Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, February 14, 2013

हलिउड नेक्सस नेपाल

विष्णु शर्मा
१४ फेव्रुअरी, २०१३

नेपाल र अमेरिकाबीचको दूरी १६ घण्टे हवाइ उडानमा मात्र सीमित छैन । पछिल्लो समय दुई देशबीच सांस्कृतिक अनुभव साटासाटको घनिष्ठता बाक्लिएको छ । विश्व फिल्मको केन्द्र हलिउड र पहिचानका लागि संघर्ष गरिरहेको नेपाली फिल्मले एकअर्काको नाडी छाम्न थालेका छन् । हलिउड सेलिव्रिटी नेपाल आउँछन् र नेपाली सेलिव्रिटी लस–एन्जल्स जान्छन् । हलिउड नेक्सस नेपालको यो आयामबाट काठमाण्डूले भने फाइदा लिन सकेको छैन ।


सन् १९७८ मा पहिलोपटक हलिउड अभिनेता रिचर्ड गेर नेपाल आएका थिए । उनी ६ पटक यहाँ आइसकेका छन् । गतवर्ष राजधानीको बत्तिसपुतलीस्थित होटल द्धारिकाजमा देखिएका गेर खुलेरै स्वतन्त्र तिव्वत अभियानमा लागेका अभिनेता हुन् । कुटनीतिक नियोगको चासोका कारण उनको नेपाल आगमन सँधै गुमनाम हुने गर्छ । ‘अमेरिकन जिगेलो’, ‘प्रिटी वुमन’, ‘रन–वे व्राइड’जस्ता सफल सिनेमाका अभिनेता गेर पछिल्लो समय चलचित्रमा कम र समाजसेवामा ज्यादा व्यस्त छन् ।

‘द डेली प्रिजन पल्मवर’, ‘द लाइट द्याट फेइल्ड’, ‘ट्वान्टी फोर आवर इन अ वुमन्ज लाइफ’जस्ता चर्चित सिनेमाकी अभिनेत्री हेलेना द क्रेस्पो पाँचमहिना अघि नेपाल आइन् । काठमाण्डूका बालबालिकालाई पढाइ खर्च जुटाउन र ‘सर्ली भ्यालेन्टाइन’ नाटक मञ्चन गर्न पुस ७ गते क्रेस्पो काठमाण्डूमा थिइन् । उनको नेपाल आगमन कम्बोडियास्थित नाटकघर निर्माणमा अर्थ संकलन गर्नु हो । तालनगरी पोखरा समेत घुमेकी क्रेस्पोले नेपाली संस्कृतिले आफूलाई आकर्षित गरेको बताएकी थिइन् । उनी चर्चित टेलिभिजन प्रस्तोता र नाट्य निर्देशक पनि हुन् ।

वर्ष २०६८ मा नेपाल आउने सर्वाधिक ठूला हलिउड सेलिव्रिटी हुन् –लियोनार्दो डिक्याप्रियो । ‘रोमियो जुलियट’, ‘टाइटानिक’, ‘इन्सेप्सन’ अभिनेता गोप्यरुपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुगे । राष्ट्रसंघीय बाघ संरक्षण अभियानका लागि सद्भावना दूत समेत रहेका डिक्याप्रियोले बर्दियामा बाघबारे अनुसन्धान गरे, बाघको फोटो खिचे अनि निकुञ्ज कर्मचारीलाई चस्मा उपहार दिए । यत्तिका ठूला स्टारलाई कसैले चिनेनन्, मिडियामा खबर छापिएपछि मात्र कर्मचारीले उनलाई चिने । लोपोन्मुख बाघ संरक्षणका लागि सरकारले पहल गर्नुपर्ने उनको आग्रह थियो ।

