Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, January 18, 2013

वर्ष २०१३ का उत्कृष्ट दस फिल्म : नेपाल, हलिउड र बलिउड


विष्णु शर्मा
जनवरी १९, २०१३

विश्व फिल्मका लागि सुखद रहेन वर्ष २०१२ । देहसुखका कथामै अलमलियो नेपाल । संसार अन्त्यका कथा बेच्ने विक्रेता बन्यो हलिउड । दामिनी बलात्कारको पीडाले चिमोटिन सकेन बलिउड । दिमागशुन्य फिल्म उत्पादन गर्ने कारखाना बन्यो ऊ । आर्थिक संकटमै खुम्चिए युरोपियन फिल्म । फेस्टिभलमै अल्झियो ल्याटिन अमेरिका र ‘कस्मोपोलिटन’ श्रृङ्गारमा ब्यस्त रह्यो एसिया । विश्व फिल्मको यो शब्दचित्रले वर्ष २०१३ को पानी चित्र बुझ्न मद्दत गर्छ ।

विश्व शक्ति सन्तुलनजस्तै फिल्म पनि नयाँवर्षमा चरम संक्रमणबाट गुज्रनेछ । यसो हुनुमा ती देशभित्रको आर्थिक, सामाजिक र सांस्कृतिक कारण प्रमुख हुनेछन् । विश्व शक्तिको रुपमा स्पेस खोजिरहेको बलिउड युनिभर्सल यात्रामा निस्कने छ । अमेरिकी ‘सफ्ट पावर’ हलिउड बजार खोज्दै एसिया छिर्नेछ । अबको हलिउडी चम्किला पर्दामा एसिया प्रतिविम्वन हुनेछ । कथा भन्ने शैलीमा काठमाडौंको तन्नेरी पुस्ताले नयाँ प्रयोग गर्नेछ ।
प्रयोगको थालनी चाहिँ ‘सुनगाभा’ प्रदर्शनबाट सुरु भएको छ । फिल्म र समाजलाई जोड्ने सेतुको रुपमा लिइएको चलचित्रलाई अमेरिकी अनलाइन पत्रिका हफिङ्टन पोस्टले असी दशकको फिल्म ‘ब्रोकब्याक माउन्टेन’सँग तौलिएको छ । ‘बधशाला’जस्ता राजनीतिक ड्रामा यही वर्ष रिलिज हुनेछन् । दशक लामो सशष्त्र द्वन्द्वको पीडा नमेटिएको र मानवअधिकार उल्लंघन अभियोगमा लन्डनमा पक्राउ परेका सैनिक कर्णेल प्रकरणको छेकोमा रिलिज हुने ‘बधशाला’ले सत्ता संचालनका सारथीलाई दवाव दिने अपेक्षा गरिएको छ । शुक्रबारले वर्ष २०१३ का हेर्नलायक नेपाली, बलिउड र हलिउडका उत्कृष्ट १० फिल्मको सूचि एजेन्सीको सहयोगमा प्रस्तुत गरेको छ । 

नेपाल

१) दिमाग खराब : ब्लकबस्टर घरेलु फिल्म ‘लुट’ निर्माण र निर्देशन गरेका निश्चल बस्नेतको यो दोस्रो प्रोजेक्ट वर्ष २०१३ मै रिलिज हुनेछ । वर्षकै सर्वाधिक आशा गरिएको फिल्मले ‘कन्फ्युज’ नेपाली समाजको कथा भन्छ । सौगात मल्ल र दयाहाङ राई फिल्मका मुख्य अभिनेताद्धय हुन् । ‘लुट’को सिक्वेल निर्माण भने अन्यौलमा छ । 

२) बधशाला : फागुन २५ मा रिलिज हुने फिल्म मनोज पण्डित निर्देशित फिल्मले माओवादी सशष्त्र द्वन्द्वताका सरकारी सेनाले विद्रोहीलाई कब्जामा लिएर गरेको गैरन्यायिक हत्या, जबर्जस्ती यातना र पीडा पेश गर्छ । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा मुख्य भूमिकामा छन् ।

३) भिजिलान्ते थ्रीडी : दीपेन्द्र के. खनाल निर्देशित फिल्मले राजनीतिक संक्रमणकालमा हुने बेथिती र वैदेशिक रोजगारीका क्रममा हुने समस्यालाई चित्रण गरेको छ । मुलुककै पहिलोपटक थ्रीडी प्रविधिमा निर्माण गरिएको भनिएको फिल्ममा सुवास थापा, राज घिमिरे र प्रियंका कार्कीले अभिनय गरेका छन् ।

