Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 9, 2013

प्रचण्डलाई प्रधानमन्त्री बनाउने भारतीय कोर्स ?

विष्णु शर्मा
९ मार्च, २०१३


प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ चुनावी सरकार नबन्ने दिशातर्फ मुलुक अघि बढिरहँदा नयाँ राजनीतिक कोर्स सुरु भएको संकेत देखिएका छन् । करिब सहमति भैसकेका मुद्दा फेरि बल्झिएका छन् र सहमतिको प्रक्रिया भाँडिने खतरा देखिएको छ । नागरिकता, मतदाता नामावली, सत्य निरुपण तथा मेलमिलाप आयोगमा दलहरू करिब सहमति नजिक पुगेका थिए तर सहमति बल्झिएको छ । प्रन्याको नेतृत्वमा सरकार गठन गर्नु अगावै यी मुद्दामा सत्तारुढ दल माओवादी र मधेशी दलले अडान राखेपछि सहमतिय सरकारको प्रक्रिया लम्बिएको हो । मेरो प्रक्षेपणमा बाबुराम भट्टराई नेतृत्वको सरकार सन् २०१४ अप्रिलसम्म अझै टिक्न सक्छ । किनभने रेग्मीको नेतृत्वमा यदि सरकार बनेन भने पुनः बाबुरामको विकल्पमा रस्साकस्सी हुने पक्का छ । यसले लामो समय यसले लिनेछ र प्रचण्डको नेतृत्वमा अर्को चुनावी सरकार बन्न सक्छ ।

नेपाल भ्रमणमा रहेका भारतीय नेताहरूसँगको आज (शनिबार)को भेटमा माओवादीका पुननिर्वाचित अध्यक्ष दाहालले नयाँ सरकार बनेलगत्तै भारत भ्रमणमा जाने इच्छा व्यक्त गरेका छन् । दाहालले भारतीय नेताहरूसँगको भेटमा माओवादी र भारतको सम्बन्धलाई उचाइमा पु¥याउन चाहेको र जाने प्रतिबद्धता जनाएका छन् । प्रचण्डको यस्तो अभिव्यक्तिलाई गम्भिर विश्लेषण गर्दा उनी विगतमा भारतसँग रहेको शत्रुतालाई कांग्रेस र एमालेभन्दा एक कदम अघि बढेर मित्रतामा बदल्न चाहन्छन् । सोझो अर्थमा भन्दा प्रचण्ड भारतलाई विश्वासमा लिएर सत्तामा रहन चाहन्छन् अर्थात प्रधानमन्त्री बन्न चाहन्छन् । भारतसँग सम्बन्ध सुधार्दा नै प्रचण्ड–बाबुरामले फाइदा देखेका छन् । नेपाली भूमिबाट भारतीय गतिविधि हुन नदिने भनेर उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली, जनता दल युनाइटेडका अध्यक्ष केसी त्यागी, भाजना नेतृ अर्थी महरालाई कन्भिन्स गर्न खोजेका छन् ।

भारत भ्रमण गर्ने दाहालको इच्छा प्रधानमन्त्री बन्ने उनको नयाँ राजनीतिक कोर्सको उपज हो । भारतको नेपाल डेस्क सुरक्षा निकायअन्तर्गतको ‘रअ’ले हेरिरहँदा यतिबेला बाबुराम सरकार टिकिरहेको मानिएको छ । सन् २०१४ मा भारतमा हुने आमनिर्वाचनमा गुजरातका मुख्यमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदी प्रधानमन्त्री चुनिने आशा गरिएको छ, यता काठमाडौंमा दाहालले भाजपाका नेतालाई भेटेर कन्भिन्स गर्न खोज्नु पछाडि पनि त्यो पाटो हुनसक्छ । भारतसँग सम्बन्ध बढाउन खोजिरहेका दाहालको बाध्यतालाई चीनले पनि स्वभाविक रुपमा लिएको हुनसक्छ । भूराजनीतिक संवेदनशिलतामा रहेको नेपालको असुरक्षाले स्वयम चीन चिन्तित भैरहेको बेला उत्तर छिमेकीले राजदूत याङ होउलानमार्फत नेपाल–भारत–चीन एकताको प्रस्ताव गर्नु लगत्तै भैरहेको भारतीय नेताको निहितार्थ त्यस्तै हुनसक्छ । प्रचण्ड भारतसँग नजिक हुनुलाई उनको नक्कली राष्ट्रवादसँग तुलना गर्नु राम्रो होइन । बरु, उनको जोड भारत र चीनलाई मिलाएर अघि बढ्नुमा हुनुपर्छ । 

No comments:

Post a Comment