Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, March 6, 2013

चाभेजको नक्कल गर्थे बाबुराम !

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


सानो छँदा हामी माक्र्स पढ्थ्यौं, लेनिन पढ्थ्यौं, गोर्की पढ्थ्यौं, पारिजात पढ्थ्यौं, चे ग्वेभारा पढ्थ्यौं र ह्युगो चाभेज पढ्थ्यौं । माक्र्स पढ्दा मैले जनै फुकालेँ, चे ग्वेभारा पढ्दा मैले निडर बन्न सिकेँ, पारिजात पढ्दा नेपाली समाजलाई बुझेँ, त्यो भन्दा पनि पर ह्युगो चाभेज पढ्दा मैले जोखिम लिन सिकेँ, मान्छे बन्न सिकेँ । गरिबका हिरो भेनुजुयलाका राष्ट्रपति चाभेजले राजधानी काराकासमा संसार छाडेका छन् । ५८ वर्षको उमेरमा यी करिस्माटिक नेताको निधन भएको छ । उनको निधनमा उनकै नम्बर वान दुश्मन अमेरिका र बेलायतले समेत श्रद्धाञ्जली व्यक्त गरे । भेनेजुयलासहित अर्जेन्टिना र क्युवामा साता लामो राष्ट्रिय शोकको घोषणा गरिएको छ । खुलेआम अमेरिकालाई शत्रु घोषणा गर्ने चाभेजको निधनमा वासिङ्टनले शोक व्यक्त गर्नुलाई मैले ओबामा प्रशासनको बदलिँदो कुटनीतिक रणनीतिको रुपमा लिएको छु ।

प्रायः प्रजातन्त्रवादी कम्युनिष्टलाई ब्यालेट नचाहेको भनेर आलोचना गर्छन् तर चाभेजले चारपटक चुनाव जितेर नाकै माथिको अमेरिकाको मुख थुनिदिए । सन् १९९८ को राष्ट्रपतिय निर्वाचनमा उनले ५६ प्रतिशत मत ल्याएर बहुमत सिद्ध गरे । गरिब र मध्यमवर्गको समर्थनमा चाभेजले ब्यालेट जिते अनि पपुलिस्ट आइकन बने । आफ्नो कार्यकालमा चाभेजले देशलाई समृद्धिको मार्गमा हाँके अनि विश्वभर आफूलाई शक्तिशाली नेताको रुपमा चिनाए । उनले गरेका केही कामको नक्कल हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईले पनि गरेका थिए । बाबुरामले ट्वीटर खोल्ने प्रेरणा ह्युगो चाभेजबाटै सिकेका थिए । उनलाई ४१ लाख भन्दा बढीले फलो गरेका थिए । उता चाभेजले ‘हेलो राष्ट्रपति’ सुरु गरे, यता बाबुरामले ‘हेलो सरकार’ चलाए ।

चाभेजले मेराकल नेटवर्क नामक सुपरमार्केटको देशब्यापी संजाल सुरु गरे । यसका १६ हजारभन्दा बढी शाखा र ८५ हजारभन्दा बढी कर्मचारी थिए । प्राइभेट पसलमा एक सयमा पाइने सामान यी पसलमा ४० मा पाइन्थ्यो । आधारभूत खाद्यान्नको मूल्य तोक्ने उनको नीति निकै विवादास्पद बन्यो । चाभेजले ५० लाखभन्दा बढी एकड भूमि जमिन्दारबाट खोसेर गरिबलाई बाँडे । निर्वाचित भएपछि उनले राज्यको स्वामित्वमा एकलाख भन्दा बढी सहकारी देशब्यापी खोले । सहभागितामूलक लोकतन्त्रको नाममा ३० हजारभन्दा बढी कम्युनल काउन्सिल गठन गरे । वासिङ्टन पोस्टले चाभेज निर्वाचित भएपछि गरिबी घटेर दोब्बर बढी २८ प्रतिशतमा झरेको लेखेको थियो । उनको निधनमा संसारका ठूला मिडियाले ‘ओबिच्युरी’ लेखेका छन् । उनी बढी बोल्ने बानीका थिए । सन् २००६ मा उनले अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसलाई शैतान भनेका थिए । उपराष्ट्रपति निकोलस मारुदोले सत्ता सम्हाल्नेछन् । ३० दिनमा चुनाव गराउनुपर्ने त्यहाँको संवैधानिक प्रावधान छ ।

No comments:

Post a Comment