Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 18, 2013

ओवामाकी श्रीमतीको नाम के हो ?

Obstarct Image by : Deepak's Facebook
विष्णु शर्मा
१९ फेव्रुअरी, २०१३


दीपक सापकोटा, समकालिन पुस्ताका प्रखर कवि हुन् । यी तन्नेरी कवि वर्गीय समाजका बिब्ल्याँटा पाटा, प्रेम र सौन्दर्यलाई विम्वमा उतार्न खप्पीस छन् । उनी र म बीचको सम्बन्ध केवल पाठक र लेखकबीच सीमित छैन । उनी जे लेख्छन्, मन छुने गरि लेख्छन् । ‘दृष्टि’ साप्ताहिकबाट सुरु भएको हाम्रो उठ्वस् यतिबेला गतिमान छ । कैंयन महिना हामी पुतलीसडकको एउटै कोठामा बसेका छौं । उसो त हाम्रो सम्बन्ध तरकारीको स्वाद र भान्सासँग पनि जोडिएको छ । यसर्थ हाम्रो सम्बन्धको लम्बाइभन्दा गहिराई बढ्ता छ । मेरो एउटै आग्रहमा यी काभ्रेली रैथानेले कविता जन्माए र मलाई मेल गरिदिए । उसो त मलाई वर्गीय समाजको माक्र्सेली सौन्दयसँग ज्यादा अपनत्व छ ।



दोष : एक लम्बेतान् प्रक्रिया
दीपक सापकोटा

मेरो घर छेउको बूढो सब्जी पसले,
जोसँग बार्गेनिङ गरिरहन्छु बिहान–बेलुका
यो उमेरमा पनि किन बेचिरहेछ सब्जी ऊ
जान्दिनँ म

यो धोबी
जो म सफा देखिनुको कारण हो
कति बच्चा छन् उसका
जान्दिनँ म

बाटोमा हिँड्दाहिँड्दै चुँडिएको
मेरो चप्पल सिलाउने
वा गन्हाउने जुत्ता मर्मत गर्ने
बूढो सार्की यो हिउँदमा कहाँ बस्छ
थाहा छैन मलाई
वर्षौं पहिले जब म स्कुल पढ्थेँ
मेरो जुत्ता टल्काउँदै
ऊ भन्थ्यो– हेर यसमा तिम्रो अनुहार
थाहा छैन त्यो बूढोको नाम मलाई

जो दमाई सिलाउँछ मेरो कमिज
सुर्तीले कालो भइसकेको दाँत देखाउँदै सोध्छ–
‘बाबु कत्ति किलास पढनुहुन्छ ?’
बिनाजवाफ हिँडिदिन्छु म
हो, उसको पनि नाम थाहा छैन मलाई

त्यो व्यस्त चोकको बुढो हजामको उमेर पनि थाहा छैन
जो हरेक महिना चायाँ परेको मेरो बाक्लो कपालमा
कैंची चलाउँछ, मालिस गर्छ र भन्छ–
‘भाइ साब, अब तुम बडिया भैगई ।’

मेरो अफिसकी पिउन सधैं बोकेर ल्याउँछे सानी छोरी
उसको नाम पनि जान्दिनँ म
अनि जान्दिनँ– किन ऊ तयार पार्दै छे अर्की पिउन

जान्दिनँ, जान्दिनँ, जान्दिनँ म
म केही पनि जान्दिनँ

तर, म जान्दछु– बाराक ओबामाकी श्रीमतीको नाम
म जान्दछु, उनले कहाँ के भाषण दिए ?
जस्तो कि
लादेनको मृत्युपछि उनले तत्काल भनेका थिए
‘उसको मृत्युपछि यो विश्व सुरक्षित भएको छ ।’

हो, म जान्दछु– शहरको कुन कुनामा छन् कवि श्यामल
विदेशी मुद्रा विनियम दर र शेयर मार्केटको घटबढ
हिरोइनको ओठको हाँसोको रहस्य
गर्न सक्छु चर्को बहस–
सरकार माओवादीको ठीक कि कांग्रेसको

यस्तो किन भइरहेछ ?
किन जान्दिनँ म नजिकका मान्छेबारे ?
मेरी आमा र वैद्यको एउटै मत छ–
‘तिम्रो आँखाले नजिक देख्दैन ।’
कतै यो म मान्छे हुनुको
दोष त होइन ?

1 comment: