्रतिदिन बढ्न थालेको छ ।

अमेरिकामा जस्तोसुकै काम गरोस् कसैले मतलव राख्ने कुरा भएन किनकी कामको सबैले सम्मान गर्नुपर्छ र गर्छन् पनि । तर प्रवासमा बस्ने नेपालीले आफ्नो काम सानै गरेर जिविकोपार्जन गरिरहेका भए पनि नेपालीबीच नै आफ्नो काम सकेसम्म ढाँट्ने परम्परा नेपालीमाझ व्याप्त देखिन्छ । अमेरिकामा काम जेसुकै गरुन् अमेरिकी माझ कुनै गफको विषय हुँदैन । काम भनेको जीवन निर्वाहा गर्नका लागि हो नकी आ-आफूबीच गफ लगाउन भन्ने कुरा धेरै नेपालीहरुले सायद बुझेर पनि बुझ पचाइरहेका हुन्छन् ।



त्यसो त अमेरिकाका त्यस्ता सम्मानित क्षेत्रमा नेपाली मूलका अमेरिकनहरु नपुगेका भने होइनन् तर तिनीहरु सायदै संचारमाध्यमहरुमा देखा पर्छन् । उनीहरुलाई संचारमाध्यममा ल्याउन कसरत नै गर्नुपर्छ । उनीहरुलाई कसैलाई गफ लगाउने फूर्सद छैन । तर फूर्सद त्यस्ता केही नेपालीहरुलाई छ जसले संचारमाध्यम बुझेका छन् र तिनलाई नेपालमा आफू के हुँ भन्न चिनाउनु परेको छ । त्यस्ता कतिपय नेपालीहरुल त आजभोलि आफ्नो समाचार आफैं तयार गर्छन् अनि अनलाइनहरुदेखि नेपालका दैनिक साप्ताहिक सबैतिर चारो छरेजस्तो आफ्नो समाचार छर्छन् । अनलाइनहरुको कुरै छाडौं, नेपालका आफूलाई प्रतिष्ठित भनाउने संचारगृहहरुलाई पनि समाचारको विश्वनियता र समाचारसँग सम्बन्धित व्यक्ति वा संस्थाबारे कुनै ज्ञान हुनुपर्दैन । उनीहरु जस्तो समाचार आउँछ त्यस्तो समाचार कपिपेस्ट गरेर समाचार प्रवाहित गरिदिएको पाइन्छ । बोल्नेको पीठो बिक्छ भनेझै जसले आफ्नो समाचार आफैं बनाउँछन् अनि पशुपतिमा परेवालाई चारो छरे झैं इमेलमार्फत भएभरका अनलाइन, दैनिक, साप्ताहिक, पाक्षिक, रेडियो, एफएम सबैतिर आफ्ना समाचार प्रवाहित गरेका हुन्छन् । आधाभन्दा बढी संचारमाध्यमले ती समाचारहरुलाई प्रवासको त्यो पनि अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका समाचार भनेर स्थान दिएको देखिन्छ । समाचारमाथिको विश्वशनीयताप्रति खोजखबरप्रति कसैलाई वास्ता छैन । उल्टो त्यस्ता समाचार कसले पहिले अनलाइनमा अपलोड गर्ने भन्ने ध्यान नेपालका ठूला भनाउने संचारगृह र आफूले आफैंलाई सर्वोत्कृष्ट संचारमाध्यम भनाउनेहरुले हानाथाप गरेको देख्दा भने नेपाली पत्रकारिता कतातिर गइरहेको छ भन्ने प्रश्न उब्जनु स्वभाविक भइसकेको छ ।

त्यसो त केही दैनिक पत्रपत्रिकासँग सम्बन्धित आफ्नै प्रतिनिधिहरु समेत अमेरिकामा नभएका होइनन् तर तिनीहरु हुँदा-हुँदै पनि कतिपय अवस्थामा अमेरिकाका समाचार भनेपछि ती संचारगृहहरु समेतले आफ्नो प्रतिनिधिलाई समेत थाहै नदिइ समाचारहरु अपलोड गरेपछि यहाँ रहेका तिनका प्रतिनिधिहरु समेत छक्क परेका धेरै घटना छन् ।