४) सुनगाभा : ‘हिउँका फूलहरू’ बदलेर ‘सुनगाभा’ नामाकरण गरिएको सुवर्ण थापा निर्देशित फिल्ममा दिया मास्के र निशा अधिकारीले महिला समलिंगी पात्रको भूमिका खेलेका छन् । सौगात मल्ल र बसुन्धरा भुषाल पनि छन् । बदलिँदो नेपाली समाजको गतिमा समलिंगी कथालाई पहिलोपटक फिल्मको पर्दामा चित्रण गरिएको हो ।

५) मिसन पैसा रिलोडेड : चर्चित ‘मिसन पैसा’को सिक्वेललाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । निशा अधिकारी, रेश मरहठ्ठा र आमिर गौतम अभिनित फिल्मले कर्पोरेट गुन्डागर्दी र डनगिरी विषयवस्तु पस्किएको छ । फिल्ममा अभिनेत्री अधिकारीले एक्सन दृश्य दिएकी छन् । 

६) मेरो बेस्ट फ्रेन्ड : प्रियंका कार्की डेब्यु फिल्मलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । फागुनमा रिलिज हुने फिल्ममा रेश मरहठ्ठाको पनि अभिनय छ । प्रेमकथामा बनेको फिल्म प्रसन्नको ‘स्वर’पछि निर्देशित दोस्रो फिल्म हो । 

७) छड्के : निगम श्रेष्ठले निर्देशन गरेको फिल्मलाई ‘लुट’ निर्माता नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । ग्याङस्टर श्रेणीको फिल्ममा सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, रविन तामाङ लगायतको अभिनय छ । अभिनेत्री श्रेष्ठको करियरका लागि ‘छड्के’ अर्थपूर्ण हुने ठानिएको छ । फागुन ११ रिलिज मिति हो ।

८) कलिउड : सानो पर्दाबाट ठूलोमा डेब्यु गरेका निर्देशक नवराज आचार्यको यो पहिलो फिल्म हो । आर्यन सिग्देल, प्रियंका कार्की र पायल थापा अभिनित फिल्मले नेपाली चलचित्रमा हिरोइनको संघर्ष र कथालाई विषय बनाएको छ । माघ ५ मा रिलिज हुने फिल्म कतारबाट प्रिमियर हुनेछ ।

९) कर्कश : पहिलोपटक फिल्म निर्देशन थालेका गायक आसिफ साह निर्देशित फिल्मले प्रेमकै कथा भन्छ । भिजे सुरजसिंह ठकुरी पहिलोपटक अभिनेताका रुपमा देखिनेछन् । ‘आचार्य’ अभिनेता सत्यराज आचार्य र रागिनी खड्गीको पनि अभिनय छ । 

१०) हमेशा : लोकप्रिय नेपाली फिल्म ब्यानर रेखा फिल्म निर्मित चलचित्र चैत ३० मा रिलिज हुनेछ । सविर श्रेष्ठ निर्देशित फिल्ममा सविन श्रेष्ठ र रेखा थापाको अनस्क्रिन जोडी छ । नेपाली चलचित्रमा हिट फिल्म दिएको रेखा ब्यानरका अधिकांश फिल्म प्रायः नेपाली नयाँवर्ष र दसैंमा रिलिज हुने गर्छन् ।

बलिउड

वर्ष २०१२ मा १२ सय विलियन दर्शक कमाएर बलिउडले हलिउडलाई पनि उछिन्यो । आउँदो मार्च ३ मा भारतीय फिल्म उद्योगले एकसयौं वर्षगाँठ मनाउँदैछ । समीक्षकहरूले गुणस्तरको आधारमा वर्ष २०१२ लाई बलिउडको कमजोर वर्षको रुपमा टिप्पणी गरेका छन् । वर्ष २०१३ मा हेर्न लायक बलिउडी टपटेन :

१) सुट आउट एट् वाड्ला : २००७ को फिल्मको सिक्वेल भनिएको यो चलचित्र मे १ मा रिलिज हुँदैछ । जोन अब्राहम मुख्य भूमिकामा रहेको फिल्मले ग्याङस्टर माया सर्भसँग पुलिस इन–काउन्टरको कथा भन्छ । यो एक्सन फिल्म हो ।

२) कृस ३: २००६ को बलिउड सुपरहिरोको फिल्ममा हृतिक रोशन, प्रियंका चोपडा, कंगना रनावतको मुख्य भूमिका छ । आउँदो दिपावलीमा रिलिज हुने फिल्मलाई हलिउडका सुपरहिरो मनपार्ने दर्शक र बालदर्शकले रुचाउने आशा गरिएको छ । 

