Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 2, 2013

‘क्याराभान’ हिरो विकास माग्दै काठमाण्डू

विष्णु शर्मा
२ फेव्रुअरी, २०१३


ओस्कर मनोनित फिल्म ‘क्याराभान’ अभिनेता थिन्ले लोन्डुप लामा यतिबेला राजधानी झरेका छन् । (उक्त फोटो चारवर्षअघि खिचिएको हो) हालैको एक चिसो दिउँसो बौद्धस्थित छोरीको घरमा भेटिएका यी हिरोले मलाई सुचिया पिलाए । लो–मान्थाङपछि मैले राजधानीमा तिब्बती स्वादको चिया पिएको थिएँ । झन्डै डेढवर्षपछि भेटिएका थिन्ले गर्मी चढेपछि काठमाण्डू आएका हुन् । गतसाता आइपुगेका उनीसँग योजनाका थुप्रै पोका छन् । यसपटक उनलाई प्रधानमन्त्री भेट्नु छ, डोल्पाली विकासका माग राख्नुछ र हेपिएका डोल्पालीको मुहारमा हाँसो ल्याउनुछ । योजना सफल होलान् वा नहोलान् थिन्लेलाई प्रधानमन्त्री भेटेर यी माग राख्नुछ ।

अघिल्लो भेटमा जस्तो थिएनन् उनी । अलि दुब्लाएका र कामले खिरिएका । ‘इकु ब्याक अगेन’ फिल्मको सेटमा सूर्यविनायक जंगलमा मैले उनलाई भेटेको थिएँ । ‘डोल्पालीलाई विकास चाहिएको छ’ डोल्पाली लवजमा काठमाण्डू आउनुको कारण खोले उनले ‘तिमी फिल्मका हिरो, सबैले तिम्लाई चिन्छन्, त्यही भएर सरकारलाई तिम्ले नै हाम्रो माग राख्नुपर्छ भनेपछि म यहाँ आएको हुँ ।’ शिक्षा, स्वास्थ्य र सडकको माग गर्न आफू यहाँ आएको थिन्लेले बताए । यतिबेला थिन्ले अभिनेताभन्दा डोल्पाली विकासका अगुवाका रुपमा ज्यादा चिनिन्छन् । डोल्पालीले विकास माग्दै गतवर्ष दुनैमा गरेको प्रदर्शनमा थिन्ले पनि सहभागि थिए ।

हुन त उनले उपल्लो डोल्पामा आफ्नो नाममै थिन्ले फाउन्डेसन चलाएका छन् । उनको फाउन्डेसनले स्कुल र हेल्थ पोस्ट पनि चलाएको छ । यतिबेला उपल्लो डोल्पामा सडक लैजान उनी कस्सिएका छन् । उनको मागमा गाउँलेले पनि समर्थन जनाएका रहेछन् । के अब फिल्म नखेल्ने ? भन्छन् ‘यसबारे अहिले केही सोचेको छैन ।’ क्याराभान निर्देशक एरिक भ्याली पनि हालै काठमाण्डूमै थिए । तर, थिन्लेले एरिकलाई भेटेनन् । फोनमा चाहिँ कुरा भएको रहेछ । यिनै थिन्ले यतिबेला अन्तराष्ट्रिय सेलिव्रेटी भने बनेका छन् । तर, अहिले यिनको प्राथमिकतामा फिल्म होइन, समाजको विकास परेको छ ।

No comments:

Post a Comment