Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, March 19, 2013

अन्नपूर्ण पोष्ट ३५ करोडमा/जापानी अन्डरवल्र्ड नेपाली मिडियामा

विष्णु शर्मा
२० मार्च, २०१३

पछिल्लो समय मिडियामा ब्रान्ड किन्ने र बेच्ने ट्रेन्ड सुरु भएको छ । म यहाँ मिडिया टाइकुन रामेश्वर थापाको कुरा गरिरहेको छु । ६८ करोडको सेयर कान्तिपुर पब्लिकेसन्सलाई बेचेर बाहिरिएका थापाले गतसाता झन्डै ३५ करोडमा अन्नपूर्ण पोष्ट किनेका छन् । थापा र अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि व्यवस्थापनबीच किनबेचमा सहमति भएको छ । भारतीय लगानीमा रविन सेफर्ड लामाको नाममा संचालन हुँदै आएको आप्का नेपाल पब्लिकेसन्स ब्यानरको पत्रिका अन्नपूर्ण पोष्ट आगामी बैशाख १ गतेदेखि तीनकुनेस्थित सिम्रिक एयरको मुख्यालय रहेको कर्पोरेट टावरबाट थापाको व्यवस्थापनमा प्रकाशन हुने सहमति भएको छ । कर्मचारी र पत्रकारलाई यथावत राख्ने गरी खरिद बिक्री सम्बन्धि सहमति भएको बुझिएको छ ।

ज्ञवाली परिवारसँग स्वामित्व लगायत दैनिक प्रशासनका विषयमा मतान्तर भएपछि कैलाश सिरोहियाले क्याप्टेन रामेश्वर थापालाई कान्तिपुर ग्रुपको साझेदार बनाएका थिए ३८ करोड रुपैंयामा । कान्तिपुर पब्लिकेसन्स र कान्तिपुर एफएममा लगानी गरेको सेयर बिक्री गरेपछि थापाले नेपाली र अंग्रेजी ब्रोडसिट दैनिक तथा एउटा टेलिभिजन संचालनको तयारी गरेका थिए । मिडिया व्यवस्थापन हेर्ने गरी कान्तिपुर एफएमका पूर्व स्टेसन म्यानेजर प्रभात रिमाललाई नियुक्त गरेका थापाले नेपाली दैनिक पत्रिकाको तयारीका लागि पत्रकारहरू गुणराज लुइँटेल, चुडामणी भट्टराई र विकास थापालाई संलग्न गराइसकेका थिए । लुइँटेललाई कार्यकारी सम्पादकको जिम्मेवारी दिइएको थियो भने भट्टराईलाई नयाँ आउने पत्रिकाको सेकेन्ड म्यान बनाउने चर्चा थियो ।

रिमाल र लुइँटेलले माघको अन्तिम साता पत्रिकाको कन्टेन्टका बारेमा मेचीदेखि महाकालीसम्मको भ्रमण गरेका थिए । थापाको कम्पनीले नयाँ नाम प्रस्ताव गर्न कान्तिपुरमा विज्ञापन गर्नुपरेको थियो । त्यति मात्र होइन, नयाँ नाम प्रस्ताव गर्नेलाई एउटा ल्यापटप पुरस्कार दिने घोषणा पनि गरिएको थियो । थापाले लिएपछि अन्नपूर्ण पोष्ट नेपाल न्यूज नेटवर्क इन्टरनेसनल (थ्रीएनआई) नामको नयाँ मिडिया कम्पनी अन्तर्गत संचालनमा आउनेछ । अन्नपूर्ण पोष्टका सबै पत्रकारलाई सुरुमा समावेश गर्ने बताएपनि पत्रिका संचालनमा आएपछि त्यसपछि थापाले नै निर्णय गर्ने बताइएको छ ।

जापानी अन्डरवल्र्ड ह्याकुची ग्रुपको नेपाली मिडियामा लगानी

नेपाली मिडियामा विदेशी लगानीको कुरा नयाँ होइन । भारतसहितका शक्ति राष्ट्रले विभिन्न संस्था र समूहमार्फत मिडियामा लगानी गरेको खबर बेलाबखत बाहिर आइ नै रहन्छ । यसैक्रममा, जापानको चर्चित अन्डरवल्र्ड ह्याकुची ग्रुपले नेपाली मिडियामा लगानी गरेको खबर बाहिर आएको छ । स्रोतले कुन माध्यमबाट कुन संस्थामा लगानी गरेको छ भन्ने खुलाएको छैन । उक्त भूमिगत समूहले विश्वभर विभिन्न च्यानलमार्फत लगानी गरेर जाल फिँजाएको छ । सम्भवतः नयाँ निस्कने र पुरानैको पुनर्संरचना हुन लागेको एक नेपाली मिडियामा ह्याकुची ग्रुपले लगानी गरेको स्रोत बताउँछ । एसियाका प्रशान्त क्षेत्रसहित युरोप र अमेरिकामा समेत उक्त ग्रुपले लगानी गरेको बताइन्छ । विदेशी लगानी पारदर्शी नहुँदा नेपालमा लगानी यस्ता समूहको पहिचान हुन मुस्किल हुने गरेको छ ।

जापानमा लामै बसेका र चिनजान भएकामार्फत ह्याकुचीले लगानी गरेकोमा विवाद छैन । तर, यस्ता लगानीकर्ताको स्वार्थ र निहितार्थ बुझेर मात्र नेपाली टाइकुनले लगानी भित्राउनुपर्छ । ह्याकुची ग्रुप जापानको शान्ति सुरक्षा र अमनचैनका लागि एउटा ठूलो टाउको दुःखाईको विषय बनिरहेको छ । लागुऔषध, अपराध र हत्यामा चर्चित उक्त ग्रुपको अदृश्य लगानीबारे जापानले खोजी त गरिरहेको छ तर पत्तो छैन । 

No comments:

Post a Comment