Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, January 31, 2013

बिहे नगर्ने तर सँगै बस्ने


रमेशकुमार
३१ जनवरी, २०१३


पत्रकार निर्मल थापा र श्रृष्टि श्रेष्ठ सँगै बस्न थालेको दुई वर्ष कट्यो । औपचारकि रूपमा विवाह गरेका छैनन् उनीहरूले । तर, श्रीमान्-श्रीमतीजस्तै सहज र उदार जीवनशैलीमा छन् । भन्छन्, "सँगै बस्न विवाह गर्नैपर्छ भन्ने छैन ।" ज्ञानकुञ्ज श्रेष्ठ र सुशीला तामाङको जोडी पनि निर्मल र श्रृष्टिकै जस्तो हो, जो अध्ययनका लागि नुवाकोटको गाउँले परिवेशबाट काठमाडौँ झरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसका यी विद्यार्थी अहिले बिनाविवाह दाम्पत्य जीवन बिताइरहेका छन् । मानव अधिकारकर्मी नूतन थपलिया पनि लामो समयदेखि 'लिभिङ् टुगेदर'को अभ्यास गर्नेमध्येका एक हुन् । तर, उनी सम्बन्धको आधार प्रस्ट हुनुपर्नेमा जोड दिन्छन् ।

बिनाविवाह वयस्क जोडीहरू एकसाथ बस्न थालेका प्रतिनिधि उदाहरणहरू हुन् यी । खासगरी काठमाडौँ उपत्यकामा छ्याप्छ्याप्ती देख्न सकिने यस्ता जोडीहरू सार्वजनिक हुने सवालमा पनि निडर हुन थालेका छन् । नेपाली संस्कृति, परम्परा र कानुनी हिसाबबाट भने यसलाई वैध सम्बन्ध मानिँदैन । पश्चिमी समाजमा विवाह नगरी सँगै बसेर छोराछोरीसमेत हुर्काउने चलन नयाँ होइन । सायद तन्नेरीहरू यसैको सिको गर्न थालेका छन् । यस्तो चलनले पछिल्लो पुस्तालाई आकषिर्त गररिहेको पनि 


तस्बिर हेरेकै भरमा अथवा अभिभावकले चाहैकै आधारमा विवाह गर्ने नेपाली समाजको परम्परा अव्यावहारकि मान्नेहरू खुलमखुला रूपमा देखिन थालेको उदाहरण पनि हुन् लिभिङ् टुगेदरको अभ्यास गर्नेहरू । मागीको साटो प्रेमविवाह एवं विवाहका अन्य स्वरूपको वकालत गर्नेहरू भेट्न टाढा जानु पर्दैन । कतिपय समाजशास्त्रीहरू नेपाली समाज यतिबेला परम्परा र आधुनिकताको दोसाँधमा उभिएको बताउँछन् । उनीहरूका मतमा परविर्तनका संकेतहरू देखिँदैछन्, चेतना विकास वा जीवनशैलीका नाममा । उनीहरू नेपाली समाज उत्तरआधुनिक बन्दै गएको तर्क गर्छन् । भर्खरै एउटा अभूतपूर्व राजनीतिक परविर्तनलाई आत्मसात् गरेको यो समाज सामाजिक र सांस्कृतिक आयामका हिसाबले पनि गति लिइरहेको छ । समाजले विचार र चेतनाको बहुलता स्वीकार्दै गर्दा पुराना मान्यता र प्रचलनहरू धराशयी हुँदै गएका छन् । यौन र विवाहले पनि नयाँ आयाम ग्रहण गर्दैछ । खास गरेर काठमाडौँमा हुर्कंदो 'लिभिङ् टुगेदर कल्चर'ले यसकै पुष्टि गर्छ ।

विवाहको परम्परागत सोच कमजोर हुँदै जाँदा यौनको परभिाषा पनि स्वतः फराकिलो र उदार बन्दै गएको छ । समाजशास्त्री सुरेश ढकाल यसलाई पुँजीवादउन्मुख समाज परविर्तन भन्छन् । उनको विचारमा यो समाज फराकिलो बन्दै गएको मात्र होइन, व्यापक आयाममा खुल्न थालेको पनि हो । भन्छन्, "विवाहको सामन्तवादी मूल्य र मान्यता भत्केर नयाँ प्रवृत्ति देखिन थालेको हो ।"

सहरमा परिवारबाट टाढा र स्वतन्त्र वातावरण हुने भएकाले पनि उमेर पुगेका केटाकेटीबीच लिभिङ् टुगेदर कल्चर फस्टाएको हो । यसमा मनमौजी जीवनको आकर्षण पनि जोडिएको छ । हुन पनि विवाह नगरी सँगै बस्नेमा धेरैजसो उपत्यकाबाहिरबाट आएका युवाहरू नै छन् । परिवारबाट टाढा रहेका उनीहरू मन मिलेपछि सँगै बस्न थालेका हुन् । यसमा पनि आर्थिक रूपमा घर-परिवारप्रतिको निर्भरता हट्दै जाँदा युवाहरू यतापट्टी बढी आकषिर्त भएका छन् । ज्ञानकुञ्ज र सुशीलाको जोडी यसको उदाहरण हो ।

विवाह नगरी सँगै बस्ने केटाकेटीहरूमा अधिकांश घर-परिवारबाट टाढा रहेका र पैत्रिक सम्पत्तिमा निर्भर नभएकाहरू भेटिन्छन् । त्यसकारण यो चलन आर्थिक स्वतन्त्रता र उत्पादन प्रणालीसँग पनि जोडिएको छ । त्यसो त परम्परागत संस्कृति कमजोर हुँदै जाँदा त्यसको ठाउँ नयाँ संस्कारले लिन्छ नै ।

