Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 4, 2013

चुम्बनमा प्रतिवन्ध नलगाऊ

विष्णु शर्मा
४ फेव्रुअरी, २०१३

‘जितु : त्यसो भए तिमीले मेरो एउटा काम गर्नुपर्छ ।
सुमी : के–के काम (काम्दै) ? म जे पनि गर्न तयार छु । ओठ सुकेको छ । गला सुकेको छ । जितुले आफ्नो सर्ट र चेन खोल्छ । सुमीले एकछिन सोच्छे र फेरी दुई हातले समातेर सक् गर्न चाहन्छे । जितु मस्तीले...
'' फिल्म ‘वार’को स्क्रिप्ट संवाद हो यो । अश्लिल भन्दै चलचित्र विकास बोर्डले ‘वार'सहित ‘नाइन ओ क्लक’ र ‘डर्टी लभ’लाई निर्माण इजाजत दिन यसअघि अस्वीकार गरेको थियो । ‘थ्री लभर्ज’को चुम्बनलाई बोर्डले चार सेकेन्डमा सीमित गरेको छ । यस्ता सिनेमालाई नियमन गर्ने भन्दै स्क्रिप्ट सेन्सर थालेको बोर्डले पत्रकार जमघट गरी उक्त फिल्मको स्क्रिप्ट सार्वजनिक गरेको थियो । जहाँ श्लिलता र अश्लिलताको पक्षमा चर्को वादविवाद भयो । ‘वार’को उक्त स्क्रिप्टलाई खुलेरै कसैले पनि वाचन गर्ने आँट गरेनन् ।
पटकथा अध्ययन समितिले थप २६ फिल्म पढेको थियो तर ब्यापक विरोधपछि काम रोकेको थियो । ‘कोकशाष्त्र’जस्तै लाग्ने स्क्रिप्ट खारेजीको सूचि लामो हुनसक्छ । स्क्रिप्ट ‘सेन्सर’मा अश्लिलताको व्याख्यालाई लिएर यतिबेला नेपाली मायानगरी स्पष्ट दुई ध्रुवमा बाँडिएको छ । सामाजिक मर्यादा प्रतिकूल हुने भन्दै बोर्डले पटकथामा रोक लगाइरहेको छ भने आलोचकहरू अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दैछन् । बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीले मसँग पटकथा सेन्सरलाई ‘आवश्यकताको सिद्धान्त’ भनेका थिए । यो माथापच्चीमा चलचित्र संघसहित बोर्ड एकातिर र समिक्षक अर्कोतिर अद्योपान्त खडा छन् ।

समिति सदस्य सुरेशदर्पण पोखरेलले सामाजिक उत्तरदायित्वलाई वहन गरेर अश्लिल फिल्मलाई रोक लगाइएको बताए । स्वयम उनकै फिल्म ‘थ्री लभर्ज’को चुम्बन पनि खुम्चिएको छ । भन्छन् –‘एडल्ट फिल्म बनाउन पाइन्छ तर पोर्न फिल्म पाइँदैन’ जमघटमा उठेका जिज्ञासा थामथुम पार्दै पोखरेलले भने, ‘कतिपय परिस्थितीमा सामाजिक उत्तरदायित्व प्रमुख हुने गर्छ । हामीले त्यही गरेका हौं ।’ फिल्म लेखक राजेश गोङ्गजु स्वतन्त्रताको सीमालाई फिल्मले उल्लंघन गर्न नमिल्ने बताउँछन् । ‘खास अवस्थामा सिनेमाभन्दा समाज अघि हुनुपर्छ’ उनले भने, ‘समाजको रक्षा सिनेमाको प्रमुख ध्येय हो ।’

डेढवर्षपछि बोर्डले पटकथा ‘सेन्सर’को नियम ब्युँताएको थियो । यसअघि माओवादी (खासगरी राजनीतिक) फिल्मलाई नियन्त्रण गर्न सत्तारुढ दल निकट नेतृत्वको बोर्डले त्यस्तो नियम बसाएका थिए । त्यतिबेलाको नियम खारेज गरेका निवर्तमान अध्यक्ष भण्डारीले नै अश्लिलता बढेको भन्दै पुनः सेन्सरको नियम ब्युँताएका थिए । अश्लिल फिल्मको ब्यावसायिक प्रभाव तीव्र देखिएपछि सेन्सर बोर्डले बीस बुँदे सेन्सर आचारसंहिता घोषणा गर्दैछ । तयार भैसकेको उक्त आचारसंहिता यतिबेला बोर्डमै अलपत्र छ । बोर्ड सदस्य कल्पना विसुरालले मसँग चाँडै जारी गर्नेबारे सोचिएको बताइन् । नयाँ अध्यक्ष पप्पुले यसलाई कसरी लिन्छन् यकिन छैन । यसअघि तत्कालिन राजसंस्थालाई असर पर्ने दृश्य र संवाद देखाउन नपाइने व्यवस्थासहितको सेन्सर कानुन राजसंस्थाको अवसानसँगै २०५७ मा खारेज भएको थियो । त्यसपछि सेन्सर बोर्डका पदाधिकारीले स्व–विवेकमा चलचित्र जाँचपास गर्दै आइरहेका थिए ।

नयाँ सेन्सर आचारसंहिताअनुसार अब चुम्वनका दृश्यलाई १५ सेकेन्डभन्दा बढी समय देखाउन पाइनेछैन । यद्यपी, नयाँ सेन्सर अध्यक्ष नारायणप्रसाद सञ्जेल आइसकेपछि १५ सेकेन्डको चुम्बन लाई पनि छोटाएर ४ सेकेन्डमा झारिएको छ । अर्धपारदर्शी पहिरनमा महिलाको संवेदनशिल अङ्गलाई देखाउन र सामाजिक मर्यादा प्रतिकूल हुने ढंगले देखाउन रोक लगाइएको छ । ट्रेलर सेन्सर गरेर मात्र थिएटर, टेलिभिजन र इन्टरनेटबाट प्रसारण गर्न पाइने नियम पनि छ । राष्ट्रिय सुरक्षा, कुटनीतिक सम्बन्ध तथा कुनै धर्म, जाति र क्षेत्रमा विद्धेष फैलाउने खालको दृश्य पनि पाइनेछैन ।

अन्त्यमा मेरो प्रश्न, किस भनेको माया र प्रेम दर्शाउने माध्यम हो । के अब माया व्यक्त गर्दा पनि घडी हेर्नुपर्ने हो ? (तस्विर : शुक्रवार साप्ताहिक)

No comments:

Post a Comment