सीएनएन फ्रिडम प्रोजेक्टकी एम्बेसडर रहेकी हलिउड अभिनेत्री डेमी मुरे गतवर्ष नेपाल एकसाता बसिन् । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासँग मुरेले ‘स्टोलन चिल्ड्रेन अफ द नेपाल’ नामक छोटो फिल्म बनाइन् । फिल्म सीएनएनमा पनि प्रसारण भयो । सिन्धुपाल्चोक, भैरहवा र वीरगञ्ज डुलेपछि मुरेले तत्कालिन प्रधानमन्त्री झलनाथ खनाललाई भेटिन् र बालबालिका बेचविखनविरुद्ध सरकारी ध्यानाकर्षण गराइन् । ‘घोस्ट’ अभिनेत्रीले केही महिनाअघि मिडियासँगको अन्तवार्तामा नेपाललाई घुम्नैपर्ने मुलुक भनेकी थिइन् ।

ब्रायन एडम्सको अभूतपूर्व कन्सर्टको याद मेटिनेछैन । ओस्करमा तीनपटक पाश्र्वगायन विधामा मनोनित भएका र दुईपटक गोल्डेन ग्लोव अवार्ड जितेका एडम्स कन्सर्टका लागि भारत हुँदै नेपाल आएका थिए । उनले गीत गाए, माउन्टेन फ्लाइटबाट हिमाल चहारे अनि हलिउड उडे । ‘रोविन उड ः प्रिन्स अफ दी थिभ्स’सहितका फिल्ममा संगीत दिएका एडम्सका कारण पर्यटन प्रवद्र्धन हुने कुराले व्यावसायी हौसिएका थिए । अमेरिकी निर्देशक इयान क्लेमर्ट यतिबेला नेपालमै छन् । उनी निर्देशित नेपाली फिल्म ‘आँपको अचार’ दुई महिनापछि रिलिज हुँदैछ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले समेत निर्माणमा सघाएको भनिएको हलिउड फिल्म ‘द हाइल्यान्ड’को छायांकनमा दर्जन कलाकार काठमाण्डू आए । सगरमाथा आधार शिविरमा खिचिएको उक्त फिल्मलाई पश्चिमा मिडियाले ‘द एभेन्जर्स’ र ‘ब्याटलसिप’जस्ता फिल्मसँग तुलना गरे । गरिब राष्ट्रहरूलाई आर्थिक सहयोग गर्ने कार्यक्रम ‘थ्रेस होल्ड’मा नेपाल सूचिकृत भएसँगै हलिउड सेलिव्रिटीको आकर्षण सुरु भएको हो । आकर्षणको यो श्रृङ्खला अझै बढ्नेछ ।

हलिउड कलाकार मात्र होइनन्, नेपाली कलाकारले पनि हलिउडमा पाइला टेक्न थालेका छन् । नेपाली फिल्ममेकर जसवन्तदेव श्रेष्ठले हलिउड प्रोजेक्ट ‘हाइवे टु धम्पुस’मा सह–लगानी गरेका छन् । यही फिल्ममा नेपालका राजवल्लभ कोइराला, सुएसा राणा र देशभक्त खनालले अभिनय गरेका छन् । अर्का अभिनेता रेश मरहठ्ठा एचबीओ च्यानलले बनाउन लागेको फिल्म ‘इन्र्डेन्जर्ड’मा अनुबन्धित छन् । आकाश अधिकारीको अपकमिङ फिल्म ‘सन्राइज्’लाई डिस्कभरीले सघाउने भएको छ ।

हलिउड सेलिव्रिटी नेपाल आउने क्रम बढेपनि यसबाट मुलुकले लाभ लिन सकेको छैन । ‘उनीहरूमार्फत मुलुकले पर्यटन प्रवद्र्धनको फाइदा लिन सक्नुपर्छ’ संचार मन्त्रालयका सह–सचिव धनराज ज्ञवाली भन्छन्, ‘यसलाई व्यक्तिगत आवतजावतमा मात्र सीमित नराखी सद्भावना दूतको रुपमा विदेशमा नेपाललाई प्रचारप्रसार गर्नुपर्छ ।’ विदेशी सेलिव्रिटीमार्फत सिनेमा पर्यटन प्रवद्र्धन गर्न सकिए घरेलु फिल्मको विकासमा टेवा पुग्नेछ ।

No comments:

Post a Comment