Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, January 20, 2013

ओ ! लोमान्थाङ (मेरो पहिलो मुस्ताङ घुमघाम)

विष्णु शर्मा
जनवरी २०, २०१३


लोमान्थाङका तन्नेरी ङिमाठिने गुरुङका हिमाली घोडाहरु अब देख्नपाइने छैनन् । चैलेको नाकै ठोकिने उकालोमा देखिने घोडाको क्याराभान इतिहास बनिसक्यो । उनका हिमाली खच्चरहरु हिमालवारी झरिसके अर्थात बेचिइसके । घिलीङे अधबैंशे फुट्टी गुरुङका खच्चरहरु पनि अब अक्सिजनविहीन छुङकरको उकालोमा देख्न पाइने छैन । छ्यासमिसे बिकासे बाटाहरुले लौठ सल्लाको काठ बोकेर गन्तब्यमा हानिदैं गरेका भरियाहरु पनि नजरमा पर्ने छैनन् । घोडा र खच्चरका धनी कागबेनीका धारा गुरुङसग अब मोटर मात्र देख्न पाइनेछ । अब हिमालपारिको यो सडकमा मोटर बत्तिदैं गरेका दृश्यहरु नियमीत लाग्छन् । एकलासका यी मरुभूमी पहाडहरुमा अब तीनताकको गुल्जार विस्तारै निख्रीदैं छ ।



भर्खरै हिमालपारिको यो ठाउमा विकास पसेको छ । जोमसोमदेखि–तिब्बतको कोरला नाका खन्न ब्यस्त टिपर र डोजरको आवाजले हिमाली सन्नाटा चिर्नेछ । ‘हामी छ्यासमिसे भएका छौं, विकासे बाटाहरु बाडिएका छन्’ लोमान्थाङका झेवाङ विष्ट भन्छन् –‘विकास बाडिएपछि पहिलेभन्दा असहज र बेटु“गे बनेका छौं ।’ अहिले जोमसोमदेखि छुसाङको चैलेसम्म कालीगण्डकीको तिरैतिर सवारी यात्रा गर्न पाइन्छ । तिब्बत नाकादेखि घमीको छुङकरसम्म ट्रयाक्टर यात्राले पर्यटकस“ग नमिठो साइनो गा“सेको हुन्छ । उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला मार्गले जिल्लाबासी चिन्तित छन् । विकासस“गै चिन्ताले यी हिमाल पारिका रैथानेहरुलाई सताएको छ । ‘हाम्रो विशेषता पर्यटन हो, गाडी गुड्न लाग्यो भने हाम्रो के अस्तित्व रह्यो र ? स्थानिय ज्ञानेन्द्र विष्ट आपत्ती ब्यक्त गर्छन् ।

कागबेनीका धारा गुरुङले आफूसग भएका एकदर्जन घोडा बेचेर मोटरसाइकल किने । कारण –छिमेकी को सिको । अर्थात उत्तरआधुनिक मुस्ताङी उपलब्ध घोडा र खच्चर बेचेर सवारी साधन किन्दैछन् । कागबेनीका ३५ जनाले मात्र यसपाली घोडा बेचेर मोटरसाइकल किने । जीवनका ३७ हिउ“दको सिरेठो खेपेका यी तन्नेरी उत्तराद्र्धमा निकै पुलकित छन् प्रविधिको आविष्कार उपभोग गर्न पाएकोमा । ‘घोडाले गर्ने काम सबै मोटरसाइकलले गर्छ’ व्यवहारिक शैलीमा उनले निहीतार्थ प्रष्टाए –‘घोडालाई दाना, मोटरसाइकललाई पेट्रोल ।’ तीनताक घोडा, भेडा र च्याङग्रा घरको सम्पन्नता नाप्ने आधार थियो । ‘अहिले त्यो आधार भत्किएर मोटरसाइकल, जीप र ट्रयाक्टर बनेको छ’ स्थानिय विकासे कार्यकर्ता तारा गुरुङ भन्छिन् –‘तर, उतिसारो घोडामा जति पर्यटक सवारी साधनमा चढ्न मरिहत्ते गर्दैनन् ।’ मोटरबाटोले आफ्नो होटल व्यवसायमा मन्दी सिर्र्जीएकोमा व्यवसायी चिन्तित छन् ।


