Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, March 11, 2013

घोडा स्याहार्दै मुस्ताङी राजा !

विष्णु शर्मा
११ मार्च, २०१३


केही दिन ब्लग लेख्न नपाएकोमा दुःखित छु । सन्दर्भअनुसार मुस्ताङी राजासँग मेरो आधादर्जन पटक भेटघाट भएको छ । राजतन्त्र समाप्ती भएपछि पनि मुस्ताङी राजा राजाकै हैसियतमा छन् । मुस्ताङीले उनलाई राजा मान्छन् । यो त्यहाँको परम्परा हो । यतिबेला मुस्ताङमा नेपाल सरकारको सत्ता होइन, मुस्ताङी राजाको सत्ता बलियो छ । राजा जिग्मे प्रवल विष्ट यतिबेला लोमान्थाङ दरबारमा घोडा स्याहार्दै बसेका छन् । गर्मी चढ्न थालेपछि यी बूढा लोमान्थाङ उक्लिएका हुन् । उनको पछिल्लो जीवन र राजारजौटा खारेजी पछि उनको दृष्टिकोणलाई मैले ब्लगमा उतारेको छु ।

राजतन्त्रको औपचारिक अन्त्य भएको पाँचमहिनापछि सरकारले नेपालमा रहेका चारवटा राजारजौटा सम्बन्धि व्यवस्थापन खारेज गरेको थियो । तत्कालिन गृहमन्त्री बामदेव गौतमले यससम्बन्धि निर्णय ती चार राजामध्ये सबैभन्दा महत्वपूर्ण मानिएका मुस्ताङी राजालाई उपल्लो मुस्ताङको लोमान्थाङ दरवार पुगेर जानकारी गराए । त्यतिबेला लोमान्थाङ पुगेका गौतमले राजा विष्टलाई सरकारले राजारजौटा सम्बन्धि ऐन खारेज गरेको र त्यो ऐन खारेज भएपछि राजारजौटा प्रथा पनि स्वतः खारेज हुने जानकारी दिएका दिए । विष्टले पनि सरकारी निर्णय मान्य हुने बताएका थिए ।

मुस्ताङी राजाले आफू लोकतन्त्रपछि लोकतान्त्रिक परिपाटीअनुसार चल्न राजी भएको बताउँदै आएका छन् । स्वर्गीय राजा वीरेन्दसँग उनको सुमधुर सम्बन्ध रहेपनि पूर्वराजा ज्ञानेन्द्रसँग भने उनी असन्तुष्ट थिए । उनले लोकतान्त्रिक परिपाटी र संस्कृतिलाई आत्मसात गरेको बताउँदै आफू अस्वस्थ भएकाले सरकारले आफ्नो स्वास्थ्य उपचारका लागि ध्यान दिनुपर्ने आग्रह गरेका थिए । मुस्ताङी राजाका सचिव चन्द्र थकालीले बताएअनुसार राजा र गृहमन्त्री गौतमबीच करिव आधाघन्टा कुराकानी भएको थियो । गृहमन्त्रीलाई राजाले चिया खुवाएका थिए ।

सरकारले भने राजा रजौटा सम्बन्धि ऐन नै खारेज गरिदिएको छ । मन्त्रीपरिषद्को यो निर्णयबाट रजौटाको रुपमा रहेका दुईजना राजा प्रभावित भएका छन् । मुस्ताङी राजा विष्ट र बझाङी राजा विनोदविक्रम सिंहको त राजाको ताज नै खोसिएको छ । बझाङी राजा सिंह पूर्वराजा ज्ञानेन्द्रका भान्जा हुन । जाजरकोट र सल्यानमा भने पछिल्लो समय कोही पनि राजा थिएनन् । राजा महेन्द्रले २०१७ सालमा रजौटा उन्मुलन गरेपनि चारवटा राजा भने कायमै राखेका थिए । १३ रजौटालाई उनी जिवीत छउन्जेल भत्ता पाउने गरि राखिएको थियो ।

