Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 25, 2013

‘छड्के’ चलिरहँदा गुण्डा र ट्यापेहरू धमाधम

विष्णु शर्मा
२६ फेव्रुअरी, २०१३


संयोग भनौं, फिल्म ‘छड्के’ हलमा छड्किरहँदा प्रहरीले हलबाहिर भने धमाधम मुन्द्रे र ट्यापेलाई समात्न थालेको छ । चोरी, लुटपाट र गुण्डागर्दीमा संलग्न भएको भन्दै मंगलबार ७११ जनालाई पुलिसले नियन्त्रणमा लिएको छ । फिल्म ‘छड्के’ पनि ग्याङस्टर फिल्म हो । पात्रहरू पर्दामा गुण्डागर्दी गर्र्दैगर्दा बाहिर पनि रियल गुण्डाहरू समातिन थालेका छन् । कहाँबाट कतिजना समातिए भन्ने गणितमा नजाऊँ तर बेराजगारीका बाइप्रोडक्टलाई तह लगाउने पुलिस प्रयास स्वागतयोग्य छ । झ्यापुल्ले कपाल, कानमा मुन्द्रा र गेटअप पनि दुरुस्तै गरेर तपाईं बाहिर निस्कनु भएको छ भने पुलिसबाट बच्दा हुन्छ । प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले त्यस्तो मान्छे देख्दावित्तिकै समात्न सक्रिय भएको छ । अस्ति पोखराबाट सुरु भएको एन्टी–डन अप्रेसन थानकोटबाट राजधानी छिरेको छ ।

राजनीतिक अस्थिरता, बेरोजगारी र गरिबीका प्रत्युत्पादक मात्र हुन् मुन्द्रे र ट्यापेहरू । यसको उत्तर व्यवस्थाभित्रै खोजिनुपर्छ । उत्तर खोजिएन भने भोलि उनीहरू व्यवस्थाका लागि घातक हुन्छन् । सिस्टमलाई साबुन पानी लगाएर धुनका लागि यस्तो काममा लागेको युवापुस्तालाई इन्गेजमेन्ट गराइराख्नुपर्छ । त्यस्तो इन्गेजमेन्ट रोजगारीबाट मात्र सम्भव छ । यसका लागि बाबुराम सरकारले अघि बढाएको युवा स्वरोजगार कोषलाई सक्रिय बनाइनुपर्छ । तर, यतिबेला सरकार पार्टी कार्यकर्ता र वाइसिएललाई पोस्न मात्र कोषको ढुकुटी रित्याइरहेको छ । उसै त युद्धले एउटा सिंगो पुस्ता अनुत्पादक भैरहेको बेला गुण्डागर्दी र लागुऔषधमा लागेर अपराध गरिरहेका युवा हुर्किनु समाजका लागि घातक हो । यसको तत्कालिक प्रयास राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नगर्दाबाटै थालिनुपर्छ ।

ठूला डनहरू राजनीतिक संरक्षणमै छन् । प्रत्येक पार्टीका युवा दस्ता गुण्डागर्दीमा संलग्न छन् । कतिपयलाई मन्त्रीले नै संरक्षण दिएको आरोप लागिरहन्छ । यसरी बौद्ध र बालाजुबाट गुण्डा पक्रनुमात्र भन्दा अपराधीका संरक्षकको पहिचान गर्नुपर्छ । यसको समस्या तलबाट होइन, माथिबाट खोजिनुपर्छ । समृद्ध नेपालले यस्तो युवा जेनेरेसन खोजिरहेको छैन । शिक्षा, प्रविधि, ज्ञान र संस्कारले अभ्यस्त युवा यतिबेलाको आवश्यकता हो । सरकारले पहिला संविधान निर्माण गरि युवालाई इन्गेजमेन्ट गराइराख्ने सूत्र पहिल्याउनुपर्छ । यसको मुख्य दायित्व पुँजीवादी बाटोमा अघि बढ्ने कसम खाएर माओवादीले लिनुपर्छ ।

No comments:

Post a Comment