३) मर्डर ३: फिल्म ‘मर्डर’को यो तेस्रो सिक्वेल हो । रणदीप होडा, आदिती राव र सारा लोरेन अभिनित फिल्म क्राइम र रोमान्टिक श्रेणीको हो । 

४) वन्स अपन अ टाइम इन मुम्बई २ ःसोयव खान अर्थात दाउद इब्राहिमको भूमिकामा यसअघि खेलेका अजय देवगनलाई यो सिक्वेलमा अक्षय कुमारले रिप्लेस गरेका छन् । सोनाक्षी सिन्हा, सोनाली बेन्द्रे अभिनित फिल्मले मुम्बई अन्डरवल्र्डको कथा भन्छ । आउँदो इदमा फिल्म रिलिज हुँदैछ ।

५) धुम ३ : आमिर खानले पहिलोपटक यसमा भिलियनको भूमिका निर्वाह गरेका छन् । उदय चोपडा र अभिषेक बच्चनलाई पनि देख्न पाइनेछ । आमिरको जोडीको रुपमा अहिलेकी सफल अभिनेत्री कट्रिना क्याफ देखापर्नेछिन् । ‘गजनी’पछि आमिर एक्सन रोलमा देखिन लागेका हुन् ।

६) ए जवानी है दिवानी : व्रेकअपपछि पहिलोपटक सँगै देखिन लागेका रणवीर कपुर र दीपिका पादुकोण अभिनित यो फिल्मलाई लिएर चर्चा र चासो दुवै छ । एकपछि अर्को हिट आर्टस् फिल्म दिइरहेका रणवीर लामो समयपछि रोमान्टिक फिल्ममा फर्किएका छन् । दुवैजना सँगै दोस्रोपटक देखिन लागेका हुन् । नसिर हुसेन निर्देशित फिल्म मे ३१ मा रिलिज हुनेछ ।

७) रागिनी एमएमएस २ : एकता कपुर निर्मित सन् २०११ को फिल्मको यो सिक्वेलमा पोर्नस्टार सन्नी लियोनी मुख्य भूमिकामा छन् । ११ अक्टोवरमा रिलिज हुने फिल्म मोबाइल एमएमएसले पैदा गर्ने परिस्थिती वरिपरि घुमेको छ । सन्नीको ‘जिस्म २’ पछि दोस्रो हिन्दी फिल्म हो । 

८) रेस २ : जोन अव्राहम, सैफअलि खान, दीपिका पादुकोण, ज्याकलिन फर्नान्डेज अभिनित यो फिल्म सन् २००८ को हिट ‘रेस’को दोस्रो भाग हो । २५ जनवरीमा रिलिज हुने फिल्म चर्चामा छ । 

९) कामसूत्र थ्रीडी : सेरलिन चोपडा अभिनित फिल्मले मे १६ मा प्रदर्शन आरम्भ गर्दैछ । ‘दील बोले हडिप्पा’मा केमियो रोल गरेकी सेरलिनको यो दोस्रो फिल्म हो । सेक्स विषयवस्तुमा बनेको फिल्म यसको शीर्षकलाई लिएर चर्चामा छ । 

१०) मात्रुकी विज्लीका मन्डोला ः विशाल भारद्धाज निर्देशित यो फिल्म कमेडी ड्रामा श्रेणीको हो । इमरान खान र अनुष्का शर्मा अभिनित फिल्म जनवरी ११ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ । 

हलिउड

वर्ष २०१२ मा हलिउडको कूल आम्दानी १०.८ विलियन डलर रह्यो । युरोपमा बनेका अँग्रेजी भाषी फिल्मलाई पनि हलिउडमै समावेश गरिएकाले वर्ष २०१३ मा अमेरिकी फिल्म उद्योगका उत्पादन हेर्न लायक हुने अपेक्षा गरिएको छ । ठूलो बजेट र गजबका प्रविधिले हलिउड फिल्मलाई संसारभर प्रिय बनाउने गरेका छन् । नयाँ वर्षका टपटेन हलिउड रिलिज यस्ता छन् । 



१) अमोर : फ्रान्सेली निर्देशक माइकल हेनेकीको फिल्म ‘अमोर’को अर्थ ‘प्रेम’ हुन्छ । फिल्ममा देख्न नपाइने पात्रको कथा यसमा छ । मृत्यु पर्खेर बसेको दम्पतीको कथा फिल्मले भन्छ । दुःखलाग्दो मृत्युलाई कसरी कलात्मक तुल्याउन सकिन्छ भन्ने फिल्मले देखाउँछ । 

