Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 2, 2013

रुप बदल्दैछ विश्व फिल्म

विष्णु शर्मा
२ मार्च, २०१३


फिल्मलाई विशुद्ध कलाको रुपमा मात्र लिएको भए ‘आर्गो’ ओस्करको हकदार बन्ने थिएन । जसै, अमेरिकी प्रथम महिला मिसेल ओवामाले जितको घोषणा ह्वाइट हाउसबाट गरिन्, फिल्म समीक्षकहरू यो जितमा एजेन्डा पनि देख्न थाले । अन्ततः थोरै कला र धेरै कुटनीतिक रस्साकस्सीका बीच ड्रामा/थ्रीलर ‘आर्गो’ ओस्कर (एकेडेमी) अवार्डमा सर्वोत्कृष्ट फिल्म बन्यो । विश्व फिल्मको यो प्रतिष्ठित अवार्ड आइतबार लस–एन्जल्समा बाँडिएको छ । ‘आर्गो’ले उत्कृष्ट फिल्मसहित तीन अवार्ड जित्यो । दुर्भाग्य, यसका निर्देशक जोन एफलेकलाई खाली हात लाग्यो र ओस्कर इतिहासमा ८० वर्षपछि सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड अलग–अलग फिल्मको पोल्टामा पुग्यो । ‘लाइफ अफ पाइ’का ताइवानी निर्देशक आङ लीले ‘ब्रोकब्याक माउन्टेन’पछि दोस्रोपटक अवार्ड जिते ।


प्रतिस्पर्धी ‘लिंकन’लाई चक्मा दिँदै जित रचेको ‘आर्गो’ले इरानमा अपहरणमा परेका ६ अमेरिकी नागरिकलाई सीआइएले गरेको उद्दारको कथा भन्छ । ओस्कर जित्ने प्रेडिक्सनका साथ टाइम म्यागजिनले रिभ्यु लेखेको फिल्म ‘लिंकन’प्रति यति आशा थियो कि स्वयम ‘आर्गो’ निर्देशक एफलेकले समेत अवार्ड मञ्चबाटै ‘लिंकन’ निर्देशक स्टिभन स्पिलवर्गको खुलेर प्रशंसा गरे । मुस्लिम आणविक राष्ट्र इरानमाथि बनेको फिल्मले ओस्कर जित्नुलाई अमेरिकी परराष्ट्र नीतिको जितका रुपमा हेरिएको छ । कतिपय समीक्षकले ह्वाइटहाउसले आफ्नो ‘सफ्ट पावर’ हलिउडलाई समेत इरानविरुद्ध उपयोग गरेको टिप्पणी गरेका छन् । फिल्ममा इरानी सुरक्षाको धज्जी उडाइएको छ ।

‘आर्गो’को जित लगत्तै इरानी मिडिया अमेरिकाविरुद्ध खनिएका छन् । यसले मध्यपूर्व र अमेरिकाबीचको संकट झनै गहिरिने आशंका गरिएको छ । राजधानी तेहरानस्थित इरानी सरकारी प्रेस टिभीले ‘आर्गो’मा प्रयुक्त कथा पूर्णतः असत्य र इरानीको छवि अन्तराष्ट्रिय जगतसमक्ष बिगार्ने कुटिल राजनीतिक नियतले प्रेरित भएको आरोप लगाएको छ । राष्ट्रपति अहमदिनेजादले त ‘आर्गो’को जितप्रति क्रुद्ध प्रतिक्रिया जनाउँदै आफ्नो मुलुकले अमेरिकाविरुद्ध घुँडा नटेक्ने अभिव्यक्ति दिएका छन् । ओस्कर समारोह लगत्तैको ट्वीटर बाढीमा कतिपयले राष्ट्रपति ओबामा प्रशासनको कथित जित भएको ट्वीटिएका छन् । यस्तो आलोचना गर्नेमा रिपब्लिकन पार्टीका कतिपय सांसद समेत छन् । इरानमाथिको फिल्मलाई जिताएर वासिङटनले अप्रत्यक्षरुपमा बेइजिङ र मस्कोलाई समेत दवाव दिएको हुनसक्छ । जेहोस्, गोल्डेन ग्लोब र क्रिटिक्स च्वाइस अवार्ड जितेर ‘आर्गो’ले पहिल्यै ओस्कर जित्ने छनक दिइसकेको थियो ।

