Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, March 6, 2013

गजबको संयोग –‘बधशाला’ ब्यान्ड, ‘जिरो डार्क थर्टी’ रिलिज

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


हिजोआज सत्ताहरू फिल्मसँग अनुदार बनिरहेका छन् । शान्ति प्रक्रिया भाँडिने हचुवा तर्क दिएर सेनाले नेपाली राजनीतिक ड्रामा ‘बधशाला’लाई रोक लगाएको छ । जसले शुक्रबार फिल्मको पूर्वनिर्धारित रिलिज रोकिनेछ । सेना सत्ताको अन्तिम पिलर हो । त्यो पिलरको जरैमा प्रहार गरेर मिडियामा चर्चा कमाएको ‘बधशाला’ रिलिज नहुने भएपछि आउँदो शुक्रबार फिल्मको ‘कालो शुक्रबार’को रुपमा इतिहासमा लेखिनेछ । सवाल– फिल्म कसले बनायो र निर्देशन गरेको हो भन्ने होइन, सवाल– किन सरकार अभिव्यक्ति स्वतन्त्रतामा लगाम कस्न चाहन्छ भन्ने हो । फिल्म दर्ता र सेन्सरका स्वभाविक प्रक्रिया र बैधानिक बाटा हुँदाहुँदै सेनाले संचार मन्त्रालयको काँधमा बन्दुक राखेर चलाउन खोजेको छ । प्रश्न उठ्छ –यो देश सरकार कि सेनाले चलाइराखेको छ ?

एउटा संयोगबारे मैले ब्लग लेख्न खोज्दैछ । ‘बधशाला’लाई ब्यान्ड गरिएपछि शुक्रबारलाई ‘ब्ल्याक फ्राइडे’को रुपमा सेलिव्रेसन गर्ने तयारी भैरहँदा ठ्याम्मै ‘बधशाला’ले जस्तै दुःख पाएको हलिउड फिल्म ‘जिरो डार्क थर्टी’ आउँदो शुक्रबार नेपालमा रिलिज हुँदैछ । यी दुई फिल्ममा एउटा खास समानता छ । त्यो हो –दुवै फिल्मले सत्ता र संस्थापनसँग लड्न खोजे । ‘बधशाला’लाई यता नेपाली सेनाले रोक्यो भने उता हलिउडमा ‘जिरो डार्क थर्टी’लाई पेन्टागनले रोक्ने प्रयत्न गरेको थियो । यता मनोज पण्डित शान्तिप्रक्रिया भाँड्न लागेको आरोपमा व्यंग्यस्वरुप च्यातिन लागेको जुत्ता फेसबुकमार्फत सार्वजनिक गर्दै थिए भने उता क्याथरिन विगेलो अमेरिकी परराष्ट्र नीति विपरित काम गरेको आरोपमा पेन्टागनलाई पटक–पटक स्पष्टीकरण दिनुपरेको थियो । सौभाग्य भनौं –अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको कानुन बलियो भएकाले विश्वले लादेन खोजीमा भनेको डार्क फिल्म ‘जिरो डार्क थर्टी’ हेर्न चान्स पायो ।

आउँदो शुक्रबार क्यूएफएक्सको पर्दा अघिल्तिर कफी र पपकर्न खाँदै ‘जिरो डार्क थर्टी’ हेरिरहँदा मैले ‘बधशाला’ हेरेको सम्झनेछु । जेसिका क्रिस्टेनले पर्दामा ग्ल्यामर छरिरहँदा म उनमा सरिता गिरी भेट्नेछु । अमेरिकी नाभीले एबोटाबादमा रेड गरिरहँदा म ‘बधशाला’विरुद्ध तेर्साइएको बन्दुक सम्झनेछु । क्याथरिनले सिनेम्याट्रिक ल्यांग्वेज पस्किरहँदा म मनोज पण्डितको प्रतिबन्धित दृश्य भाषा खोजिरहनेछु । खास कुरो त म, व्यवस्थाले थिचिएको नागरिकको रुपमा धिक्कार गरिरहेको हुनेछु । यतिबेला त्यही पेन्टागनको रेप्लिकालाई म भद्रकालीको जंगी अड्डामा देखिरहेको छु ।

No comments:

Post a Comment