Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, January 29, 2013

विदेश जाने कि ?

 विष्णु शर्मा
जनवरी ३०, २०१३


उनीसँग जिन्दगीमा दुइटा विकल्प थिए – व्यवसाय गर्ने कि बिदेश हानिने । तर, गुनासा होइन विकल्प सुझाउने उनको बानीले बिदेशलाई गौण ठम्यायो । कृषिमा नलागेको भए उनी यतिबेला खाडीमा श्रम बेचिरहेका हुन्थे । बागलुङ–टिपीचौरका तन्नेरी गङ्गा थापा अञ्चलकै अब्बल तरकारी कृषक दरिएका छन् । पैंयुथन्थापको थातथलो छोडेर कुस्मिसेरा हुँदै सदरमुकामको काँठवर्ती गाउँमा आइपुग्दा उनले थुपै्र दुःख पिए, त्यसयता छेवैको काँठेखोलामा धेरै पानी बगिसकेको छ । व्यवसायिक कृषक हुन उनले के मात्र गरेनन्,–विदेश जान घरको बेस्मारी दबाबलाई ललकारे । त्यो पैसालाई कृषिमा लगानी गरे । सुरुताका खेतीमा देखिएको विफलता सहे । द्धन्द्धमा गाउँबाट सदरमुकाम विस्थापित भए र त्यहीं व्यवसायीक कृषिको आन्दोलन थाले । यसबाट उनले सुखजिलो वाहीवाही पाएका छन् ।



सदरमुकामदेखी पन्ध्र मिनेट पैदल दूरीस्थित टिपीचौरको हरियो तरकारी नर्सरीमा तपाईंलाई स्वागत छ । २० रोपनी बढि क्षेत्रफल ओगटेको यो नर्सरी उर्फ व्यवसायीक तरकारी बगानले टाढैबाट गङ्गाको मिहेनतको चिनारी दिन्छ । त्यहाँ जानेले देख्नेछ, एउटा सुकिला मानिस भैंसी दुहेको, तरकारी बेर्ना स्याहारेको, करेसाबारी गोडेको । यी कृषक गङ्गा हुन भनेर स्याउ खाएजस्तै सजिलो छ चिन्न । उनले परिचय कामबाटै दिन थालेका छन् । सफलताको अंशियार श्रीमतीलाई ठान्छन् उनी । व्यवसायिक कृषकको अभियन्तामा उभ्यान श्रीमती लक्ष्मीको योगदान कम प्रशंसनिय छैन । स्थानिय महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी स्नातक दोस्रो वर्षमा अध्ययनरत २६ बर्षिया लक्ष्मीले श्रीमानको सफलताको टोपीमा प्वाँख थपेकी छन् । बहुमुखी परिचय छन् लक्ष्मीका– विद्यार्थी, कुशल गृहणी, कृषक, आमाका रुपमा । यी परिचयले गङ्गालाई व्यवसायिक कृषिको विकासमा हर्लक्क सघाएको छ ।

एसएलसीको औपचारिक शिक्षा पढेका उनले बारीमा लटरम्म काँक्रा, बन्दा, गोभी, गोलभेंडा, साग लगायत मौसमी र बेमौसमी ताजा तरकारी फलाएका छन् । आयातितमध्ये जिल्लामा ४० प्रतिशत तरकारीको माग गङ्गाको बारीमा फलेका तरकारीले पूर्ति गरेको छ । उत्पादनले बजार नपाएकोमा पर्वाह छैन उनलाई । सखारै बजारबाटै व्यापारीहरु ताजा तरकारी लिन उनको दैलोमा पुग्छन् । साथमा रहेको उनको मोबाइलमा तरकारी अर्डर गरिएका फोनकलहरु आउँछन् । यसले निकै बेफुर्सदी तुल्याएको छ उनलाई । मोबाइलले व्यापारलाई सघाएको छ । त्यहींबाट उनले तरकारीबालीमा लाग्ने रोगकिराको प्रकोप र खेतीप्रणाली बारे कृषिविज्ञहरु सल्लाह गर्छन् । करेसाबारीबाट सुरु भएको उनको दिनको बोहोनी बेलुका आम्दानी र खर्चको हिसाबकिताबमा अस्ताउँछ ।