पर्दामा अब्राहम लिंकन बनेका डेनियल डे लेविसले ‘लिंकन’बाट सर्वोत्कष्ट अभिनेताको अवार्ड जित्दै ओस्करमा ह्याट्रिक गरे । सुन्दर पत्नीको साथमा ओस्करको रातो गलैंचामा पुगेका यी बेलायती अभिनेताले यसअघि ‘माइ लेफ्ट फुट’ र ‘देयर विल बी ब्लड’बाट अवार्ड जितेका थिए । संसारकै महान अभिनेताको रुपमा चित्रण गर्दै टाइम म्यागजिनले लेविसलाई तीन दशकको करियरमा उनले अभिनयको आफ्नै मानक खडा गरेको भनेर लेखेको थियो । ‘सिल्भर लाइनिङ्स प्लेबुक’का ब्राड्ली कुपरले लेविसलाई कडा टक्कर दिएका थिए । दुर्भाग्यवश, कुपरको फिल्म रिलिजको टाइमिङ मिलेन । ‘हंगर गेम’ स्टार जेनिफर लरेन्सले ‘सिल्भर लाइनिङ्स प्लेबुक’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । सेतो गाउन लगाएर मञ्चमा उक्लिँदा चिप्लिएर लडेकी लरेन्स मिडियामा गपिस पात्र बनिन् । ‘जिरो डार्क थर्टी’की जेसिका चेस्टेनलाई समेत यो विधामा दाबेदार मानिएको थियो । ओस्कर रेडकार्पेटमा २२ वर्षिया लरेन्सको कस्ट्युमलाई फेसन क्रिटिक्सले नम्बर वान भनेर चर्चा गरे । जेनिफरले यो एडेप्टेड फिल्ममा समस्याग्रस्त एउटी सुन्दरी विधवाको भूमिकामा अभिनय गरेर संसारको मन जितिन् । उनको यो मल्टिडायमेन्सन (बहुचरित्रकरण) अभिनयबाट नाओमी वाट्स, एमानुएल रिभाजस्ता हस्ती हिरोइन छायाँमा परे ।

आङ लीको जितमा सिंगो एसियाले खुशि साटेको छ । यान मर्टेलको चर्चित फेन्टासी उपन्यासमा आधारित ‘लाइफ अफ पाइ’बाट उत्कृष्ट निर्देशकको उपाधी जितेका लीलाई हलिउड प्रतिस्पर्धी बलिउडले समेत बधाइ बक्सियो । लीको अनपेक्षित विजयले डेभिड ओ रसेल, स्टिभन स्पिलवर्गजस्ता हलिउड लिजेन्डलाई मात्र माथ खुवाएन, विश्व शक्तिका रुपमा चिनको उदयलाई पनि प्रतिविम्वत ग¥यो । भारतदेखि क्यानडासम्मको सामुन्द्रीक यात्रामा बंघाली बाघ र भारतीय केटाबीचको भावनात्मक सम्बन्धको कथा ‘लाइफ अफ पाइ’ले पेश गर्छ । शक्तिशाली स्टोरी टेलिङ (कथा भन्ने शैली)को कारण यो फिल्मले निर्देशकसहित छायांकन, ओरजिनल स्कोर र भिजुअल इफेक्टमा समेत कब्जा जमायो । ‘बर्फी’ बाहिरिएको पीडामा ‘लाइफ अफ पाइ’लाई साथ दिनु बलिउडको बाध्यता थियो ।

रेडकार्पेटमा खराब फेसनले आलोचित ३० वर्षिया एना हाथवेले ‘लेस मिजरेवल्स’बाट उत्कृष्ट सह–अभिनेत्रीको टाइटल जितिन् । यो सांगीतिक फिल्ममा एना फ्याक्ट्रीमा काम गर्ने दुःखित महिला मजदुर बनेकी छन् । ज्याकी वेभर, एमी आडम, स्याली फिल्डजस्ता कडा प्रतिस्पर्धीलाई पछि छाडेकी एनाले पहिलोपटक ओस्कर जितिन् । टम ब्वाइ शैलीको छोटो कपाल र आकर्षक मुहारकी एना सन् २००८ मा पनि ‘रचेल गेटिङ म्यारिड’बाट मनोनित भएकी थिइन् । ‘डियांगो अनचेन्ड’बाट क्रिस्टोफर वाल्ट्जले उत्कृष्ट सह–अभिनेताको अवार्ड जिते । अष्ट्रियन एक्टरको यो दोस्रो अवार्ड हो । जेम्स बन्ड फिल्म ‘स्काइफल’मा कोकिल स्वर भरेकी बेलायती गायिका एडेलले उत्कृष्ट ओरजिनल गीतबाट अवार्ड हात पारिन् । ‘लिंकन’, ‘स्काइफल’ र ‘डिज्यांगो अनचेन्ड’ले दुई–दुई विधामा अवार्ड जिते । बन्ड श्रृंखला ५० वर्ष पुगेको छेकोमा हलिउड कलाकारले उनीप्रति सम्मान दर्शाए ।

बहुचर्चित तर विवादास्पद फिल्म ‘जिरो डार्क थर्टी’का लागि ओस्करको यो संस्करण अभिशाप बन्यो । ओसामा विन लादेनको खोजीमा बनेको यो फिल्मलाई ओस्करमा मनोनित हुन नदिन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रशष्त अवरोध खडा गर्‍यो । निर्देशक क्याथरिन विगेलोलाई स्पष्टीकरण सोधियो । उत्कृष्ट फिल्म र अभिनेत्री लगायतका विधामा मनोनयन भएको ‘जिरो डार्क थर्टी’ले उत्कृष्ट ध्वनी मिश्रण विधामा अवार्ड त जित्यो तर ‘स्काइफल’सँग बाँड्नुपर्ने बाध्यता रह्यो । सत्तरीको दशकमा बेपत्ता भएका संगीतकार रोड्रिग्युजको खोजीमाथि बनेको ‘सर्चिङ फर सुगरम्यान’ले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जित्यो । अवार्ड थाप्दै वृत्तचित्र निर्माता सिमोन चिनले ठट्टा हालेका थिए –‘रोड्रिग्युज ओस्करको यो रातमा यहाँ छैनन किनभने उनी सफलताको यो क्रेडिट आफूलाई दिन चाहँदैनन् ।’ अष्ट्रियन ड्रामा ‘अमोर’ले उत्कृष्ट गैरअंग्रेजी भाषा अर्थात विदेशी फिल्मको अवार्ड जित्यो । मृत्यु पनि कसरी कलात्मक बन्छ भन्ने थिममा बनेको ‘अमोर’को अर्थ फ्रान्सेली भाषामा ‘लभ’ भन्ने हुन्छ । गतवर्ष एन्जेलिना जोलीको दाहिने सेतो तिघ्रो चर्चित बनेको ओस्करमा यसपटक ‘वार्डरोव मलफङ्सन’ घटेनन् ।

व्यवसायिक जति ओस्कर बाहिर
एकेडेमी अवार्डको पछिल्लो संस्करणले विश्व फिल्मको ट्रेन्डमा बदलाव आएको छनक दिन्छ । ‘स्काइफल’लाई अपवाद मान्ने हो भने मनोनित र विजयी सबै फिल्म ‘आर्ट्स’ शैलीका थिए । वर्ष २०१२ मा हलिउडले कूल १०.८ विलियन अमेरिकी डलर आम्दानी गर्‍यो । ठूलो बजेट र ठूलै आम्दानी गर्ने ‘मार्भल एभेन्जर्स’, ‘ह्यारी पोर्टर’, ‘ट्वाइलाइट सागा–२’, ‘स्पाइडरम्यान–२’ ‘द डार्क नाइट राइजेज’ जस्ता फ्रेन्चाइज फिल्म अवार्डमा पाखा लागे । ठूला स्टारको स्टारडम ओस्करले देख्न पाएन । ठ्याक्कै बलिउडमा रणवीर कपुर र इरफान खानले पैसा छाप्ने तीन ठूला खानलाई अवार्डबाट विस्थापित गरेजस्तो । बरु, सामान्य कथामा गजबको न्यारेसन भएका र कम आम्दानी गर्ने फिल्म हावी भए । यसो हुनुमा दर्शकीय मनोविज्ञान, भाव र संवेदना हुनुले हो । कथित वैकल्पिक धारका फिल्मको ट्रेन्ड सुरु भएको संकेत यसपटकको ओस्करले दिन्छ ।