समाचार प्रवाहमा सबैभन्दा अराजकता आजभोलि स्वदेशका जिल्ला-जिल्लाबाट प्रकाशित अनलाइनहरु वा संसारका विभिन्न ठाउँबाट संचालित अनलाइन संचारमाध्यमहरु हुन् तिनमा कुन अनलाइनले कसको समाचार कपिपेस्ट गरेको हो पाठकहरुलाई छुट्याउन मुस्किल पर्छ ।

यसरी समाचार प्रकाशित गर्नमा प्रतिस्पर्धा हुनु पक्कै पनि राम्रो हो तर समाचार प्रकाशित गर्ने प्रतिस्पर्धाभन्दा पनि कसले बनाएको समाचार कसले पहिले कपिपेस्ट गर्ने भन्ने होडबाजीले भने समाचारप्रतिको विश्वशनीयता अनि अनाधिकृत रुपमा गरिने कपिराइटसलाई कसैले वास्ता गरेको पाइन्न । हामी संचारमाध्यमहरुले नै कपिराइट्सप्रति वेवास्ता गर्ने हो भने हामीलाई सिकाउन अरु कोही आउँदैनन् भन्ने संचारगृह वा संचारकर्मी आफैंले बुझ्नुपर्ने हो तर त्यो बुझाइ अझै धेरैमा देखिदैन ।

प्रवासमा कतिपय व्यक्तिहरु यस्ता भएका छन् आजभोलि आफ्नो समाचार अनलाइनमा वा नेपालका संचारमाध्यममा आओस् भनेर घर-घरमा संस्था जन्माउने होड नै चल्न थालेको छ । फलानाको नाम र तस्वीर सहित त नेपालको संचारमाध्यममा वा अनलाइनमा पढ्न पाइयो भनेपछि कतिपय व्यक्तिहरुलाई नाम र तस्वीर छाप्ने भूत चढेपछि घर-घरै सामाजिक संस्था जन्मन थालेको हुन् । अहिले प्रवासमा नेपालीहरुका संस्थाहरुमा वृद्धि हुनुमा एउटा प्रमुख कारण संचारमाध्यममा आफ्नो नाम तस्वीर प्रचार-प्रशार हुन्छ भनेर पनि हो ।

प्रवासमा खुलेको अनलाइनहरु

आजभोलि प्रवासमा रहेर अनलाइन पत्रकारिता गर्ने वा रेडिया, टेलिभिजन,छापा पत्रकारिता गर्नेहरुको समेत होडबाजी नै चल्न थालेको छ । त्यसरी पत्रकाकारिता गर्नेमा केही त नेपालबाट प्रवासमा आएर आफ्नो पेशालाई निरन्तरता दिनका लागि संचालन गरेका छन् भने केही व्यक्तिहरु रहरैरहरले समेत पत्रकार बन्न पुगेका छन् । तर कतिपय नेपालमा पत्रकारिता गरेर प्रवासमा आए पनि पत्रकारिताको धर्म र मर्मलाई बिर्सिएर प्रवासमै पत्रकारिताको शुरुआत गरेकाहरुकै पथमा हिडेको देख्दा उनीहरुप्रति पनि ठिट जाग्छ ।

पत्रकारहरुलाई सम्मानको बाढी

पत्रकारिताको आफ्नै धर्म र मर्म हुन्छ । प्रवासमा नेपालीहरुका संघसंगठनहरु धेरै भइसकेका छन् । त्यस्ता संघसंगठनहरुका समाचारहरु प्रवाह होस् भनेर उनीहरुले आफ्नो कार्यक्रम भएपटकै पत्रकारहरुलाई खादा ओढाउने र सम्मान पत्र प्रदान गर्ने बाढी नै चल्छ ।

