Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 25, 2013

छुरिम भन्छिन् –एभरेस्टभन्दा दुःखको हिमाल अग्लो

विष्णु शर्मा
२६ फेव्रुअरी, २०१३


अक्सर कसैलाई सल्लाह दिँदा हामी सगरमाथा विम्व प्रयोग गर्छौं । एभरेस्टलाई विजय र लक्ष्य प्राप्तीको विम्वका रुपमा लिइन्छ । हजारौंले त्यही सगरमाथा चढ्दा हिऊँसँग जीवन साटेका छन् । गत आइतबार भने २९ वर्षिया नेपाली युवती छुरिमले एकै सिजनमा दुईपटक सर्वोच्च शिखर चढेर गिनिज बुकमा नाम लेखेकी छिन् । विश्व रेकर्डलाई मात्र गिनिजले नाम लेखाउने गर्छ । पर्यटन मन्त्री पोस्टबहादुर बोगटीले छुरिमलाई गिनिज सर्टिफिकेट हस्तान्तरण गरे । गत मे १२ मा छुरिम ८८४८ मिटर अग्लो हिमाल चढेकी थिइन् । केही समय आधार शिविरमा झरेर आराम गरिन् अनि पुनः उक्लिइन् ।
मसँगको कुराकानीमा छुरिमले रेकर्डका लागि आउँदा दिनमा प्रयास गर्ने बताइन् । अन्य शेर्पाजस्तै उनी छुरिम अर्थात एउटा नामले मात्र चिनिन चाहन्छिन् । विश्वका अन्य अग्ला हिमाल चढ्ने योजना उनको रहेछ । नेपालमा कमै महिलाले मात्र सगरमाथा चढेका छन्, छुरिमलाई यसैकारण कीर्तिमान राख्न सहयोग पुग्यो । ‘पुरुष आरोहीहरू अगाडि र महिला सँधै पछाडि छन् । पुरुष जत्तिकै महिलाहरू बलिया छैनन, ट्वाइलेटका लागि पनि हिमालमा महिलाले संघर्ष गर्नुपर्छ’ पर्यटन बोर्डको सभाकक्षमा छुरिम मसँग गफिइन् । यी शेर्पिनी केटी मिजासिली जत्तिकै छिन्, मायालु पनि उत्तिकै ।

अहिलेको युवापुस्ता करियरलाई लिएर तनावमा छ । त्यही पुस्ताकी एक प्रतिनिधि छुरिम भने जीवनप्रति आशावादी देखिइन् । हिमाल चढेर देशको नाम राख्नु र पर्यटन उद्योग उकास्नु उनको करियरको ध्येय रहेछ । हिऊँको हिमाल चढ्न सजिलो लागेपनि दुःखको हिमाल चढ्न पक्कै पनि कठिन हुन्छ । अक्सर हामी दुःखको पहाडको टुप्पोबाट हेर्दा आफूलाई होचों पाउँछौं, छुरिम विपरित छिन् । हुनसक्छ, यही उँचो मनले उनले हिमाल चढिन् । सम्भवतः छुरिमले मेरो ब्लग अवश्य हेर्नेछिन् । छुरिम तिमीलाई सफलताको शुभकामना ।

No comments:

Post a Comment