२) लिङ्कन : स्टिवन स्पिलवर्ग निर्देशित फिल्ममा अमेरिकामा महान मानिने १६ औं राष्ट्रपति अव्राहक लिंकनको अन्तिम वर्षको समयलाई चित्रण गरिएको छ । लिंकनको भूमिकामा देखिएका डेनियस डे लेविसलाई प्रसिद्ध टाइम म्यागजिनले संसारकै महान अभिनेता भन्दै कभर स्टोरी लेखेको थियो । 

३) विस्ट्स अफ दी साउर्थन विल्ड ः सानो नाटकबाट लिइएको यो फिल्मले सानी केटीको कथा पेश गर्छ । वेन्ह जेट्लिनले निर्देशन गरेको फिल्ममा ठूलो आँधीबेहेरी आउनुअघिको र आइसकेपछिको एउटा समुदायको कथालाई देखाएको छ । 

४) फुटनोट : इजरायली फिल्म ‘फुटनोट’ यो वर्षको ओस्कर अवार्डमा विदेशी भाषाको विधामा उत्कृष्ट ९ मा परेको छ । त्यहाँको साइन्स एन्ड हयुमानिटीज् एकेडेमीमा काम गर्ने बाबु र छोरा रिसर्चरको कथा यसमा छ । जोसेफ सेडर निर्देशित फिल्मलाई छोरालाई दिने भनेर निर्णय गरिएको एकेडेमीको पुरस्कार बाबुलाई दिने भनेर गल्तीवश सुनाइएपछि उत्पन्न हुने परिस्थिती ल्याउने ‘ब्ल्याक कमेडी’मा आधारित छ । 

५) द मास्टर : पाउल थोमस एन्डरसन् निर्देशित यो फिल्मले दोस्रो विश्वयुद्ध लडेको एकजना पूर्व अमेरिकी सैनिकको कथा देखाएको छ । युद्धले बिथोलिएको मनलाई शान्त पार्ने प्रयास र दार्शनिक समूहले त्यसका लागि गरेको प्रयत्न फिल्मको कथानक हो । 

६) जिरो डार्क थर्टी : गतवर्षको ओस्कर अवार्ड विजेता फिल्म ‘हर्ट लकर’ निर्देशक क्याथरिन विगेलो निर्देशित फिल्ममा सेप्टेम्बर ११ को आक्रमणपछि ओसामाविन लादेन पक्रेर मार्न अमेरिकाले गरेको प्रयत्न छ । सेना, सीआइए र सिभिलियन सबैको कथा भनिएको छ । यो फिल्म यतिबेला सर्वाधिक चर्चामा छ । अमेरिकी रक्षा विभाग पेन्टागनले निर्देशकसँग फिल्मबारे स्पष्टीकरण लिएको थियो । 

७) डिज्यांगो अनचेन्ड : क्वान्टेन टोरन्टिनो निर्देशित फिल्ममा लियोनार्दो डी क्याप्रियो, जेमी फक्स, क्रिस्टोफ वाल्ट्ज र स्यामुअल ज्याक्सनले अभिनय गरेका छन् । हलिउडका यी चार स्टारले पहिलोपटक एउटै फ्रेममा खेलेका हुन् । वेस्टन जनराको फिल्ममा निर्देशकले आफ्नो अघिल्लो फिल्म ‘इनग्लोरियस बास्टर्ड’कै शैलीलाई उग्ररुपमा पेश गरेका छन् । 

८) गुडबाई फस्टलभ: मिया हानसेन निर्देशित फिल्ममा पेरिस सहरका दुई युवाको प्रेमकथा समेटिएको छ । अन्य सम्बन्धमा लागिसकेको आठवर्षपछि यी दुई प्रेमीप्रेमिका भेट हुन्छन् । त्यसपछि के हुन्छ ? त्यो जान्न फिल्म हेर्नु जरुरी छ । 

९) नेवरिङ साउन्ड्स : केल्वर मेन्डोन्का ब्राजिलका पूर्व फिल्म समीक्षक पनि हुन् । फिल्मले ब्राजिलको एउटा ठूलो अपार्टमेन्ट कम्प्लेक्सको दैनिक जीवनको एउटा कथा देखाउँछ । कथासँगै फिल्मले सामन्तवाद अहिलेपनि कसरी अस्तित्वमा छ भन्ने देखाउँछ । 

१०) द ग्रे : अमेरिकाको अलास्कामा एउटा दुर्घटनामा परेर हिउँको क्षेत्रमा फसेका मानिसको संघर्षको कथालाई चित्रण गरिएको छ । ब्वाँसा, चिसो र कम खानाको बीच मुख्य पात्रले जीवन संघर्षको लडाई लडेका छन् । जोई कारन्हानले फिल्म निर्देशन गरेका हुन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete