Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, March 3, 2013

कुटनीतिको मुस्ताङ कार्ड

विष्णु शर्मा
२ मार्च, २०१३

‘सशष्त्र विद्रोह गर्नुपर्छ भन्ने तिव्वती युवाको मागलाई दलाइ लामाले रोक्न सक्ने सम्भावना अत्यन्त क्षीण हुँदै गएको छ’ एक तिव्वत विज्ञले भनेका छन् –‘भौगोलिक रुपमा मात्र नभई अमेरिका, भारत र युरोपेली शक्ति राष्ट्रहरुको अखडाको रुपमा नेपाल प्रयोग हुने खतरा बढेको छ ।’ ती विज्ञले यदि त्यसो हुन गयो भने उनीहरुले नेपाललाई पुनः सम्भावित खम्पा विद्रोहको अखडा बनाउने आशंका पनि गरेका छन् । पछिल्लो समय मुस्ताङमा बढेको कुटनीतिक सक्रियता र एक तिब्बती धर्म भिक्षुले बौद्धमा गरेको आत्मदाहले उक्त विश्लेषणमा बल थपेको छ । भारतीय राजदुत जयन्तप्रसाद र चिनियाँ निर्वतमान राजदूत याङ होउलानले हालै हिमालपारि पुगेर आफ्नो लगानीमा बनेका पूर्वाधारको निरिक्षण गरेका थिए । अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि लोमान्थाङ जाने तयारी भैरहेको स्रोतले उल्लेख गरेको छ । तिब्बत अपराइजिङको वर्षगाँठ नजिकै आउन लाग्दा तिब्बतीले आन्दोलन चर्काउने सम्भावनापछि यतिबेला प्रहरीले त्यहाँ सतर्कता बढाएको छ ।

हिंसात्मक खम्पाविद्रोहको आधारभूमिमा भैरहेको यस्तो आवागमनले कुटनीतिक र राजनीतिक वृत्तमा संशय पैदा गरेको छ । यसअघिको फ्रेन्च र जर्मन राजदूतको मुस्ताङ यात्राले पनि आशंकाका आधारलाई दरिलो तुल्याएको छ । अमेरिका र भारतले मुस्ताङमा लगानी गरेका विकास र विस्तार तिव्वतलाई नजिकबाट सुम्सुम्याउने र मुस्ताङलाई सामरिक मैदान तुल्याउने मनोविज्ञानले प्रेरित छ ।

‘विकासमार्फत भारतले भूमिका बढाएको पक्कै हो’ पंक्तिकारसँगको कुराकानीमा पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टका स्वकिय सचिव चन्द्रलाल थकालीले स्वीकारेका थिए । भारतीय आकांक्षमा रेखाङ्कन गरिएको प्रस्तावित कालीगण्डकी कोरिडोर, मुक्तिनाथ धर्मशाला, कागवेनीको पुस्तकालय र विद्यालय, छोसेरको ‘मा करुणा’ विद्यालय र हिमालय फाउन्डेसन सबैको निहीतार्थ विकासको आवरणमा रणनीतिकरुपले प्रेरित छन् । जिग्मे परवल विष्ट स्वतन्त्र तिव्वतका अमेरिकी कुटनीतिक कार्ड बन्दैछन् र मुस्ताङ सामरिक स्थल बन्दैछ । अमेरिका र भारत चाहन्छन् –तिव्वतप्रति वफादार भनिएका विष्टलाई आफ्नो अनुकूल उपयोग गर्न सकियोस चीनका विरुद्ध ।

चीनलाई मुस्ताङ र जिग्मे परवल विष्ट टाउको दुखाईको विषय र पात्र बनेको छ । यसमा मुलुकको कुटनीतिक असन्तुलन र बेलगाम कुटनीतिक भूमिका जिम्मेवार छ । उपल्लो मुस्ताङको भ्रमण आफैमा आलोच्य होइन यद्यपी पदमार्गी बनेका राजपूत्र जिग्मेसिङ्गेको भूमिका, नेपाल र तिव्वतको सीमाना र तिव्वतमा रहेका चिनीयाँ सेनाको निरीक्षण गर्ने पूर्व अमेरिकी राजदूत न्यान्सी जे पावेलको भूमिका आफैमा आलोच्य छ । कुटनीतिक मर्यादामा पावेलले अलिकति पनि ध्यान पु¥याएको देखिएको थिएन त्यतिबेला । दुईवर्षअघि यस कुराको खण्डन गर्दै उनले आरोपहरूको खण्डन गरेकी थिइन् ।  राष्ट्रपतिका रुपमा सी जिङपिङले सत्ता सम्हालेपछि धर्मशालास्थित दलाई लामा चीनसँग वार्ता गर्न तयार छन् । तर, वार्ता भएपनि असफल हुने निश्चित छ । शान्तिपूर्ण आन्दोलनबाट भएन, सशष्त्र विद्रोह गर्नुपर्छ भन्ने युवापंक्तिको मागलाई दलाइ लामाले कसरी सम्बोधन गर्छन् चुनौतीपूर्ण छ । किनकी दलाइ लामा पछिको साङ्गे सरकार वार्ता मार्फत समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेपनि तिब्बती योङ कंग्रेस त्यसको पक्षमा छैन ।