आर्थिक रूपमा स्वतन्त्र भएपछि व्यक्तिले आफूखुसीको जीवनशैली खोज्न थाल्छ । खासगरी अस्ट्रेलिया, युरोप र अमेरिका पढ्न जाने नेपाली विद्यार्थीहरूले लिभिङ् कल्चरलाई निकै अघिबाट अँगालिसकेका छन् । उता भएकामध्ये अधिकांश नेपाली केटाकेटी सँगै बसिरहेको कुरा उनीहरूसँगको कुराकानीमा खुल्न आउँछ । जस्तो- यतिबेला नेपाल आएका आगत बस्नेत दुई वर्षदेखि अस्टे्रलियामा एक नेपाली चेलीसँगै जीवन गुजाररिहेका छन् । उनका अनुसार त्यहाँ लिभिङ् टुगेदर रहर र बाध्यता दुवै हो । भन्छन्, "सायद नेपाली समाजले यही सुनेर पनि लिभिङ् टुगेदर कल्चर सिकेको हो ।"

यसलाई स्वच्छन्द जीवनशैली अपनाएका सेलिबि्रटीहरूले पनि विस्तार गररिहेको पाइन्छ । त्यसो त जुनसुकै प्रभावले होस्, नेपाली समाजमा यस्तो जीवनशैलीले पारिवारिक सम्बन्धलाई भने सन्तुलित बनाउन सकेको छैन । ज्ञानकुञ्ज र सुशीलाको परिवारले उनीहरूको सम्बन्धलाई कत्ति पनि सहज मानेको छैन । तर, निर्मल भने आफूहरूको सम्बन्धबाट परविार बेखुसी नरहेको दाबी गर्छन् । उनका अनुसार सृष्टिसँगको गहिरो प्रेम, संगत र साझा दृष्टिकोण परिवारले पनि बुझेको छ । त्यसो त उनी यसलाई विवाहकै सुरुवात मान्छन् । तर, सबैको हकमा भने यो लागू हुँदैन ।

निर्मलका अनुसार आफूले जे विकास गर्‍यो, त्यही नै संस्कार हुन्छ । त्यसकारण फराकिलो दृष्टिकोण राख्दा लिभिङ् टुगेदर संस्कृति गलत हुन्छ भन्ने छैन । विवाह नहुँदै सँगै बसेको चाहिँ समाजले पचाएको छैन भन्ने कुरा उनलाई राम्रैसँग थाहा छ । यद्यपि, नयाँ पुस्ताले भने यसलाई सहजै स्वीकार गरेको जस्तो उनलाई लाग्छ । भन्छन्, "तर, यसलाई सहज मान्नेहरूको संख्या बढ्दैछ किनभने नयाँ पुस्ता संकुचित छैन ।" नूतन थपलियाका अनुसार चाहिँ सबै सम्बन्धलाई कानुनले मात्र जोगाएर राख्छ भन्ने छैन । तर, सम्बन्धको आधारचाहिँ प्रस्टिनु पर्छ ।

लिभिङ् टुगेदर संस्कृतिको एउटा तथ्य के हो भने यसमा कानुनी, सामाजिक, धार्मिक बन्धन हुँदैन, जसले गर्दा यस्तो सम्बन्ध जति छिटो बन्छ, उत्तिकै चाँडो भत्कन पनि सक्छ । काठमाडौँमा पनि कति मानिस यस्ता छन्, जो यस्तो सम्बन्ध बिग्रेपछि अर्को विवाह गरेर बसेका छन् । कतिपयको भने जीवन बिल्लीबाँठसमेत भएको देख्न सकिन्छ । सामाजिक संस्कार, संरचना र कानुनका कारण यस्तो सम्बन्धमा पुरुषभन्दा महिला धेरै समस्यामा परेका छन् ।

भिन्न कोठा, भान्सा र अन्य खर्चका मुहानमा ५० प्रतिशतसम्म मितव्ययी बन्न सकिने सँगै बस्दाको एउटा आकर्षण हो । मन मिल्ने मित्रको प्राप्ति अर्को कारण मान्न सकिन्छ । यौनको सवालमा गुम्सिएर बस्नु नपर्ने तेस्रो तथा मूल कारण हो । यति भएर पनि कानुनी रूपमा मुक्त हुन पाउनु अल्लारे सोच नै सही कम मजा होइन । सँगै बसिरहेका जोडी यी आकर्षणलाई आत्मसात् गर्छन् । विवाहलाई बन्धन मान्ने सवालमा उनीहरू पूर्ण सहमत छन् ।

चरत्रिको कसी के हो ? यौन । वास्तवमा यौनको सवालमा समाज अझै संकुचित र परम्परावादी छ । त्यसैले चरत्रिको पहिलो जाँच यौनको लेखाजोखाबाट गरिन्छ  र गरिदै आइएको छ । लिभिङ् टुगेदरमा रमाउनेहरू पनि यो सवालमा डराउँछन् । त्यसैको प्रमाण हो, आफूले बाँच्दै आएको जीवनलाई सुतुरमुर्ग शैलीमा छोप्न खोज्नु ।

ढिलै भए पनि सम्बन्धलाई विवाहमा परिणत गर्नु वा छुट्टिएर बस्नु, लिभिङ् टुगेदरका पात्रहरूले यी मध्येकै एउटा बाटो हिँड्नु अनिवार्यजस्तै छ अहिलेलाई । भेटिएकाहरूको निष्कर्ष पनि यस्तै नै छ । यसका नकारात्मक पक्ष पनि धेरै छन् । तर, उनीहरू त्यस्ता विषयहरूमा प्रवेश चाहँदैनन् । किन पनि भने उनीहरू त्यो सत्यबोधबाट टाढा छैनन् । तस्विर : शुक्रबार साप्ताहिक

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete