Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 22, 2013

संजय दत्त जेलको नेपाली अर्थ

विष्णु शर्मा
२२ मार्च, २०१३


भारतीय सर्वोच्च अदालतले अभिनेता संजय दत्तलाई पाँचवर्षे जेल सजाय सुनाएपछि संसारको दोस्रो ठूलो फिल्म उद्योग बलिउड हल्लिएको छ । विश्वकै ठूलो लोकतान्त्रिक मुलुकको यो न्यायिक भर्डिक्टको सन्देश हुनेछ –कानुनको आँखामा सबै समान हुनेछन् । भारतले मुन्ना भाईविरुद्धको यो अदालती सुनुवाईलाई सामाजिक न्यायको प्रस्थानविन्दुको रुपमा लिनु औचित्यपूर्ण हुनेछ । सलमान खान, सैफ अलि खान, जोन अब्राहम, साइनी आहुजा, फरदिन खान, मधुर भंडारकर, मोनिका बेदी हुँदै संजयसम्म आइपुग्दा बलिउडमा जेलनेलको इतिहास नयाँ होइन । अन्डरवल्र्ड र आतंकवाद हुँदै गैरन्यायिक हत्याका कारण बलिउड विवादास्पद बनिरहेको छ । सेलिव्रेटीहरू सुटिङ स्पटमा जानुपर्नेमा जेलतिर सोझिनु बलिउडको पछिल्लो चरित्र बनिरहेको छ । समाजको प्रेरणादायी आइकन बन्नुपर्नेमा ठीक विपरित बन्नुले बलिउड ठीक दिशातर्फ अघि बढिरहेको संकेत गर्दैन ।

संजयले अबको चार साताभित्र अदालतसमक्ष आत्मसमर्पण गर्नुपर्नेछ । डेढवर्ष पहिल्यै जेलमा बसिसकेकाले साढे तीन वर्षमात्र बसे पुग्छ । अदालतको आदेशलगत्तै त्यसको सम्मान गर्छु भनेर बलिउडका यी मुन्नाले गतिलो सन्देश चाहिँ दिएका छन् । उद्योग र व्यक्तिगत करियरका लागि अदालती आदेश ठीक नभएपनि लोकतन्त्र र कानुनी राज्यका लागि संजय जेल जानु स्वागतयोग्य हो । संजय यतिबेला तीन फिल्म निर्माण गर्दै थिए । जसमा एकसय करोडको लगानी छ । लगानी नै दाउमा परेको स्थिती हो । बलिउडलाई एकसय करोडको धक्का लागेको छ । नायक हुँदै खलनायक बनेका संजय जेलबाट छु्ट्ने बेला ५६ वर्षका हुनेछन् । उनको करियर त समाप्त हुनेछैन तर क्षति चाहिँ गम्भिर हुनेछ । यतिबेला चल्तीका हिरो तीनवर्षपछि करियरको शिखरमा नरहन पनि सक्छन् । एउटा सेलिव्रेटीका लागि समय र समाजभन्दा महत्वपूर्ण अर्को हुँदैन ।

अदालतले संजयले १९९३ को मुम्बई बिस्फोटका दोषी दाउद इब्राहिमबाट हतियार किनेर अवैध ढंगले घरमा राखेको अभियोगमा दोषी प्रमाणित गरेको छ । संजयका वकिलले हिन्दु र मुस्लिम दंगाबाट जोगिन हतियार राखेको भनेका छन् । तर, उनको यो दाबीमा खासै दम थिएन र अदालतले खारेज गरिदियो । संजयविरुद्धको यो सजायबाट पक्कै पनि नेपाल खुशि छैन । यता नेपालमा पनि उनका जबर्जस्त फ्यान छन् । संजयको सजायको चुरो कुरो थाहा पाउन बलिउड र अन्डरवल्र्डको नेक्सस थाहा पाउनुपर्छ । बीचमा राजनीति समेत गरेका संजयको अन्डरवल्र्डसँगको सम्बन्धकै परिणामस्वरुप अदालती आदेश आएको छ, यसलाई स्वभाविक ठाने हुन्छ । किनभने बलिउडमा भूमिगत संसारकै लगानी छ भनिन्छ ।

यो त्यही बलिउड हो जहाँ एकातिर आमिर खानले सत्यमेवः जयते टेलिभिजन सोबाट भारतीय समाज हल्लाए । अर्कोतिर यो त्यही बलिउड हो जहाँ संजय, सलमान र सैफअलि खानहरू अपराधलाई मलजल गरिरहेका छन् । अदालती आदेश आफूविरुद्ध गयो भने सलमान खान पनि जेल जान सक्छन् । संजय दत्त प्रकरणबाट नेपाली सेलिव्रेटीजगतले लिने पाठ भनेको सेलिव्रेटी र आमनागरिकबीच कानुनी समानता छ । सेलिव्रेटी हुँदैमा कानुन तलमाथि हुने होइन । कानुनको सम्मान गर्नु सेलिव्रेटी धर्म हो । नाच्ने र गाउनेमात्र होइन, समाजलाई असल बाटोमा लैजाने काम सेलिव्रेटीहुडअन्तर्गत पर्छ । सुगम पोखरेल प्रकरण कालो दिन थियो हाम्रा लागि । समाज र राष्ट्रिय मर्मविरुद्ध जाने सेलिव्रेटी हाम्रा लागि कामका छैनन्, उनीहरूलाई जेल कोचे हुन्छ । सेलिव्रेटीहुडको अर्थ नबुझेसम्म अपराध र डनगिरीले कलाको औचित्य पुष्टि हुनसक्दैन । नेपाली संजय दत्तहरूले बेलैमा सेलिव्रेटी हुनुको अर्थ बुझ्नुपर्छ ।

No comments:

Post a Comment