Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 9, 2013

शिवरात्री एस, गाँजा नो !

विष्णु शर्मा

आजको मेरो पशुपति यात्रा रोचक रह्यो । केही नागा साधु र बाबासँग गफगाफ गर्ने मेसो मिल्यो । बाबाहरूको चहलपहल, पर्यटकको क्लिक–क्लिक र गाँजा तान्ने तन्नेरीको जमात, बाँदरहरूको उफ्राइ मलाई प्रिय लाग्ने विशेषता हुन् । बढ्दो गर्मीमा बागमती सफा भएपछि लिइने लामो श्वासको स्वच्छता अर्को मजा हो । शिवरात्रीको भीडभाड मलाई मनपर्दैन र त एकदिन अघि पुगेको हुँ । यसपटक इन्डोनेसिया, मलेसिया र बर्माबाट समेत हिन्दू पर्यटक आइपुगेको देखेँ । भारतीयको त गणना हुनसक्दैन । तर, मलाई नाङ्गा बाबाहरूको रमितले मन तान्यो । यतिबेला पशुपतिको पुल तरेर श्लेष्मान्तक बनको उकालो चढ्दा गाँजा गन्हाएको छ । यस्तो लाग्छ –तपाईँ गाँजाको गन्धले ढल्नु भयो भने आफै जिम्मेवार हुनुहोला ।

मैले बागमती पुलपारिको उकालोमा ‘जय शम्भो’ भन्दै उत्पातै खरानी धसेर बसेका ६५ वर्षका भारतीय त्यागी बाबासँग गाँजाको गफ गरेँ । यद्यपी, म गाँजा सेवनको आलोचक हुँ । मैले उनलाई अरु देशमा गाँजालाई गैरकानुनी मानिन्छ तर नेपाल र भारतमा भने किन खुल्ला ? भनेर सोध्दा उनले गाँजा शिवजीको प्रसाद र सिंगो हिन्दु धर्म र पशुपतिको गिफ्ट भएको बताए । उनको यो भनाईले व्यवस्थाको असमानतालाई चित्रण गर्छ । उनै त्यागी बाबाबाट भर्खरै जुङ्गाको रेखी बस्न लागेका कलिला केटाहरूले बीसतीस रुपैंयामा गाँजाको पोको किनेका थिए । यस्तो लाग्यो –पशुपतिको जात्रा सिद्राको ब्यापारलाई चेन्ज गरेर पशुपतिको जात्रा गाँजाको ब्यापार भनेर उखान नवीकरण गर्नु पर्ला कि ? जे भएपनि, श्लेष्मान्तक वन परिसर यतिबेला गँजेडीको अखडा बनेको छ ।

मेरो आग्रह –कृपया महिला साथीहरू पशुपति जाँदा आफूलाई नागा बाबा भन्ने खरानी धसेकाहरूबाट होसियार हुनुहोला । गँजेडीले पनि तपाईंलाई सताउन सक्छन् । कतिपय नागा बाबाले महिलालाई दुव्र्यवहार गरेको आरोपमा पुलिसले पक्राउ पछि छाडेको छ । यस्ता जटाधारी बाबाको नाममा नक्कली जोगी मात्र हुन् । शिवको नाममा दुव्र्यवहार र मनपरी गर्ने अनि प्रसाद र शिब बुटी भनेर गाँजाको अधिक सेवन गर्ने कार्य गतिलो होइन । प्रहरी र पशुपति क्षेत्र विकास कोषको ध्यान यसतर्फ जाओस् । तपाईंहरूलाई थाहा नै होला –भगवान शिवले निलकण्ठ नामक विषलाई आफ्नो घाँटीमा राखेर संसार जोगाएको खुशिमा महाशिवरात्री मनाउने गरिन्छ । यसको मूलमर्मविरोधी कामलाई चाहिँ रोकौं हौं । शिवरात्री एस, गाँजा नो । ह्याप्पी शिवरात्री !

No comments:

Post a Comment