Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 23, 2013

पारस यसकारण बाँच्नुपर्छ

विष्णु शर्मा
२३ फेव्रुअरी, २०१३

पारस शाहको स्वास्थ्य अवस्थालाई लिएर जसरी सामाजिक संजालका भित्ताहरू भरिए –यसले इन्टरनेट उपयोगिताको हाम्रो बेथितीलाई पुष्टि गर्छ । पुनः एकपटक ‘सामाजिक संजाल माध्यम मात्र हो, समाचार होइन’ भन्ने पछिल्लो बहसमा बल थपिदिएको छ । कुनैपनि व्यक्तिको स्वास्थ्यलाई लिएर यसरी व्यंग्य गर्नु र उनलाई अपमानको पराकाष्टामा पुर्‍याउनु गलत हो । प्रचण्डपुत्र प्रकाशले जिउँदै रहेको व्यक्तिलाई श्रद्धाञ्जली दिएर गलत प्रवृत्तिलाई मलजल गरेका छन् । भलै, पारस शाह सामन्तवादको केन्द्रविन्दु दरबारका एक पात्र होलान् तर भिन्न राजनीतिक परिवेशको यो छेकोमा उनलाई आम नागरिककै रुपमा लिइनुपर्छ । मेरै कतिपय मित्रहरूले पारसको मृत्युको हल्लामा स्टाटस लेखे र ट्वीटिए । तर, ती सबै खबरको विश्वसनिय स्रोत थिएन । हाँसो लाग्दो कुरो –स्रोतका रुपमा प्रकाश दाहालको नाम उल्लेख थियो ।

पारसको स्वास्थ्यलाभको कामना गर्नैपर्छ । यदि पारसको निधन हुने हो भने नेपालले दरबार हत्याकाण्डको ठूलो साक्षी गुमाउनेछ । देशले पारसबाट पाउने त्यो भन्दा ठूलो योगदान अन्य हुनेछैन । यदि उनी स्वास्थ्य लाभ गरि सामान्य अवस्थामा फर्किए भने सरकारले उनीबाट जेठ १९ को हत्याकाण्डको प्रमाण खोज्नुपर्छ । गोली चल्दा पारस दरबारभित्रै थिए र कतिपयलाई जोगाउने काममा उनको पनि भूमिका थियो भनिन्छ । यद्यपी, त्यो भूमिकालाई लिएर जनतामा शंकाको निवारण भैसकेको छैन । पारस तंग्रिए भने थाइल्यान्डस्थित नेपाली दुतावासले कुटनीतिक च्यानलमार्फत दरबार हत्याकाण्डको छानविन गर्नुपर्छ । राजतन्त्रको पतनका रुपमा पारसको भूमिका र कालखण्डलाई नेपाली इतिहासले कहिल्यै माफी दिनेछैन ।

पुनः पारसबारेको सोसल साइट खबरतिर फर्कौं –यतिबेला धेरै नेपालीको पहुँचमा इन्टरनेट पुगेको छ । लाखौं नेपालीले फेसबुक र ट्वीटरमा खाता खोलेका छन् । यसले पक्कै पनि समाचार कक्षमा चुनौति थपेको छ । समाचार कक्षले फेसबुक र ट्वीटरमा न्यूज आए भन्दैमा छाप्नु हुँदैन । ती तथ्यहरूलाई प्रशोसन गरि कम्युनिकेसनका सात तह पार गराउनुपर्छ । तब मात्र त्यसले समाचारको मान्यता पाउँछ ।

No comments:

Post a Comment