Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 23, 2013

‘म काठमाडौं आइपुगेँ कमरेड’

विष्णु शर्मा
फेव्रअरी २४, २०१३


संगीतश्रोता, मेरा मित्र तथा मनपर्ने कवि हुन् । मेरै छिमेकी पर्वतका यी हितैषी यतिबेला पत्रकार महासंघ पर्वतका जिल्ला सभापति छन् । शक्तिशाली स्टोरी टेलिङका कारण संगीतश्रोताका कवितामा मन छुने भावहरू हुन्छन् । ‘किरेडाँडा’ उनको कविताको अब्बल विम्व हो । यस्तो लाग्छ –किरेडाँडा उनको साहित्यिक ट्रेडमार्क हो । समकालिन पुस्तामा संगीतश्रोता बलिया युवा कवि हुन् । ‘म काठमाडौं आइपुगेँ कमरेड’ कविता पढेर म मर्मस्पर्शी बनेको थिएँ । यतिबेला उनीद्धारा लिखित कविता संग्रह ‘म काठमाडौं आइपुगेँ’ प्रकाशनको तयारीमा छ । उनको यो कवितात्मक भावलाई राष्ट्रिय राजनीतिको गहिराइसँग बुझ्नु न्यायोचित हुनेछ । प्रकाशोन्मुख पुस्तकबाट मैले उनको एउटा कविता यहाँ प्रस्तुत गरेको छु ।

हो कमरेड
गाउँमा तिम्रो गुमनामको खवरले
मैले ठानेको थिएँ
अवस्य तिमी काठमाडौं पुग्यौं ।
कीरेडाँडा
... जुन माटोमा खेलेका तिम्रा हिजोका खाली पैतलाहरु
आज शहरको आलीशान महल प्रवेश गर्दैछन् ।
तिमी भाग्यवान छौं कमरेड †
समयको नत्थीलाई
समातेर
तिमी थानकोट उक्ल्यौ
म शुभकामना दिन्छु तिमीलाई
तिमी एकदिन सेतो हिमाल पनि चढ
तर सेतो हिमाल चढेर
तिमीले तलतिरै फर्केर हेर्नु एकपटक
त्यही तलको फेदी चढेर
त्यो हेमानको चूचूरो पार गरेको अनूभूति हुनेछ सायद

कमरेड †
तिमीलाई लाग्दो हो
‘म काठमाडौं छु अब गाउँको कीरेडाँडा
मेरो अनुकुल छैन’
किनकि
कीरेडाँडामा काठमाडौंका जस्ता
अग्ला घरहरु छैनन्
अग्ला मान्छेहरु छैनन्
अग्ला विचारहरु छैनन्
त्यो तिम्रो मिथ्या भ्रम मात्र हो कमरेड †
गाउँमा एउटा सुन्दर संसार छ
त्यो संसारको सप्तरङ्गी फूलवारीभित्र
संसार हाक्ने उचाईका मान्छेहरु पनि छन्
त्यहाँ सायद
भ्रम दिग्भ्रमको खेती गर्ने
चाकडी र चाप्लुसी बाजहरु छैनन् ।

कमरेड †
मैले सुनेको छु आजकल
तिमीले गाउँको कीरेडाँडा बिर्सेर
काठमाडौंको विशाल शहरमा
भविस्यको नयाँ खेती गर्दैछौं
नयाँ सपनाहरु उमार्दैछौं
र नयाँ उचाइको थप खोजी गर्दैछौं ।

तर वेमौसमको खेतीमा
कहिले काहीं
हुरी आउन सक्छ कमरेड †
असिनाले लछार्न सक्छ ।
तिमीले देखेका नक्कली सपनाहरुमा
अनपेक्षित तुषारापात पनि पर्न सक्छ ।
त्यसैले
यो गाउँको कीरेडाँडामा
हिजो तिमीसँगसँगै
डण्डीवियो खेल्ने
सँगै कपर्दी र ढिकीच्याँउ खेल्ने
यो पूर्वमित्रको तिमीलाई
सुझाव छ
कीरेडाँडा तिम्रो ममताको आधारशिविर हो
तिम्रो जन्मभूमि
र आराधानाको मन्दिर हो
तिमी घमण्ड नगर ‘म काठमाडौं आइपुगेँ भनेर ।

1 comment:

  1. आ यो नर्कमा चाहेर नचाहेर सपना देखिँदो छ । घमण्ड नगरेर बस्दा पनि मन्द विष सेवन जस्तो हुनुभन्दा त बरु घमण्डै ठिक हो कि हा हाह ाह ा गजबको र प्रभावी कविता ।

    ReplyDelete