Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 11, 2013

बजार चेतना बेच्दैन, आइफोन बेच्छ

विष्णु शर्मा
१२ फेव्रुअरी, २०१३
Apple product Iphone 5 : Image-Google

सूचना प्रविधिको कुम्भ मेला मेरो ह्याङआउट अवसर रह्यो यसपटक । क्यान इन्फोटेकमा म वर्षेनी सहभागि रहेर नेपाली समाज र सूचना प्रविधिलाई नियाल्ने गर्छु । त्यो साइवर–टेक्नो पुस्ताको भीडमा म हराएँ । ल्यापटप र मोबाइलका आधुनिक भर्सन, थ्रीडी टेलिभिजन, ऊर्जाका वैकल्पिक उपकरणले थिचेको उक्त भव्य मेलाको सफलता वा असफलताको परख हुँदै गर्ला तर, प्रविधि उपभोक्ताको बढोत्तरीले नेपाली समाजको आधुनिकतालाई हर्लक्कै बढाइदिएको छ । आधुनिकताका दुईटा पिलरमध्ये सूचना प्रविधिको पहुँच वास्तवमै बढेको छ । हातहातमा मोबाइल र इन्टरनेटले दिलाएको संचार वास्तवमै अभूतपूर्व छ ।


अब प्रविधिको बिक्री होइन, प्रविधि चलाउने चेतनाको ज्ञान हुनु जरुरी भैसकेको छ । किनभने आधुनिकताको अर्को स्तम्भ चेतना हो । इन्फोटेक आयोजना गर्ने संस्था कम्प्युटर एसोसिएसन अफ नेपालले यो कुरालाई ध्यानमा राख्नु जरुरी छ । सवाल इन्टरनेट चलाउनु होइन, मुख्य सवाल इन्टरनेटको प्रयोग के मा भन्ने हो ? समाज विकास र आधुनिकताका लागि प्रविधिको पहुँच र सामीप्यता नभई हुँदैन तर, समस्या बजारमा छ । बजारले आधुनिकीकरणको मार्गलाई छेकिदिन्छ । बजारले प्रविधि त बेच्छ तर त्यही प्याकेजमा चेतना भने बेच्दैन । चेतना भने पढेर र ज्ञानले आउने हो । एप्पल र सामसुङ ग्यालेक्सी मोबाइलको प्याकमा चेतना आउँदैन ।

ट्याब्लेट र ल्याटपटमार्फत फेसबुक र ट्वीटरमा पहुँच हुनु ठूलो कुरा होइन, मुख्य कुरा तपाईंले फेसबुकमा कस्तो स्टाटस लेख्नुहुन्छ र त्यसको प्रभाव कस्तो रहन्छ भन्ने चेतना हो । यसो भएन भने सांस्कृतिक पछौटेपनबाट तपाईं ग्रसित हुनुहुन्छ । हाम्रो सहर यतिबेला यो रोगबाट ग्रसित छ । प्रविधिलाई माध्यमका रुपमा मात्र नबुझेसम्म समाजको गति अघि बढ्न सक्दैन । म्याक लुहानको माध्यमको अवधारणालाई बुझ्नुपर्छ । क्यान इन्फोटेकले आगामी संस्करण यो कुरालाई ध्यानमा राखेर गर्नुको विकल्प छैन । पूँजीवादका लागि चेतना र प्रविधि दुवै चाहिन्छ ।

No comments:

Post a Comment