श्रीमती क्याम्पसमा पढिरहँदा उनी चुल्होचुकोमा व्यस्त हुन्छन् । श्रीमती लक्ष्मीलाई उच्चशिक्षा र एक छोरीलाई बोर्डिङमा पढाएकै छन् । बेफुर्सदी चिर्न करेसाबारीमा तीनजना नियमित खेताला पनि खटिएका छन् । बर्षेनी हुने चारलाखबाट खर्च उब्राएर एक लाख बचत गर्छन् उनी । कृषिलाई जीवनको अर्को अध्यायका रुपमा बुझ्ने यी अधबैंशे हरेक ‘बिदेश’का विरुद्ध छन् । ‘ढोरपाटनमा फलेको आलु सीधै युरोप पुग्न सक्छ, ताराखोलाको भोटे लसुन सीधै अमेरिका पुग्छ’ बिदेशमा खर्चिने श्रमको प्रवृत्तिलाई नकार्ने यी बौद्धिक कृषक प्रश्न गर्छन् ‘किन जानुप¥यो बिदेश ?’ चारजनाको २० रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका गङ्गा व्यवसायको ९ बर्षमा जग्गाधनीभन्दा दोब्बर आम्दानी गर्न सफल भएका छन् ।



व्यवसायको नौ वर्षे म्याराथुनमा उनले द्धन्द्धको झुसिलो अनुभूति गरेका छन् । नौ वर्षअघि उनले गाउँमा बोर्डिङ चलाए, चारवर्षअघि कुस्मिसेरामा कुखुरा पालन गरे, तरकारी व्यवसाय थाले तर द्धन्द्धले उनलाई त्यहाँबाट उठिबास लगायो । ‘त्यतिबेला मेरो जिन्दगीमा दुइटा विकल्प थिए– व्यवसाय गर्ने की विदेश पलायन हुने’ गम्भिर हुँदै उनले भने, ‘मेरो अमेरिका, युरोप जाने अवस्था थिएन, खाडी पस्न पनि एकलाख चाहिन्थ्यो । त्यत्रो पैसा खर्च गर्नुभन्दा यहीं बसेर व्यवसायमा लगानी गर्ने सोंच बनाएँ ।’ तरकारी व्यवसायमा हामफाल्नु अघि उनीसँग अनुकरणीय प्रसँग छ । ‘कुस्मिसेरामा कुखुरा व्यवसाय गर्दा उत्पादित मललाई तरकारीमा प्रयोग गर्दा उन्नत तरकारी फल्यो’ निधारमा हत्केलाको छानो हाल्दै उनले भने, ‘यसले मेरो मनस्थिती निकै बलियो बन्यो ।’ द्धन्द्धले व्यवसाय चौपट बनेपनि उनले हार मानेनन् र अझै प्रतिबद्ध भए व्यवसायिक निष्ठामा । त्यसपछि सदरमुकाम हानिएपछि उनका संघर्षका दिनहरु सुरु भए ।

‘सेना र माओबादीले दिउँसै लुट्न लागेपछि बजार सकियो, बाहिरबाट मानिसहरु जान बन्द भएपछि बजार पनि बन्द भयो’ अतित उत्खन्न गर्दै उनले भने । तीनवर्षअघि सिर्जीएको घटनाले उनलाई चिमोट्छ । खासमा प्रविधिको ज्ञान नहुँदा सिर्र्जीएको रै’छ त्यो । ‘४०/४५ हजार कमाउने उद्देश्य राखेर तीनसय थान काँक्रा लगाएँ’ उनले भने, ‘तर, बेर्ना बढ्न सकेनन् । पछि के पत्ता लाग्यो भने पातको पछाडी ‘लाइ’ भन्ने किरा पोका–पोका परेर पो बसेको रहेछ । बेर्ने उखेलेर फालिदिएँ । आखिरमा नोक्सान बेहोर्नुप¥यो ।’ प्राविधिक ज्ञान अभावमा यस्ता क्षणिक असफलता बग्रेल्ती खेपेका छन् उनले । ‘अभ्यासले मानिसलाई पूर्ण बनाउँछ भन्ने मेरो आदर्श हो’ उनले भने । यही ज्ञानमा आधारित रहेर उनले एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीबाट खेती गरेका छन् ।

उनको तरकारी खेती र नर्सरी यस्तो पाठशाला हो जहाँ अध्ययन र अवलोकनका लागि मुलुकका विभिन्न स्थानबाट कृषकहरु आउँछन् । कृषिविज्ञहरुले पनि उनैको मिहेनतलाई चुन्छन् । मिहेनत र संघर्षले उनलाई कृषी प्राविधिक बनाएको छ । रोगकिरा, खेती प्रणाली, व्यवस्थापन सबैमा उनी अब्बल भएका छन् । ‘सुरुताका सल्लाह लिन कृषि विकास कार्यालय र विज्ञहरुकहाँ जान्थें’ उनले सम्झिए–‘तर, अहिले कृषकहरु सल्लाह लिन म कहाँ आउँछन् ।’ प्राविधिक ज्ञानबिना कृषि हाँक्नु प्रत्युत्पादक हुने उनको तर्क छ । प्रविधि र कृषिको सम्बन्धले उत्पादन र विक्रीमा कस्तो सघाउ पु¥याउँछ भन्ने हेर्न टाढा जानुपर्दैन । हेरौं न गङ्गाकै अभ्यासलाई –मोबाइलले उनलाई विज्ञसँग सल्लाह, तरकारी बिक्री र अर्डरमा सघाएको छ । उनी घरमा रहेको टेलिभिजनमा नेपाली र भारतीय च्यानलबाट प्रसारण हुने कृषि कार्यक्रमहरु हेर्न छुटाउँदैनन् । यसबाट उनले कृषिका लागि राम्रो पौष्टिकता आर्जेका छन् ।

उनको परिचय कृषकको रुपमा मात्रै बाँधिएको छैन । उनी स्थानिय पत्रिकाहरुमा नियमित कृषि बारेका आलेख लेख्छन् । राजधानीको सिंहदरबारलाई ठोकिरहन्छन् । भन्छन् –राज्यले कृषिलाई विशेष प्राथमिकता दिएर ऐन, कानुन बनाई लागु गर्नुपर्छ यसले विश्वबजारमा नेपाली कृषिजन्य बस्तु निर्यात गरी विदेशी धनराशी भित्रयाउन सकिन्छ ।’ किसानको पक्षमा कानुन भएन भने हामी चुप लागेर बस्दैनौं– उनले चेतावनी दिए । कृषिलाई जीवन ठान्छन् उनी । मौजुदा खेती र नर्सरीलाई एक÷दुई बर्षभित्र विकास गर्ने सोच बनाएका छन् उनले । श्रीमती लक्ष्मीले दिने सल्लाह उनलाई विज्ञले दिनेजस्तै लाग्छन् । ‘सफल कृषि जोड’का रुपमा दरिएका उनीहरु सन्ततीलाई पनि कृषिकै अभियन्ता बनाउने ध्याउन्नमा छन् । ‘कृषिमा प्रविधिको ज्ञानलाई प्रसार गर्नु हाम्रो दायित्व हो’ लक्ष्मीले भनिन्, ‘बजारमा घडी, रेडियो, मोबाइल बनाउने खुल्छन् तर कृषि सिकाउने किन खुल्दैनन् ।’

पढेका मान्छेले कृषि गर्नुहुँदैन भन्नेलाई लक्ष्मीको जवाफ स्वयमसिद्ध छ । उनी आफै स्नातक दोस्रो बर्षमा अध्ययनरत छिन् । पढाइमा पनि मिहेनती उनी कृषिमा जाँगरिली छिन् । ‘क्याम्पस, घर र करेसाबारीको मोर्चा हाँकिरहेकी छु’ हाँस्दै उनले भनिन् । ‘विस्तारै कृषि क्षेत्रमा पनि प्रविधिको ज्ञान हासिल गरेकी छु’ भन्छिन् ‘अहिले मुलुकका जुनसुकै ठाउँमा गएपनि व्यवसाय गर्न सकिन्छ भन्ने विश्वास छ ।’ प्रविधिगत रुपमा साधारण जेटिएले भन्दा तरकारीबारे धेरै बुझेकी छु । कृषिविज्ञ केदार बुढाथोकी यी ‘कृषि दम्पती’लाई मुक्तकण्ठले प्रशंसा गर्छन् । भन्छन्, ‘सबै कृषक यस्ता भएभने कृषि मुलश्चः जीवनम बन्छ ।’

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete