Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 22, 2013

टचस्क्रिन, गाउँ र सपनाको स्तर

विष्णु शर्मा
२२ मार्च, २०१३


पछिल्लो हप्ता मैले म्याग्दी र बागलुङका गाउँ घुमेँ । गाउँमा अहिले धेरै बदलाव आइसकेछन् । लोडसेडिङ नहुने छेवैको खोलाबाट निकालिएको बिजुली, धुलौटे मोटरबाटो, मोबाइल र इन्टरनेटले पुगेको संचार, केही लाखको पुँजीमा थालिएको व्यवसायिक कृषि । विकासका यी छिटाबाहेक यतिबेला बेग्लै चहलपहल छ गाउँमा । त्यो हो –चुनाव । चुनावी कसरत सुरु भएपछि सदरमुकाममा खुम्चिएका नेता र कार्यकर्ता गाउँ पस्न थालेका छन् । फोटोसहितको मतदाता नामावली खिचाउन गाविस कार्यालयमा धुइरिएका गाउँले अनि भोटको गफले गाउँमा साँच्चिकै चुनाव सरगर्मी सुरु भएको संकेत मिल्छ । मेरो गाउँ रत्नेचौर हो जहाँ यतिबेला विकास र चुनावको बेग्लै रौनक छ । फोटोसहितको नाम दर्ता गराएर मैले आफूलाई चुनावमा समेट्न खोजेँ । यदि चुनाव भैहाल्यो भने यी गाउँमा विकास र खुशिको नयाँ रक्तसंचार हुनेछ ।

सहरभन्दा गाउँको जीवनस्तर यतिबेला समृद्ध देखिन्छ । नाममात्र गाउँ हो, विकासका पूर्वाधार सबै उपलब्ध छन् । इन्टरनेट, यातायात, शिक्षा, स्वास्थ्य सबै । चुनाव भै नै हाल्यो भनेपनि विकासको फाइदा गाउँले लिनेछ । डेढदशकदेखि स्थानीय निकायको चुनाव नहुँदा राज्य र गाउँबीचको सम्बन्ध छिनालिएको स्थिती छ । त्यसलाई चुनावले जोड्नेछ । अनि लोकतन्त्रले गाउँको शिरा र धमनीमा विकासको रगत प्रवाह गर्नेछ । यता सहरतिर मेरा सुकिला र डिग्री होल्डर साथीहरू बेरोजगार छन् । उता गाउँतिर मेरा साथीले पाँचदस लाखको लगानीमा व्यवसायिक कृषि, मोटरसाइकल सोरुम, अखबार प्रकाशन, सहकारी स्थापना गरेर रोजगारी दिलाइरहेका छन् । विदेशबाट फर्किएका कतिपय गाउँ र सदरमुकाम बेनीमै स्वरोजगार सिर्जना गर्दैछन् । विकासको असमानता हटाउने कुरामा वास्तवमै यी साथीहरू धन्यवादका पात्रहरू हुन् ।

यतिबेला गाउँ गाउँजस्तो छैन । पुँजीवादी संक्रमणसँगै गाउँमा सहर पसिसकेछ । गाउँका मौलिक गुणहरू छैनन् । प्रविधि, यातायात र बजारले गाउँको एसेन्सलाई परिवर्तन गरिसकेछ । भैंसी बाँधिने गोठहरूमा बाइक र स्कुटी देखिए । हलो जोत्ने हातमा स्मार्टफोन भेटिए । टचस्क्रिनले मेरै गाउँका तन्नेरीको सपनाको स्तरलाई अग्लो बनाइदिएछ । काठमाडौंमा भेटिने साथीहरूभन्दा तुलनात्मकरुपमा गाउँका साथीहरूलाई खुशि देखेँ । बरु उनीहरूले आफ्नो हैसियतअनुसारको सीमारेखा कोरेका छन् । यदि चुनाव भै हाल्यो भने गाउँ अझै समृद्ध बन्नेछ । चुनावका लागि गाउँले रेडी छन् । बरु सिंहदरबार र काठमाडौं रेडी हुनुप¥यो । अर्को अर्थमा भन्दा –चुनावको खेलमा गाउँले सहरलाई पराजित गर्नेछ ।

No comments:

Post a Comment