Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 19, 2013

राजेश हमाल : प्रेमीदेखि विद्रोहीसम्म



विष्णु शर्मा
जनवरी १९, २०१३


२५ वर्ष लामो दौडको एक्लो घोडा हुन् राजेश हमाल । फिल्मको ट्रयाकमा उनी आजपर्यन्त बुर्कुसी मार्दै छन् । अढाइ दशक लामो अभिनय करियरमा उनले २ सय ९० फिल्म खेले । त्यति नै शक्तिशाली पात्रहरूको चरित्रचित्रण गरे अनि आलोचकको मुख थुने । अक्टोवरदेखि हमाल निर्देशक बन्नेछन् । स्वर्गीय मामा दीपक रायमाझीको अधुरो फिल्म ‘डेस्टिनेसन काठमाण्डू’लाई प्याकअप गर्दैछन् उनी । तिनै रायमाझी हुन् जसले भाञ्जा नाता पर्ने हमाललाई ‘युगदेखि युगसम्म’बाट व्रेक दिए ।
यही विन्दुदेखि कपुरधाराको बेरोजगार ठिटो राजु, समयको गतिमा राजेश हमाल हुँदै महानायक बनेको छ । पहिलो फिल्मको लभरब्वाइ पात्र ‘आशिष’ यति लोकप्रिय बन्यो कि नेपाली सिनेमामा लभस्टोरी मानक खडा भयो । यही फिल्मलाई रजतपटमा लभस्टोरी युगको श्रीगणेश मानिन्छ । 



‘आशिष पात्र बेरोजगार र प्रेमिल थियो’ हमाल फ्ल्यासब्याकमा पुगे, ‘यो पात्र मेरो जीवनको नजिक रह्यो र मैले चरित्रमाथि न्याय गर्न सकेँ ।’ मामाकै पहिलो फिल्म ‘भाग्यरेखा’बाट निकालिएको प्रतिशोध र अठोटको भाव ‘युगदेखि युगसम्म’को आशिष पात्रमा प्रतिविम्वन भएको थियो । पछिल्लो रिलिज फिल्म ‘कवच’मा हमाल सुवर्ण नामक प्रहरी अधिकृत पात्रको भूमिकामा छन् । आशिषदेखि सुवर्णसम्म आइपुग्दा हमालको पात्रात्मक चरित्रमा सेमरु पर्वत नै खडा हुन्छ । ‘भेडिगोठ’ फिल्ममा लभरब्वाइ बनेर हिरोइनसँग अनस्क्रिन रोमान्स गरिरहेका ‘महानायक’ले आफूले निर्वाह गरेका सबै पात्र सम्झन सकेनन् । जति सम्झिए, ती सबैले नेपाली समाजमा उनको छविको निर्माण गरेका थिए । यसप्रकार हमालका सबै पात्रलाई एउटा शब्दमा यसरी संश्लेषण गर्न सकिन्छ –विद्रोही युवा । 

उनले गरेका सबै पात्रमा सत्यवादिता, न्याय, स्वतन्त्रता र विद्रोहको हुट्हुटी हुन्थे । हमालका सबै पात्र ‘प्रोटागोनिस्ट’ रहे । मुस्किलले पछिल्लो समय एकदुईवटा ‘एन्टागोनिस्ट’ चरित्रका सिनेमा बनेका छन् । उनका अनुसार अधिकांश फिल्ममा उनी माया गर्ने युवक, प्रहरी, आवरा, बहादुर, भरिया, विद्रोही तथा हिमाली, पहाडी र तराई भूगोलको प्रतिनिधित्व गर्ने पात्रको रुपमा रहे । जातिय र क्षेत्रीय सद्भाव खलबलिने खतरा मडारिएको समकालिन घरेलु राजनीतिमा हमाल आफूले अभिनय गरेको हिमाल, पहाड र तराईबासी पात्रबाट दलका नेताले सद्भावको अनुकरण गर्नेपर्ने आवश्यकता देख्छन् । ‘देउता’मा उनी शेर्पा तथा ‘हाता लाग्यो शुन्य’मा उनी मधेशी लवज र वेशको पात्रमा छन् । उनका लभरब्वाइ, आवरा र भरिया पात्रले गाउँले दर्शकको मन जिते । फिल्म ‘बहादुर’मा मुम्बई पुगेका नेपालीले गर्नुपरेको संघर्ष र श्रमको पात्रलाई हमालले पस्किए । ‘शंकर’, ‘अर्जुन’ फिल्ममा उनी शीर्षक अनुसारकै पात्रमा देखिए । 

करियरमा हमालले ऐतिहासिक महत्वका पात्रमा पनि खेले । नीर शाह निर्देशित फिल्म ‘वसन्ती’मा उनी गगनसिंहको भूमिकामा देखिए । डायमन्ड शमशेरको उपन्यास ‘सेतो बाघ’को केन्द्रिय पात्रलाई हमाल सर्वाधिक मनपराउँछन् । ‘मैले जतिपनि फिल्म खेलेँ, तीमध्ये गगनसिंह सबैभन्दा मनपर्ने पात्र थिए’ उनले भने, ‘उक्त ऐतिहासिक पात्रको भूमिकालाई सुक्ष्मरुपमा ध्यान दिएर अभिनय गरेको थिएँ ।’ फिल्मले बक्सअफिसमा ब्यापार त गर्न सकेन तर पात्र र फिल्मको चर्चा अर्काइभमा सुरक्षित रह्यो । उनी अभिनित सबै फिल्मको समिक्षा गर्दा पात्रात्मक आयाममा खासै विविधता देखिँदैन । एकाधबाहेकका सबै सूत्र फिल्ममा हमालको पात्रात्मक पुनरावृत्ति भएको छ । कतै पात्र दोहोरिएका छन् त कतै प्रवृत्ति । यी कुरामा आफू गम्भिर भएको हमालले बताए । 

अब के गर्ने ? महानायकले योजना सुनाए –अब रियालिस्टिक र एक्सपेरिमेन्टल फिल्म मात्र गर्ने ।’ उनले भनेजस्तै पछिल्ला तीन फिल्म ‘किन–किन’, ‘मायाज् बार’ र ‘फेसबुक’मा हमाल पृथक भूमिकामा छन् । ‘किन–किन’मा चित्रकार, ‘फेसबुक’मा साइवर प्रहरी र ‘मायाज् बार’मा निरङ्कुश डान्स बार संचालक । दिनेश डीसी निर्देशित ‘मायाज् बार’मा उनी पहिलोपटक खलपात्रमा देखिएका हुन् यद्यपी हिंसाको सहारा भने लिएका छैनन् । साताअघि ५० वर्ष उमेरको पालुवा हालेका हमाल आफैले निर्देशन गर्ने लभस्टोरी फिल्ममा जुट्दैछन् । यो फिल्मको केन्द्रिय पात्र स्वयम बन्दैछन् । कुनैबेला जस्तो आफ्नो टाउको राखेपछि फिल्म हिट हुने परिस्थिती अहिले नरहेको यथार्थ बुझेका हमाल आगामी फिल्ममा सकेसम्म पात्रात्मक विविधतामा लाग्ने तयारीमा छन् । भन्छन्, ‘मेरो भूमिका, निर्माता, निर्देशक र विविध पात्रको रुपमा अघि बढ्नेछ ।’

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete