Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, March 14, 2013

सी बने चीनका नयाँ राष्ट्रपति

विष्णु शर्मा
१४ मार्च, २०१३


हामी नजिकको देख्दैनौं । बाराक ओबामाको जितमा शुभकामनाका शब्द खर्चिएका हामीले क्यान्सरसँग संघर्ष गरिरहेकी मनिषा कोइरालाको स्वास्थ्य लाभप्रति एक शब्द पनि खर्चिएनौं । सिलिकन भ्यालीले ल्याउने नयाँ इन्टरनेट परिवर्तनबारे लेखिरहँदा हामी हाम्रै महावीर पुनले दुर्गम गाउँमा इन्टरनेट लैजान गरेका संघर्षप्रति चासो दिएनौं । ठीक यस्तै तरिकाले विश्वको दोस्रो ठूलो शक्तिशाली देश तथा हाम्रै उत्तर छिमेकी मुलुक चीनमा आज नयाँ राष्ट्रपति चुनिएका छन् । तर, हामीले छिमेकी देशमा भएको यति ठूलो राजनीतिक परिवर्तनप्रति चासो देखाएनौं । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भैरहेको चीनको राष्ट्रिय जनकंग्रेस बैठकले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङलाई राष्ट्रपति चुनेको हो । नोभेम्बरमा पार्टीको १८ औं कंग्रेसबाट कम्युनिस्ट पार्टीको सर्वोच्च पद महासचिवमा चयन भएपछि उनी राष्ट्रपति हु जिन्ताओको उत्तराधिकारी लिने तयारीमा थिए । कंग्रेसले पार्टी महासचिव तथा राष्ट्रपति जिनपिङलाई चीनको केन्द्रिय सैन्य आयोगको अध्यक्षमा पनि चयन गरेको छ ।

पाँचवर्षका लागि राष्ट्रपतिमा चुनिएका ५९ वर्षिय जिनपिङले अर्को एक कार्यकालसहित दश वर्ष चीनको नेतृत्व गर्ने अनुमान गरिएको छ । पश्चिमा शैलीको राजनीतिक सुधारलाई अस्वीकार गर्दै आएका पाँचौ पुस्ताका नेता जिनपिङले भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो नम्बरका नेता झाङ डेजियाङ राष्ट्रिय जनकंग्रेसको अध्यक्षमा चयन भएका छन् । पोलिटब्युरो सदस्य ली उनचाओ उपराष्ट्रपति बनेका छन् । नेता ली कस्याङ प्रधानमन्त्री बन्दैछन् । एक दशकमा एक पटक हस्तान्तरण गरिने चिनियाँ सत्तालाई लिएर विश्वको ध्यान बेइजिङमा केन्द्रित छ । यसकारण पनि कि अबको विश्व कता जान्छ भन्ने कुरा चिनियाँ राष्ट्रपति जिनपिङ र अमेरिकी राष्ट्रपति ओबामामा निहित रहनेछ । अबको बीसवर्षमा अमेरिकालाई उछिनेर चीन विश्वकै धनी र महाशक्ति राष्ट्र बन्नेछ । देङ जिआयोपिङको उदार अर्थतन्त्रलाई नै अबको दशवर्षसम्म अघि बढाएर चीन नम्बर वान मुलुक बन्न चाहन्छ ।

टाइम म्यागजिनले अबको दशक ओबामा र जिनपिङको दशक भनेर लेखेको छ । अबको मुख्य आर्थिक र सामारिक प्रतिस्पर्धा अमेरिका र चीनबीच नै हो । अमेरिका एसियामा परराष्ट्र नीति केन्द्रित गरेर चीनलाई महाशक्ति राष्ट्र बन्नबाट रोक्न चाहन्छ । उसको एसिया पिभोट चीनलाई घेर्ने रणनीतिकै एउटा कडी हो । अबको दशकमा ग्लोबल पावर बन्ने चीन र भारतको बीचमा रहेको नेपाल समारिकरुपमा महत्वपूर्ण छ । नेपालमाथि अमेरिकी स्वार्थ तिब्बत हो । ऊ तिब्बतको मानवअधिकार मुद्दा चर्काएर चीनको ग्लोबल पावरलाई रोक्न चाहन्छ । नयाँ राष्ट्रपति सी जिनपिङले छिमेकी राष्ट्रलाई सर्वप्रथम साथमा लिनु जरुरी छ । चिनियाँ नयाँ राष्ट्रपतिले लिने कदमबाट पक्कै पनि नेपाल लाभान्वित हुनेछ । चीन रेललाई दक्षिणपूर्वी तिब्बती थलो सिगात्से हुँदै काठमाडौंमा जोड्न चाहन्छ । उसको यो रेल सेवा रणनीति यथार्थमा महत्वपूर्ण छ । चिनियाँ नयाँ राष्ट्रपतिलाई मेरो हार्दिक शुभकामना ।

No comments:

Post a Comment