Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 1, 2013

बार्सिलोनाले जोगाउला नेपाली इज्जत ?

विष्णु शर्मा
१ मार्च, २०१३

तीनसय रुपैंया तिरेर म्याच हेर्न नेपाली मिडल क्लास तयार छ । तर, के नेपाली फुटबल टीम म्याच जित्न तयार छ ? यदि छ भने शनिबारदेखि दशरथ स्टेडियममा श्रीगणेश हुने च्यालेन्ज कप फुटवलको नतिजा कुर्दा जाती होला । मैले फुटबलमाथि किन ब्लग लेख्दै छु भने, नेपालले पहिलोपटक कुनै विदेशी क्लवको नक्कल गर्दै मैदानमा उत्रँदैछ । कोच ज्याक स्टफनोस्कीले नेपाली टीमलाई विश्व चर्चित स्पेनिस क्लब बार्सिलोनाकै संरचनामा उतार्दैछन् । बार्सिलोनाको संरचना ४–३–३ हो । खेलको यो शैलीलाई छोटकरीमा टिकीटाका भनिन्छ । स्पेनले यही शैलीमा खेलेर पछिल्लो पटक विश्व च्याम्पियन बनेको थियो । बार्सिलोना शैलीले नेपाललाई एएफसी च्यालेन्ज कपमा छनौट गराउँछ कि गराउँदैन अर्को सातासम्म कुर्नुपर्ला तर, विपक्षीको रणनीतिलाई छल्न अमेरिकी कोचले अघि सारेको यो फर्मुला कत्तिको प्रभावकारी होला, कामना गरौं ।

तर, बार्सिलोनाको यो संरचना आफैमा अचुक भने चाहिँ होइन । विहिबार चीर प्रतिद्धन्द्धी रियल मड्रिडसँग बार्सा ३–० ले पराजित भयो । टिकीटाकाले स्पेनलाई जिताएपछि विश्वका अन्य क्लव र देशले समेत स्पेनी यो कौशलताको नक्कल गरे । कतै जित भयो त कतै हार । छोटो पास र सटिक मुभलाई टिकीटाका भनिने बार्सिलोनाको शैलीलाई हाम्रा नयाँ कोचले विपक्षी टीमको लय र रणनीति बुझेर तयार गरेका हुन् कि त्यत्तिकै ? यो प्रश्न निकै गम्भीर हो । अघिल्लो साता पाकिस्तानसँग दुईवटै म्याच हारेपछि कमजोरी सुधार्न बार्सिलोना फर्मुला ल्याइएको भनिएपनि हामीले शंकाको सुविधा बाहेक के दिन सक्छौं र ? हाम्रो मुख्य कमजोरी भनेको स्कोरिङ र मिड फिल्डमा हो । यी दुई कमजोरीलाई सुधार्न बार्सा शैली अस्त्र बन्नुपर्छ । नभए, नेपाली टीमको परम्परागत समस्या दोहोरिनेछ ।

नेपालको कडा प्रतिस्पर्धा प्यालेस्टाइनसँग हुनेछ । ठूला प्रतियोगिता खेलिसकेको र अनुभवी खेलाडीले भरिएको प्यालेस्टाइनलाई पार लगाउन बार्सिलोना फर्मुला कामयावी हुनैपर्छ । नर्थन मारियाना, श्रीलंका, बंगलादेश लगायत टीम नेपालकै तहमा छन् । राजनीति, विकास, कुटनीति, फिल्म, वाणिज्यजस्ता क्षेत्रमा विदेशीको नक्कल गर्ने चलन पुरानै हो । अब खेलमा नक्कल गर्न लागिएको बार्सिलोना सूत्रले के नेपाललाई फिफा वरियताक्रममा उँभो लगाउला ? अहिलेको यक्ष प्रश्न यही हो । युवा कोच स्टफनोस्कीले नेपाललाई यो उपहार दिन सकून । रंगशालामा भेटौंला शुभकामना ।

No comments:

Post a Comment