Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, March 3, 2013

ओबामाको देशलाई नेपालको ६ गोल !

विष्णु शर्मा
३ मार्च, २०१३

म मात्र होइन धेरैले नर्थन मारियाना भन्ने देशको नाम भर्खरै सुनेका हुन् । कोरिया प्रायद्धीप, जापान, चीन र अष्ट्रेलियाको बीचमा पर्ने यो टापु देश अमेरिकी उपनिवेश रहेछ । लगातारको प्रयासपछि गुगल अर्थबाट यो देश पत्ता लगाएँ । गुगल अर्थबाट पनि सितिमिति नभेटिने । जुम नै गर्नुपर्ने । यो देशका राष्ट्रपति पनि बाराक ओबामा नै रहेछन् तर देश भने एसियामा पर्ने रहेछ । यो देश अमेरिकी उपनिवेश रहेछ । नेपालजस्तो कमजोर देशले ६ गोलको वर्षा नै गरेपछि गोल खाने देशबारे नेपाली पत्रकारले गुगल सर्चबाट खोजिनीति थाले । पत्रकार अरुण बरालले त अर्धउपनिवेश मुलुक नेपालले उपनिवेश देश नर्थन मारियानालाई आधादर्जन गोल हान्यो भनेर ट्वीटिए ।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले यसलाई उपनिवेश बनाएर राखेको रहेछ । अमेरिकाले मान्ने लोकतन्त्रले सबै प्रकारका उपनिवेश र दासताको विरोध गर्छ तर पनि नर्थन मारियाना उसैको कब्जामा रहेको कुरा ठीक कि बेठिक, त्यो बेग्लै बहसको कुरा बन्ला । अहिले भने नेपालीले कहिल्यै नाम नसुनेको देशको नाम चाहिँ थाहा पाएका छन् । च्यालेन्ज कपका लागि नेपाली मैदानमा भिडिरहेको नर्थन मारियाना सबैभन्दा कमजोर टीम हो । यसका प्रशिक्षकले जितभन्दा पनि प्रदर्शन महत्वपूर्ण रहेको बताइसकेका छन् ।

नर्थन मारियानालाई जसरी नेपालीले चिनेनन् वा नाम सुनेनन् । ठीक त्यसैगरि, नेपाल भन्ने देशको नाम विश्वका ९५ प्रतिशत जनसंख्यालाई थाहा छैन । थाहा पाएपनि उनीहरूले संसारकै गरिब र ध्वस्त देश भनेर चिन्छन् । टाढाको त कुरै नगरौं, छिमेकी देश चीन र भारतका बहुसंख्यक नागरिकलाई नेपाल भन्ने देश कुन चरीको नाम हो थाहा छैन । सौभाग्यवश, फुटबल खेलले अलग राष्ट्रियतालाई एकै ठाउँमा उभ्याइदिएको छ । राजनीतिले विश्वलाई अलग गरे पनि खेलको विकास, अनुशासन र गतिशिलताले सबैलाई एउटै मालामा उनेको छ । त्यो नेपाल र नर्थन मारियाना नै किन नहोस् ?

No comments:

Post a Comment