राम्रो बन्न पैसा होइन, स्टोरी टेलिङ
हलिउडको कथा भन्ने शैली सबैलाई थाहा भएकै कुरा हो । पछिल्ला वर्षमा युरोपियन मुलुकमा बन्ने फिल्मले हलिउडको न्यारेसनलाई चुनौति दिन थालेका छन् । कम लगानीमा गुणस्तरीय क्राफ्ट उत्पादन गर्नु युरोपियन फिल्मको विशेषता हो । फिल्म राम्रो र मर्मस्पर्शी बनाउन पुँजी प्राधान्य हुन्छ भन्ने मान्यता अहिले रहेन । कम स्रोत र साधनमा गुणस्तरीय फिल्म बनाउन सकिन्छ भन्ने पाठ नेपाली फिल्मले सिक्नु जरुरी छ । गतवर्षको उत्कृष्ट फिल्म ‘द आर्टिस्ट’ र ‘यसपटकको उत्कृष्ट विदेशी फिल्म ‘अमोर’ कम लगानीमा बनेका अब्बल फिल्म हुन् । उत्कृष्ट विषय र सिर्जनात्मक स्टोरी टेलिङ हुने हो भने हामीले नेपाली फिल्मको मौलिक पहिचान बनाउन सक्छौं । कन्टेन्टमा हामी हलिउडभन्दा धनी छौं । हाम्रो कमजोरी आफ्नै दृश्यभाषा नहुनु हो । ओस्करबाट नेपालले ‘सिनेम्याट्रिक ल्यांग्वेज’ सिक्नुपर्छ । विषय आफैमा नराम्रो हुँदैन, त्यसलाई भन्ने शैलीले सौन्दर्यमा फरक पार्ने हो । ‘लाइफ अफ पाइ’ न्यारेसनको सुन्दर नमुना थियो । हलिउडको आफ्नै मालिक न्यारेसन छैन, युरोपबाट ऊ आयात गरिरहेको छ ।

फिल्मलाई फेसनले उछिन्यो
ओस्करमा फिल्मले जति चर्चा कमायो, त्योभन्दा बढी सेलिव्रेटी रेडकार्पेट फेसनले पायो । जेनिफर लरेन्सको ह्वाइट गाउनदेखि एना हाथवे, जेसिका क्रिस्टेनलगायत अभिनेताहरूको फेसन स्टेटमेन्टले लस–एन्जल्स तात्यो । जेनिफर स्टाइललाई फेसन पण्डितले रुचाए । समारोह सुरु हुनु एक घण्टा अघिदेखि रेडकार्पेटमा फेसनको गुल्जार चम्किइसकेको थियो । कतिपय टेलिभिजनले त सेलिव्रेटीलाई जुत्ता निकाल्न लगाएर मोजाको ब्रान्डको समेत बखान गरे । सेलिव्रेटीहुडको यो उच्चतम अभ्यास थियो । अभिनेत्रीहरूको हेयर स्टाइलको समेत प्रशंसा भयो । राम्रो फेसन गर्नु भनेको ओस्करको आधा रेस जित्नु हो भन्ने उखान यतिबेला बेभर्ली हिल्सतिर चल्न थालेको छ । फेसनको यस्तो चित्र अघिल्लो साता सकिएको संगीतको ग्रामी अवार्डमा पनि देखिएको थियो । ग्रामी आयोजकले त सेलिव्रेटीलाई छोटा कस्ट्युम नलगाउन उर्दी जारी नै गरेको थियो । ओस्करको यो अभ्यासबाट नेपालले सिक्ने भनेको फिल्ममा कस्ट्युमलाई पनि ध्यान दिनुपर्छ भन्ने हो ।

सामाजिक संजालले थिचेको ओस्कर
इन्टरनेटको सामाजिक संजाल ट्वीटर, फेसबुक र युट्युवले फिल्मको मार्केटिङ र पब्लिसिटीमा क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ । हाम्रै नेपालमा ‘लुट’देखि श्रीगणेश भएको सोसल साइटको यो ट्रेन्ड र क्रेजले निर्माण र प्रचारप्रसार लागतमा कमी आएको छ । ओस्कर आयोजकले पहिलोपटक सोसल साइटलाई अभूतपूर्व ढंगले उपयोग गरे । यति सम्मकी डल्बी थिएटरमा पुगेका सबै सेलिव्रेटीलाई अनिवार्य फोटो सेयर र ट्वीट गर्न लगाइएको थियो । सेलिव्रेटीले पनि यो काइदा माने । गत आइतबार ट्वीटरले ओस्कर ट्रेन्डलाई नम्बर वानमा राखेको थियो । विश्वका ओस्कर दर्शक र नेटिजनले सेलिव्रेटी र आयोजकसँग अन्तक्रिया गर्ने प्लेटफर्म पाए । नेपाली फिल्मले पनि मार्केटिङलाई प्रविधिसँग जोड्न सके अझै कम खर्चमा फिल्मको निर्माण, वितरण र प्रदर्शन गर्न सक्थ्यो । नेपाली नेटिजनबीच यस्तो अन्तक्रियाको लोकतान्त्रिक कसरत त सुरु भएको छ तर पर्याप्त छैन ।

ओस्कर विजेता सूचि
सर्वोत्कृष्ट फिल्म : आर्गो
सर्वोत्कृष्ट अभिनेता : डेनियल डे लेविस (लिंकन)
सर्वोत्कृष्ट अभिनेत्री : जेनिफर लरेन्स (सिल्भर लाइनिङ्स प्लेबुक)
सर्वोत्कृष्ट सह–अभिनेता : क्रिस्टोफ वाल्ट्ज (डिज्यांगो अनचेन्ड)
सर्वोत्कृष्ट सह–अभिनेत्री : एना हाथवे (लेस मिजरेवल्स)
सर्वोत्कृष्ट निर्देशक : आङ ली (लाइफ अफ पाइ)
सर्वोत्कृष्ट मौलिक पटकथा : क्वेन्टिन टोरान्टिनो (डिज्यांगो अनचेन्ड)
सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले : क्रिस टेरियो (आर्गो)
सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : ब्रेभ
सर्वोत्कृष्ट छायांकन : क्लाउडियो मिरान्डा (लाइफ अफ पाइ)
सर्वोत्कृष्ट कस्ट्युम डिजाइन : ज्याकलिन डुरान (एन्ना क्यारोनिन)
सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर : सर्चिङ फर सुगरम्यान
सर्वोत्कृष्ट डकुमन्ट्री सर्ट सब्जेक्ट : इन्नोसेन्ट
सर्वोत्कृष्ट फिल्म सम्पादन : आर्गो (विलियम गोल्डेनवर्ग)
सर्वोत्कृष्ट विदेशी फिल्म : अमोर (अष्ट्रिया)
सर्वोत्कृष्ट मेकअप हेयर स्टाइल : लेस मिजरेवल्स
सर्वोत्कृष्ट ओरजिनल स्कोर : लाइफ अफ पाइ
सर्वोत्कृष्ट ओरजिनल सङ : एडेल (स्काइफल)
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : लिंकन
सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म : पेपरम्यान (जोन कार्स)
सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : कफ्र्यु (सेवान क्रिस्टेनसेन)
सर्वोत्कृष्ट ध्वनी सम्पादन : स्काइफल र जिरो डार्क थर्टी
सर्वोत्कृष्ट ध्वनी मिश्रण : लेस मिजरेवल्स
सर्वोत्कृष्ट भिजुअल इफेक्ट्स : लाइफ अफ पाइ

यो आलेख नागरिक दैनिकको शनिवारिय संस्करण ‘कोलाज’मा कभर स्टोरीको रुपमा प्रकाशित भैसकेको हो । प्रतिलिपी अधिकार लाग्नेछ ।

No comments:

Post a Comment