‘त्यो समय जुन बेला भेडाच्यांग्रालाई भारी बोकाउने संस्कृति थियो, मान्छेहरु हेर्न आउथे, दृश्यलाई तस्बिरमा समात्न पर्यटकको घुइचो लाग्थ्यो’ उपल्लो मुस्ताङका शिक्षक विनोद प्रधान अतित उधिन्छन् –‘याक र झोपालाई भारी बोकाउने गजबको परम्परा पर्यटक तान्ने कडी पनि बनेको थियो ।’ अहिले ती सबै संस्कृति सडकले उछालिदिएको छ । विकाससगैको विनाशले ल्याएको परिवर्तन अधिका“श मुस्ताङीलाई रुचिकर लागेको छैन । ‘पहिलेको मुस्ताङ सामाजिक सम्बन्धको मुस्ताङ थियो, मुल्यमान्यतामा आधारित थियो, अहिलेको मुस्ताङ प्रतिष्पर्धी र हतारो पोतिएको छ’ टुकुचेका मीर मुखिया इन्द्र तुलाचनको ठम्याइ छ, ‘गाउ“गाउ“मा गुञ्जाइस हुन्थ्यो, मेरै घरमा खान आउने पर्यटक र भरियाको मेलो लाग्थ्यो ।’ सडकले होटल ब्यवसाय धरापमा पर्न लागेको उनको चिन्ता छ । ‘जिल्लैभर आर्थिक मन्दी देखिएको छ’ तुलाचनको भनाई
थियो ।


आफ्नो बैंशका केही वर्ष उनले मुस्ताङमा सडक ल्याउनु हुन्न भन्ने आलोचना र अभियानमा खर्चे । यसका लागि उनी कहा मात्र पुगेनन् ? लोमान्थाङदेखि घासासम्मका धुप र पहाडहरु नापे । आकांक्षाले च्यापेको बुढो शरिर अहिले पनि मुस्ताङलाई ‘भर्जिन’ राख्नुपर्छ भन्ने अभियानमा अथक छ । पत्रपत्रिका र विकासे गोष्ठीहरुमा सडकले ल्याउने वातावरणीय प्रदुषणका विपक्षमा तुलाचनले बगे्रल्ती शब्दहरु खर्र्चिएका छन् । सायदै हिमालपारिको बहसमा उनले अघि सारेको बैकल्पिक पर्यटन पदमार्गको अवधारणा निकै चर्चित छ । स्याउखेती, चरन, पर्यटनका मुद्दाहरुमा उनले अघि सारेका प्रस्ताव हटकेक बनेका छन् कृषि र वातावरणीय क्षेत्रमा । ‘थकाली युवतीहरुसग ती रातहरुमा रोदी गाउदाका सम्झनाका झिल्काहरु ताजै छन्’ हिमालपारिका यी स्रष्टाको मष्तिष्कमा अतित फिल्मको रिलजस्तै घुमेको छ । यद्यपी जोमसोम–कोरला मार्गले मुस्ताङमा बढाउने आधुनिक प्रवृत्तिबारे उनी बेखबर छैनन् ।


जोमसोमदेखि लोमान्थाङसम्मको उत्ताल हिंडाइले पर्यटकहरुलाई जति विभोर तुल्याउछ त्यति नै मान्छे उडाउने हावासगै बहेको झोक्काले उनीहरुलाई नमज्जा तुल्याउ“छ । ‘मोटरबाटैमा ट्रेकिङ रुट पर्दाको पीडा र अब्यक्त दुःख मैले खेपेकी छु’ पंक्तिकारसग घमीको उकालोमा गफिएकी फ्रेन्च पर्यटक एन्ना डेभिडले भनिन् –‘सम्बद्ध निकायले विकल्प नखोजे पर्यटन व्यवसायमा ग्रहण लाग्नेछ ।’ एन्नाको हार्दिक सुझावसग सहमत छन् अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) का लोमान्थाङ प्रमुख नरेन्द्र लामा । ‘जोमसोम–कोरला (सीमा नाका) मोटरबाटोले पर्यटनमा पार्ने प्रभावलाई न्युनिकरण गर्नु आवश्यक छ’ लामाले विकल्प सुझाए, ‘यसका लागि हामीले वैकल्पिक पर्यटन पदमार्ग, नियन्त्रित किसीमको समूहगत पर्यटन र पर्यापर्यटनको अवधारणा अघि सारेका छौं ।’ एक्यापले यो वर्ष इसिमोडको सहयोगमा बैकल्पिक पदमार्गको खोजी गर्ने जनाएको छ । यसका लागि वातावरणीय अध्ययन भैसकेको छ ।

