Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, January 21, 2013

महावीरको सिलिकन भ्यालीमा

विष्णु शर्मा
जनवरी २२, २०१३


आज (जनवरी २२), बेतारे हिरो महावीर पुन जन्मिएको दिन । सफलताको शुभकामना यी कर्मवीरलाई । जन्मदिनको छेकोमा मैले महावीरका एकाध किस्सा सम्झिएको छ । मेरै गृहजिल्लाका यी कर्मवीर वास्तवमै प्रेरणाका स्रोत हुन् । उनले हिमाली गाउँहरूमा ल्याएको इन्टरनेट क्रान्तिले मेरो जीवनमा ठूला प्रभाव पारेका छन् । अमेरिकी भौतिक सम्पन्नतालाई चटक्क छाडेको घटना अस्वभाविक लाग्छ । उत्तरी म्याग्दीलाई नेपालको ‘सिलिकन भ्याली’ भन्दा फरक नपर्ला कि ? तर, ती महावीरले कसरी र कसको प्रेरणामा समाजसेवा थाले ?


वाइफाइ प्रविधिको बेतारे सञ्जाल हिमाली गाउँमा विस्तार गर्न उनले कति योगदान दिए ? कसरी म्यागासेसे जिते ? त्यो भन्दा बढी यी डच गोराको योगदान छ महावीर सफलतामा । नेदरल्यान्डको विकसीत धुपदेखि उनले हिमाली गणराज्य नेपालको नागी गाउँ छिचोलेका छन् । नागी, खोप्रा, पाउद्धार, लोप्रे हिमाली गाउँका कठिनाइहरु नापेका छन् । महावीर सफलता पछाडी हल्यान्डका पिटर्सन डेभिल्लाको योगदान कम प्रशंसनिय छैन । सूचना प्रविधिमा पिटर्सनले नेपाल र त्यो भन्दा पनि यहाँका हिमाली गाउँहरुलाई कर्मभूमि बनाए ।

‘म पाँचमहिना स्वयंसेवकको रुपमा नागीमा खटिए र महावीरलाई सघाएँ’ हालैको साँझ पर्दापछाडीका यी नायकले भने । महावीरले हरेक काम पिटर्सनको सल्लाहमा गर्थे । ‘उनी मेरा आइटी गुरु हुन्’ पिटर्सनप्रति लक्षित गर्दै महावीर भन्छन् । सन् २००० मा गाउँ छिरेका हल्यान्डका यी रैथानेले म्याग्दीका पहाडी गाउँमा बेतारे प्रविधिको सञ्जाल विस्तारमा कम्ती योगदान दिएका छैनन् । यसअघि पनि उनी नेपाल आएका थिए तर विदाको कारण राजधानीमै सीमित भए । ‘मैले महावीरलाई भेटेपछि गाउँमा विकास गर्न केही उत्साह जागेर आयो’ उनले भने, ‘अरु पाँच महिनापनि यही ठाउँमा स्वयंसेवकको रुपमा आएर काम गर्ने चाहना छ ।’ फेरी नागी फर्किन उनले स्वदेशमै चाहिने खर्चको जोहो गरिरहेका छन् ।

३२ बसन्त खेपेका खिरीलो ज्यानका धनी पिटर्सन गफभन्दा बढी काममा विश्वास गर्छन् । साथीभाइसँगको उनका भेटका विषय प्रायः सूचनाप्रविधि बन्ने गर्छन् । जिल्लामा सूचना क्रान्ति ल्याउन महावीरलाई सघाउन आफू आएको उनको प्रष्टोक्ती छ । सूचनाको संवाहकको रुपमा उनले म्याग्दीलाई लिएका मात्र छैनन त्यसलाई व्यवहारमै विकसीत गर्न हल्यान्डमै ग्रामिण सूचनाको सम्भावना अध्ययन गरिरहेका छन् । बौद्ध धर्मावलम्वीमा आस्था राख्ने यी तन्नेरी अहिलेसम्म अविवाहित छन् । एउटी नेपाली केटीसाथी पनि बनाएका छन्,  उनैसँग समुन्द्रपारको हल्यान्ड बस्छन् । छिट्टै नेपाली संस्कृति मिल्दोजुल्दो लगनगाँठो कस्ने पिटर्सन योजना छ । अहिले म्यानमारमा सूचनाप्रविधि अध्ययन गरी स्वदेश फर्किएका छन् । जहाँ उनको आफ्नै लगानीमा निर्मीत आइटी कम्पनी छ । जसले ग्रामिण सञ्चारलाई प्राथमिकता दिएको छ ।

नागीमा रहँदा शिक्षक र विद्यार्थीसँग कम्प्युटर कक्षमा काम गरेको सम्झना ताजै छ स्मृतिमा । त्यहाँ छँदा कम्प्युटर पनि पढाए । ब्रोकन नेपाली लवजमा बोल्ने पिटर्सन नेपाली भावना, संस्कृतिलाई औधी प्रेम गर्छन् । एसियाली कलालाई औधी सुम्सुम्याउँछन् । नेपाल र बर्माबाट निर्यात गरिएका बुद्धका मूर्तिहरु विश्वभर बेच्ने गर्छन् । ‘जहाँबाट प्राप्त आम्दानीलाई म्याग्दीको प्रविधिको क्षेत्रमा लगानी गर्छु’ पिटर्सनले योजना सुनाए । तर, आफूलाई  व्यापारी भन्न नरुचाउने उनी सूचनाप्रविधिको विकासका लागि विकल्पको रुपमा यसो गरेको बताउँछन् । ‘यसो गर्दा धर्मको सम्मान हुन्छ’ उनले भने –‘धर्म र प्रविधिलाई फ्युजन गर्न लागेको हुँ ।’ अनलाइन संवादमा उनले आफू बर्षको अन्त्यतिर नागी आउन चाहेको बताए । ‘नागीले मेरो मुटु चोरेको छ’ उनले भने ।


प्रत्येकपटक नेपाल आउँदा ग्रामिण सञ्चारलाई फाइदा पुग्ने प्रविधिहरु ल्याउँछन् । नागीलाई आफूले ज्ञानको विश्वविद्यालयको रुपमा लिने पनि बताए । जीवनको अन्तिम क्षणसम्म ग्रामिणसूचना क्षेत्रमा प्रयत्नशिल रहने उनको प्रतिवद्धता छ । हिमालपारीको जिल्ला मुस्ताङमा महावीरले विस्तार गरेको बेतारे सञ्जालको इन्टरनेट सेवामा पनि पिटर्सनले सहयोग गरेका छन् । यसका लागि उनले छोटो, छरितो र विश्वासिलो प्रविधिको अध्ययन गरिरहेका छन् । महावीरले गुरु मान्ने गरेका पिटर्सन आफू भने महावीरलाई म्याग्दीले जन्माएको सपूतको रुपमा लिन्छन् । ‘महावीरले म्याग्दीमात्र नभइ सिङ्गो नेपालभरी सूचनाप्रविधिको सञ्जाल विस्तार गर्ने कुरामा म विश्वस्त छु’ उनले भने । नागी यात्राताका उनले युवाहरुले सूचना क्रान्तिमा योगदान दिन सक्ने बताउँदै सूचनाप्रविधिबाट टाढा रहेका युवालाई पनि यसतर्फ आकर्षित हुन बाध्य पारेका थिए ।

महावीर सपना र पिटर्सन सपनामा भिन्नता छैन । नेपाली गाउँहरुलाई इन्टरनेटको सञ्जालमा बाँध्ने दुवैको सपनामा समानता छ । जोमसोममा हालै बेतारे सञ्जाल विस्तार गरेका महावीरका प्रशंसक बग्रेल्ती छन् त्यो भन्दा बढी पिटर्सन उनको पौरखको प्रशंसक हुन् । ‘अहिलेका युवा काठमाडौंबाट जिल्ला फर्किन चाहँदैनन्’ पिटर्सनले यथार्थ खोतले –‘यस्तो बेला अमेरिकाको नेव्रास्कामा लेक्चरको जागिर छोडी यो विकट गाउँमा आएर पहाडसँग पैठेजोरी खेल्ने चानचुने होइन ।’ महावीर स्वयम पिटर्सनलाई आफ्नो सफलताको अंशियार ठान्छन र सफलताको श्रेय दिन्छन् । ‘मैले गर्ने सबै काम उनका सल्लाह र निर्देशन हुन्’ महावीरले प्रष्टाए ।



तीनताक नागीमा सञ्जाल विस्तार गर्दा उनले महावीरलाई उपकरण ओसार्नेदेखि टावर स्थापना गर्नेसम्म सघाए । त्यसयता कालीगण्डकीमा धेरै पानी बगिसक्यो तर यी दुइको आइटी सहयात्रा अझै बग्दैछ । दुर्गम गाउँहरुलाई आधुनिक विश्वसँग साक्षात्कार गराउन मरिमेटेका यी जोडी बाँदर हामफाल्ने भीरहरुमा, स्याल दगुर्ने मकैबारीमा, चिसो सिरेठो चल्ने हिमाली सल्लाको एकलासका वनहरुमा डिजीटल समाज बुन्दैछन् । उनीहरुको मिहेनतले सिर्र्जीएको विकासले गाउँलेहरुका आनीबानी र गराइहरु प्रविधिकृत भएका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete