Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 2, 2013

अनि मनिषाले भनिन् –उत्तर तिमीभित्रै छ

विष्णु शर्मा
२ फेव्रुअरी, २०१३


अक्सर म भौतिक विज्ञान र अध्यात्मलाई फ्युजन गर्छु । दुवै दर्शनमा म गुणदोष पाउँछु । ओशोका गुण र अहिलेको फास्टफुड जीवनमा मैले अध्यात्म ज्ञान पछिल्लो पटक ओशो तपोवनको हरियालीमा पाएको थिएँ । जहाँ मसँगै मेगास्टारद्धय राजेश हमाल र मनिषा कोइराला पनि सँगै थिए । मनिषा दिदी त अहिले न्यूयोर्कमा हुनुहुन्छ । मसँगै त्यता लागेका एकजना सैनिक अफिसरको हामी भेटेको एक महिनापछि दुर्भाग्यवश ढोरपाटन विमान दुर्घटनामा निधन भयो । स्वामी आनन्द अरुणले मनिषा र राजेशलाई दिलाएको डेढघण्टे प्रवचनले मेरो मस्तिष्कमा समेत हलचल ल्याएको थियो ।


‘स्वागत छ तपाईंहरूलाई ओशो तपोवनमा, सहरका डिस्को क्लव, डान्स बार, सिनेमा हल र मनोरञ्जन छाडेर तपाईं यहाँ आउनुभएको छ’ स्वामी आनन्द अरुणले आफ्नै शैलीमा स्वागत गर्नुभएको थियो । अहिलेको तनाव, थकान र सुखको अर्थ खोज्दै दौडधुप गरिरहेको जीवनमा त्यो एकघण्टे प्रवचनले ममा अध्यात्मकको धुन्धुभी ल्याएको थियो । यो ब्लग लेखिरहँदा, मनिषा दिदीको जीवनमा ठूलो आध्यात्मिक मोड आएको छ । महानायक हमालको बौद्धिकतामा अध्यात्म घुस्न थालेका छन् । म आफूलाई भौतिकवादी त ठान्छु तर मेरो सोचाइमा अध्यात्म पनि मिसिन थालेको छ । यो ठूलो टर्निङ प्वाइन्ट हो ।

मैले बाहिरबाट ओशो तपोवनलाई जे सोचेको र सुनेको थिएँ, गेरुवस्त्रधारीले घेरिएको उक्त बनकुञ्जमा त्यस्तो केही पाइन । खाना खाने, कुरा गर्ने र माहौल हेर्दा यस्तो लाग्थ्यो –त्यो ओशाको पाठ्यक्रम पढाइने कुनै युनिभर्सिटी हो । हालै आमिर खानको फिल्म ‘तलास’ हेरेको थिएँ । फिल्म र ओशोको थिम एउटै पाएँ । त्यो हो –‘आन्सर लाइज् विदिन् ।’ अर्थात उत्तर तिमी आफैभित्र छ । प्रश्नभित्रै उत्तर लुकेको हुन्छ । ओशो तपोवनले मलाई पछिल्लो पटक सिकाएको एउटा उज्यालो थियो यो ।

No comments:

Post a Comment