नेपाली समाजले दिने त्यस्ता सम्मान यति सस्तो भएका छन् नेपालबाट जो आएपनि सम्मानको कार्यक्रम भन्दै खादा र एक गुच्छा फूल दिइहाल्ने प्रचलन एकातिर छ भने अर्का तिर कुनै भोज भतेरका कार्यक्रम भए भने पनि त्यहाँ अनलाइन र स्थानीय  पत्रकारहरुलाई बोलाएर तपाईलाई सम्मान गरिएको छ भन्दै ड्यासमा उभ्याइन्छ । सायद पत्रकारहरुले यसरी उभिन जानु र सम्मानखानु  भनेको त्यस्ता संस्थाहरुको नुन खानु नै हो । जुन नुनको सोझो पत्रकारले साँझ घरपुगेर गर्न करै लाग्छ ।

त्यसो त नेपालकै पत्रकारहरुलाई पनि समय-समयमा विभिन्न सामाजिक संघसंस्थाहरुले पत्रकारहरुलाई खादा ओढाएको देखिन्छ । त्यसरी खादा ओढोका तस्वीरहरु सामाजिक संजालमा छरपस्ट रुपमा आएका हुन्छन् । त्यही भएर पनि होला प्रवासमा रहेका संघसंगठनहरुले पनि पत्रकारहरुलाई सम्मान गरियो भने त आफ्ना समाचार आउँदोरहेछ भनेर यस्तो प्रचलनको बाढी नै आएको हुनसक्छ । पत्रकारहरुले पत्रकारितासम्बन्धी कुनै संघसंस्थाले सम्मान गर्छ भने त्यसमा खासै स्वार्थ देखिदैन । तर, अन्य जुनसुकै संघ-संस्थाले जब सम्मान गर्छ त्यो लिनेदिने दुवै अनाधिकृत हो भन्दा फरक पर्दैन ।

संचारगृहहरु सजक हुनसक्छन्

यसरी विशेषतः प्रवासबाट सम्प्रेशषण हुने समाचारको विश्वशनीयतालाई दरिलो बनाउनका लागि नेपालका हुन् वा अन्यत्र जहाँसुकैबाट संचालन भएका अनलाइन वा अन्य ठूला-साना सबै संचारगृहहरुले सोच्नु जरुरी भएको छ ।

आजभोलि अमेरिका, युरोपका विभिन्न देश, अस्ट्रेलिया, अरवीयन मुलुक सबैतिर नेपालको पत्रकारितासँग सम्बन्धित संचारकर्मीहरु पनि कुनै न कुनै तरहले अन्य पेशाका लागि भएप्नि विदेश पुगको छन् । त्यस्ता व्यक्तिहरुको पहिचान गरी आ-आफ्नो संचारमाध्यमहरुले सकिन्छ समाचारकाआधारमा आफ्ना जिल्लाका प्रतिनिधिलाई दिइने न्युनतम पारश्रमिक दिने सहमतीमा वा स्वयम्सेवकका रुपमा हामीलाई यति सहयोग गरिदिनु भन्दा समेत ती पत्रकारहरुले संचारसंस्थाहरुलाई सहयोग गर्नसक्छन् ।

यसरी त्यस्तो जिम्मेवारी ठूला संचारगृहहरुले दिन सकेमा अनावश्यक हल्लाखोरका समाचारहरु रोकिन सक्ने थियो । नत्र आफूलाई ठूलो बनाउन र आफ्ना समाचारहरु आफैं तयार गरेर आफ्नो डम्फू बजाउनेहरुका कारण प्रवासबाट आउने समाचारहरुले भविष्यमा नेपाली संचारमाध्यमहरुलाई नै पंगु बनाउने काम बाहेक अरु केही हुनसक्दैन ।

लेखक वासिङटनस्थित नेपालीपोस्ट अनलाइन म्यागजिनका सम्पादक हुन् ।  यो लेख नेपाली पोस्ट डटकमबाट साभार गरिएको हो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete