Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, March 12, 2013

खिलराजले तोके ज्योतिषको सल्लाहमा सपथको साइत !

विष्णु शर्मा
१२ मार्च, २०१३

प्रन्या खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन जुटेका प्रमुख दलहरूले अहिलेसम्म सहमतिका बुँदा सार्वजनिक गरेका छैनन् । तर, प्रन्या खिलराज रेग्मीलाई कार्यकारी प्रमुख बन्न हतारोजस्तो देखिएको छ । हिजोसम्म अदालतको फैसला नआइञ्जेल प्रधानमन्त्री नबन्ने अड्डी लिएका रेग्मीले नीजि ज्योतिषको परामर्शमा विहिबार विहान आठबजे सपथको शुभसाइत तोकिसकेका छन् । दलहरूले प्रस्ताव गरेको उच्चस्तरिय राजनीतिक संयन्त्रसहितका कतिपय बुँदामा असहमति जनाएका रेग्मीले दलहरूको ग्रीन सिग्नलअनुसार सपथको तयारी गरेका हुन् । दलहरू भने अदालतको फैसला अगावै राष्ट्रपतिबाट बाधा अड्काऊ फुकाएर बुधबार रेग्मीलाई अन्तरिम चुनाबी मन्त्रीपरिषदको अध्यक्षको सपथ गराउने तयारीमा छन् । अदालतमा रेग्मीलाई प्रधानमन्त्री नबनाउन परेको दुई मुद्दाको सुनुवाई भने चैत १ देखि सुरु हुँदैछ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, मतदाता नामावाली, नागरिकता, नेपाली सेनामा समायोजन हुने माओवादी लडाकुको दर्जा निर्धारणमा समेत सहमति जुटेपछि यतिबेला दलहरू सहमतिका बुँदालाई अन्तिमरुप दिने तयारीमा छन् । ठूला दलबीचको सहमतिमा साना दललाई पनि समेटेपछि रेग्मीको सपथ अघि बढ्ने योजना छ । केही साताअघि एक अर्का ज्योतिषीले खिलराजले पनि चुनाव गर्न नसक्ने भनेर भविष्यवाणी गरेका थिए । राष्ट्रिय निर्णयको यस्तो महत्वपूर्ण फैसला ज्योतिषको प्रक्षेपणभन्दा पनि दलहरूबीचको सहमतिबाट जुट्नुपर्ने अहिलेको अवस्था हो । रेग्मी आफ्ना मातहतका न्यायाधीशबाट सकारात्मक फैसला आउने विश्वासमा छन् । सोमबारै सर्वोच्च प्रवक्ता हेमन्त रावलले प्रन्याको विज्ञप्ती संविधानअनुकूल रहेको भनेर स्पष्टीकरण दिइसकेका छन् ।

रेग्मी केमा असन्तुष्ट छन् ?
रेग्मीले अन्तरिम चुनाबी मन्त्रीपरिषदलाई सुझाव दिन बनाउन लागिएको उच्चस्तरिय राजनीतिक संयन्त्रको संवैधानिक हैसियतमा प्रश्न उठाएका छन् । उनको सुझावपछि दलहरूले भाषा मिलाएर दलहरूको भूमिकालाई बेग्लैरुपमा लिपिबद्ध गर्ने भएका छन् । रेग्मीले आफ्नो व्यक्तिगत स्वतन्त्रतमा एकदर्जन मन्त्रीपरिषदका सदस्य नियुक्त गर्ने माग पनि गरेका छन् । तर, भोलिसम्म केही अड्को भएन भने रेग्मी नेतृत्वमा चुनाबी सरकार गठन हुने सम्भावना पुनः बलियो बनेको छ । उनी प्रधानमन्त्री बने भने नेपाली समाज विभाजित त हुने छनै ।

No comments:

Post a Comment