‘जुन किसीमको चार्मिङ थियो त्यो सबै सडकले कमजोर तुल्यायो’ उनले भने –‘एक्यापभित्रै बैकल्पिक पदमार्गको हामीले खोजी गरिरहेका छौं ।’ उनका अनुसार चैलेदेखि, घ्याकर, समर, घमी, ढाकमार, लोमान्थाङ, सुर्खाङ, दामोदरकुण्ड र छुक्साङ, कास्कीको घलेखर्क हुदै न्यूरीखर्क, सिक्लेस हुदै दूधपोखरा, नामुनभञ्ज्याङ, मनाङको चामे हुदै नार, फू, नाउललाई एक्यापले बैकल्पिक पदमार्गको रुपमा विकास गर्न चाहेको छ । ‘सबै किसीमको पूर्वाधारको विकास नभैसकेकाले यसका लागि समय लाग्छ’ लामाले भने, ‘जिबिसले पनि लगानी गर्ने भएको छ ।’ एक्यापको एक तथ्याङ्क अनुसार सन् २००१ देखि २००५ सम्म सङ्कलित मतसर्वेक्षणमा ७५ प्रतिशत पर्यटकले भू–बनोट र ट्रेकिङ सन्तुष्टिको आधार भएको बताएका थिए । ‘जे कुरा भनिएपनि हामीले पर्यटनको लाभ लिन सकेका छैनौं’ सीमावर्ती छोसेरका टासी गुरुङले भने –‘यसबाट हामीलाई बञ्चित गरिएको छ ।’

पर्यटनको लाभबाट हाइसञ्चो गरेका तल्लो र मध्य मुस्ताङको तुलनामा सीमावर्ती लोमान्थाङ–९, र छोसेरका बासिन्दाले यसबाट आफूहरु बञ्चित गरेको गुनासो दशकौंअघि हो । नियन्त्रित पर्यटनको मार खेपेका छोसेर र छोन्हुपबासी पर्यटनको लाभ लिनबाट चुकेका छन् । भन्छन् ‘राष्ट्रिय सुरक्षाको निहु“मा हामीलाई लाभ लिनबाट बञ्चित तुल्याइयो ।’ विदेशी पर्यटक यी सीमावर्ती दुई गाविसमा ‘नाइटस्टे’ गर्न पाउदैनन् । १९३० को खम्पा विद्रोहपछि सरकारले सुरक्षाको कारण दर्शाउदै ती गाविसमा विदेशी पर्यटकलाई त्यस्तो अनुमती दिएको छैन । उपल्लो मुस्ताङ भ्रमण गर्न पर्यटकले दैनिक ५० डलर शुल्क तिर्नुपर्छ । ‘राजनीतिक रुपमा संबेदनशिल, सांस्कृतिक सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको सीमितता नै उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र घोषणा गर्नुका कारण हुन्’ लामाले जनाए ।



‘कोवाङ, टुकुचे र मार्फाको सौकत हराउदैछ’ पहिलोपटक हिमालपारि हानिएका पत्रकार देवेन्द्र भट्टराई भन्छन् –‘सडकले यी ठाउको गुल्जार खोस्यो ।’ रिपोर्टिङमा उनले पर्यटकको हृदय छामे । सडकले त्यहा ल्याएको विकास र विनाशको परिवर्तन छामे र पर्यटन लाभबाट बञ्चित छोसेरबासीको आहत नापे । अनि के भयो त ? कालीगण्डकी तिरैतिर घोडामा उबडखाबड यात्रा नापेका भट्टराई सबै मामिलामा सडक जिम्मेवार ठान्छन् ।  हिमालपारिलाई सबैले आफ्ना आखामा भिन्न सम्भावना देखेका छन् । तीनजना विन्दास युवाहरुले हालै राजधानीदेखी जोमसोम हुदै लोमान्थाङसम्मको यात्रा तय गरे । ‘डाउनहिल दाम्मी छ’ तीमध्ये एक डेभिड योञ्जनले भने ‘हिमालपारि माउन्टेनबाइकको स्कोप कति छ भनेर बुझ्न आएका हौं ।’ मुक्तिनाथदेखि उनीहरुलाई लोमान्थाङ पुग्न चारदिन लागेछ । यी तीन युवा र मुस्ताङीको चिन्ता समान छ –सडक पुगेकाले मुस्ताङ विरासत र आफ्नोपन गुमाउदैछ । तर, माउन्टेनबाइकको अन्तराष्ट्रिय सम्भावना यहा रहेकोमा उनीहरुको बुझाइ थियो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete