Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 2, 2013

नेपाली सिलिकन भ्यालीको गिफ्ट

Handmade writing Nepali copy. Image : Boris Journal Australia
विष्णु शर्मा
२ मार्च, २०१३


यो तस्विर चाहिँ मैले अष्ट्रेलियाको चर्चित जर्नल बोरिसबाट लिएको हुँ । तर, फोटो चाहिँ मेरै गाउँ नजिकको नागी गाउँमा खिचिएको हो । लोक्ता प्रशोधन गरेर बनाइएको यो नेपाली कागजको कापी जति सुन्दर छ, यसले स्थानिय गाउँमा उत्तिकै सुन्दर सहयोग गरेको छ । सम्भवतः सिंगो धौलागिरिमै बढी लोक्ताका सीपमुलक सामान उत्पादन गर्नेमा नागी अग्रणी छ । हातबाटै बनाइएको यो कापीलाई अष्ट्रेलियामा निर्यात गर्न स्थानीय हिमाञ्चल उच्च मावि कस्सिएको छ । गाउँमै स्वरोजगार सिर्जना गरेको नागी नेपालको सिलिकन भ्याली अर्थात सूचना प्रविधिका पण्डितको तीर्थस्थल पनि हो । अर्को अर्थमा महावीर पुन जन्मिएको गाउँ हो यो ।

मैले पनि विद्यालयका प्रअ रमन पुनबाट कुनै बेला मायाको चिनो स्वरुप यस्तो कापी पाएको थिएँ । अमेरिकाको कम्प्युटर उत्पादक कम्पनीका भाइस–प्रेसिडेन्ट विल्लीलगायतसँग म नागी हानिएको थिएँ । स्थानीय दिदी र आमाले बनबाट खोजेर ल्याएको लोक्तालाई पकाएर मेसिनबाट प्रशोधनमार्फत यस्तो कापि उत्पादन गर्छन् । बेनी, पोखरा, काठमाडौंसहित विदेशी बजारमा समेत यसको ठूलो माग छ । नागी आत्मनिर्भर बन्नुमा प्रविधि, चौंरी गाई, दूर चिकित्सा अनि लोक्ताका सामानको ठूलो योगदान छ । बेरोजगारीको पीडमा विदेश हानिनुपर्ने अहिलेको यथार्थ हो तर, गाउँमै बसेर हिमाञ्चल स्कुलले लोक्ताको सामानबाटै पैसा छापिरहेको छ ।

यस्ता साना उद्यमहरूले नयाँ नेपालको जग खनिरहेका छन् । हामी राजनीति बिग्रियो, भविष्य छैन र करियर छैन भनेर चिन्तित हुन्छौं । तर, हामीलाई यो थाहा छैन कि काठमाडौंबाहिर यस्तो एउटा नेपाल पनि छ जो आफ्नै पौरखमा पैसा कमाउँछ । सरकारलाई गाली गर्दैन । रोजगार सिर्जना गर्छ र नजिक देख्छ । भित्र–भित्रै कृषि क्रान्ति मजाले गरिरहेको छ ऊ । नागीको यो हाते नेपाली कागजबाट बनेको कापीले धेरै कुरा बताउँछ । मानौं –नेपाली सिलिकन भ्यालीमा एप्पलको उत्पादन हुन थालेको छ ।

No comments:

Post a Comment