मुस्ताङी पूर्वराजा अहिले भने विरामी परेका छन् । विरामीका कारण उनी सार्वजनिक कार्यक्रम र संचारकर्मीसँग कुराकानी गर्न समेत सक्दैनन् । लामो समयदेखी उनको नीजि सचिव रहेका चन्द्रलाल थकालीका अनुसार प्रोष्टेडको अप्रेसनको कारण राजाको स्वास्थ्यस्थिती कमजोर बनेको छ । ज्ञानेन्द्र गणतन्त्र स्थापना भएलगत्तै दरवार छाडेर जान बाध्य भएपनि मुस्ताङी राजा विष्ट भने उपल्लो मुस्ताङमा रहेको तासी गेफेल दरवारमै आराम गरिरहेका छन् । गर्मी याममा उपल्लो मुस्ताङमै रहने उनी जाडो याममा भने काठमाडौं बसोबास गर्छन् ।

‘स्वस्थ हुँदा उहाँ कुराकानी गर्न मसँग आउनुहुन्थ्यो तर अहिले अस्वस्थ्ताका कारण त्यति साह्रो कुरा गर्न सक्नुहुन्न’ मुस्ताङी पूर्वराजकुमार अशोकले भने –‘उहाँको शरिर कमजोर बनेको छ, लामोसमय कुराकानी गर्दा समस्या देखिन्छ । डाक्टरहरुले पनि कम बोल्न भनेका छन् ।’ छोरा असोक अहिले काठमाडौंमा बसोबास गर्दै आइरहेका छन् । तिव्वती भाषामा राजकुमारलाई ‘घ्याल्चुङ्ग’ भन्ने गरिन्छ । उनी पर्यटन व्यवसायमा संलग्न छन् । मुस्ताङी राजाले नेपाली नबोल्ने भएकाले कुराकानीमा उनैले सघाउने गरेका छन् । ७५ वर्ष नाघेका विष्ट बुढ्यौली र अप्रेसनका कारण अशक्त भएपनि एक्लै बस्न नरुचाउने उनका नीजि सचिव थकालीको अनुभव छ । ‘मानिसहरु भेट्न आएनन् भने नियास्रो मान्नुहुन्छ’ राजतन्त्रको अन्त्यपछि मुस्ताङी राजासित उपल्लो मुस्ताङस्थित दरवारमा भन्दा जोमसोमै लामो समय विताउन थालेका थकाली भन्छन् –‘उहाँ कुराकानी गरिरहनुपर्ने स्वभावको हुनुहुन्छ । विरामी भएपनि स्थानियबासीहरुसँग उहाँ नियमीत कुराकानी गर्नुहुन्छ ।’





राजतन्त्रको समाप्तीसँगै आफ्नो मुस्ताङी राजाको पदवी पनि स्वतः खारेजी भएकोमा उनको कुनै गुनासो रहेनछ । राजतन्त्र समाप्त हुनुमा उनले पूर्वराजा ज्ञानेन्द्रलाई दोषी ठह¥याएका रहेछन् । थकालीले भने –‘राजतन्त्र समाप्तीपछि उहाँले राजा ज्ञानेन्द्रकै कारण राजतन्त्रको समाप्ती भएको बताउनुभएको थियो ।’ राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति जनहितको काममा खर्च गरेको भए राजतन्त्र जोगिने र जनता नै राजतन्त्रको पक्षमा उभिने मुस्ताङी राजाले भनेको कुरा पनि थकालीले स्मरण गरे । उनका अनुसार राजतन्त्रको उन्मुलन र गणतन्त्रको स्थापनालाई मुस्ताङी राजाले पूर्णरुपले स्वीकार गरेका छन् । लोमान्थाङ दरवारमा थुप्रै घोडा पालिएका छन् । फुर्सदमा घोडा स्याहार्नु उनको दिनचर्या हो । शरिर स्वस्थ हुँदा घोडाचढी गर्ने उनका सचिव थकाली बताउँछन् ।


No comments:

Post a Comment