धर्मशालाको निर्वासित सरकार र सदन अल्पमतमा छ । यदि सशष्त्र आन्दोलन भएमा नेपाल अर्को खम्पा विद्रोहको अखडा बन्नेछ । किनकी भारतको सिक्कीम, नाथुला, असम, पाकिस्तानको रावलपिण्डी र बर्मासँग जोडिएका तिव्वती नाकाहरुको तुलनामा नेपालबाट तिव्वत प्रवेश गर्न सकिने धेरै सजिला ठाउँहरु छन् । नेपालको संघियतामा जातिय र पहिचानको नाराले पनि सो सम्भावनालाई फाइदा पु¥याएको छ । किनभने संघिय बहससँगै उठेको एक हिमाली राज्यको मागले तिव्वती आन्दोलनलाई सघाउने निश्चित छ । संविधानसभामा उठाइएको हिमाली राज्यको वकालत गर्ने सभासद्हरु सबै ‘स्वतन्त्र तिव्वत पक्षधर’ छन् जसमा मुस्ताङी सभासद् टासी स्याङ्वो गुरुङ्सेनी पनि छन् । यसले आगामी दिनमा उठ्न सक्ने गडबडीलाई चीनले नियन्त्रणमा लिन कठिनाई पर्नेछ ।

लोमान्थाङ नेपालीभूमिभित्रै परेपनि त्यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक गाँठो तिव्वतसँग कसिएको छ । जिग्मे परवल स्वयम तिव्वतबाट बसाइ सरेका हुन् । बढ्दो संशयका बीच भैरहेको राजदुतहरूको भ्रमणले कुटनीतिक र राजनीतिक अर्थ बोकेको मात्र छैन स्वयम मुस्ताङीहरु कुटनीतिक अन्यौलमा छन् । किनकी मुस्ताङ त्यो भूमिकाका लागि हरेक कोणबाट उर्वरभूमि छ । दुर्गमता, पर्यटकीय र तिव्वती सिमाना मुस्ताङलाई उपयोग गर्ने अमेरिकी र भारतीय आधारहरु हुन सक्छन् । किनभने दुर्गमतालाई सहयोग गर्न स्वास्थ्य, शिक्षा, सडक र पूर्वाधार स्थापना उपयोगका रणनीति हुन सक्छन् । पर्यटन क्षेत्रलाई सहयोग गर्न पर्यटक बन्नु र पर्यटकीय पूर्वाधारको विकास गर्नु अन्य उपयोगका रणनीति हुनसक्छन् । अहिले यिनै रणनीतिका आधारमा भारत र अमेरिकाले आफ्नो मुस्ताङ कार्ड प्रयोग गरेका छन् । भारतले प्रस्तावित कालीगण्डकी कोरिडोरमा आकांक्षा लादेजस्तै ।

कुटनीति जुनसुकै बहानामा देखापर्न सक्छ । यसको रुप, भूमिका, उपयोग र सम्बन्धहरु परिवेश अनुकूल निर्धारित हुन्छन् । जिग्मे परवल विष्ट स्वतन्त्र तिव्वतको कार्ड बन्न सक्छन् भन्ने बलियो आधार चाहिं गणतन्त्रपछि उनको अधिकार कटौती गरिएपनि व्यवहारिक रुपमा उनको भूूमिका सवल रहनु हो । किनभने कानुनी रुपमा उनको भूमिकालाई निलम्बन गरिएपनि मुस्ताङको सामाजिक र सांस्कृतिक यथार्थतामा उनको भूमिका कार्यकारी छ । जसले सिंगो मुस्ताङलाई नेतृत्व दिन सक्छ । विकास, पर्यटन वा हिमाल आरोहण सबै भूमिकामा कुटनीतिक देखा पर्न सक्छ । कुटनीतिको मुस्ताङ कार्डले विदेशीलाई लाभ पुगेपनि नेपालीलाई भने हानि पुग्ने पक्का छ ।

No comments:

Post a Comment