Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 26, 2013

जसले महानायकलाई लगाम लगाउँछन्

विष्णु शर्मा
२६ फेव्रुअरी, २०१३

एउटा भनाई छ –‘निराशावादीले प्यारासुट बनाउँछ र आशावादीले प्लेन ।’ तर, चिरन्जीवि आचार्य यतिबेला त्यही आशावादिताको प्लेनमा सयर गरिरहेका छन् । सपना र आशा पुरा गर्ने यात्रामा अन्य प्राथमिकताहरू गौण हुन्छन् । यसको अर्थ चिरन्जीविसँग डाक्टर, पाइलट र इन्जिनियर बन्ने सपनाहरू कहिल्यै प्राथमिकताका चीज बनेनन्, जति राजेश हमालको सहयोगी बन्नुमा उनका मान्यता दरिए । हामी यहाँ कुरा गरिरहेका छौं –उनै चिरन्जीविसँग जो झट्ट देख्दा दुब्ला र पातला देखिन्छन् तर दुब्लो छैन उनको आत्मविश्वास । कमैलाई थाहा छ –राजेश हमाल महानायक बन्नुको नेपथ्यमा यी दुब्ला र खिरिला चिरन्जीविको योगदान उच्च छ भनेर । सुनसरीका यी रैथाने हालैको एक साँझ पुरानो बानेश्वरमा नोस्टाल्जिक बने ।


अठ्ठाइस वर्षे सुनसरी मधेशा–२, तित्रीबनका यी रैथानेसँग जीवनमा एउटै सपना थियो –राजेश हमाल बन्ने । सानैमा इटहरीको कृष्ण टकिजमा हमालको डेब्यु सिनेमा ‘युगदेखि युगसम्म’ हेरेपछि चिरनमा राजेश हमालको क्रेज सवार भएको हो । फिल्ममा हमालको व्यक्तित्व र डायलग डेलिभरीले चिरन्जीवि यति प्रभावित भएछन् कि त्यो विन्दुदेखि उनमा समग्र जीवनको सिस्टम बदलियो । राजेश हमालबारे कसैले कुरा काटे झगडा गर्नेदेखि उनलाई जिस्काउन राजेश हमालको नामै लिने साथीहरूको प्रवृत्ति देखियो । स्कुल पढ्दादेखि नै राजेश हमालको एसिस्टेन्ट बन्छु भन्ने सपनाको पालुवा हमालको पहिलो फिल्म हेरेदेखि नै पलाउन थाल्यो । ‘सेक्सन अफिसर बन्न मैले पढेको थिइँन’ चिनी कम हालेको चिया सुरुप्प पार्दै चिरन्जीविले भने, ‘स्टुडियोमा बसेर हमालको डायलग सुन्नेतर्फ मेरो ध्याउन्न थियो ।’

आचार्यका यी सपना गन्तव्यमा उछालिए जतिबेला ०५३ सालमा उनकै गाउँमा चलचित्र ‘चण्डाल’को सुटिङ भएको थियो । हमाल थिए त्यसका हिरो र सुटिङ सेटमा पुगेर पहिलोपटक उनले आफ्ना आइडल पर्सनलाई भेटेका थिए । कलाकार र फ्यानको यो भेटले यस्तो संयोगको थालनी ग¥यो, पहिलो भेटदेखि नै हमालले चिरन्जीविलाई स्मृतिमा राखिसकेका थिए । ‘म हजुरको ठूलो फ्यान हुँ । स्कुलबाट भागेर सुटिङमा आएको हुँ’ चिरन्जीवि फ्ल्यासब्याकमा पुगे, ‘मैले यति भनिसकेपछि उहाँले काठमाण्डू आउनुस र भेटौं भन्नुभयो ।’ महानायकका ती दुई छरिता वाक्यले चिरन्जीविको गन्तव्य र प्राथमिकताको दिशा परिवर्तन ग¥यो । एसएलसी पास गरेर उनी काठमाडौं आए । ‘अरु, इन्जिनियर बन्ने सपना पालेर काठमाण्डू आउँछन् तर म दाईलाई भेट्नमात्र आएको हुँ’ चिरन भन्छन् ।

काठमाण्डू सहर टेकेपछि उनी नयाँ वानेश्वरको गल्लीमा रहेको भाडाको कोठामा बस्न थाले । संयोवश त्यही घरमा एकाध चलचित्र पत्रकारहरू पनि बस्थे जो समकालिन सिने पत्रकारितामा परिचित छन् । ‘उनीहरूसँग मैले राजेश दाईलाई भेटाइदिन कर गर्थेँ । तर, उनीहरूले भाउ खोज्थे । कुनैदिन यस्तो आउनेछ जतिबेला राजेश हमालको इन्टरभ्यू लिनुपरे मलाई फोन गर्नुपर्ने दिन आउनेछ भनेर मैले मनमनै भन्थेँ’ चिरन्जीविले स्मृतिको झ्यालबाट एउटा किस्सा सम्झिए, ‘आज उहाँहरूले यो कुराको अनुभूति गर्नुहुन्छ । र, आफूले आफैलाई धिक्कार्नुहुन्छ ।’ एकदिन रानीपोखरी छेवैको विश्वज्योतिमा एक सिनेमाको प्रिमियर थियो । राजेश हमालको फिल्म भनेपछि चिरन्जीवि त्यहाँ पुगे । हमाललाई देखेपछि उनले दाई नमस्ते भने । हमालले प्रतिपश्न गरे –कहिले आउनुभो ? चिरनलाई लाग्यो –अक्सर सेलिव्रिटीहरू नचिनेपनि चिनेको बहाना गर्छन् । तर, पहिलो भेटबारे हमालले सबै बताएपछि चिरनको यो मान्यता परिवर्तन भयो । अनि मनमनै भने –वाह राजेश दाई तपाईँको मेमोरी पावर ।’

यही प्रिमियरको मेसोमा हमाल र चिरन्जीविले फोन नम्बर साटासाट गरे । हमालका तत्कालिन एसिस्टेन्ट रोशन हमाललाई भन्न लगाएर हमालले फोन टिपे । अब त कन्ट्याक्ट पनि सजिलो भयो । आरआरमा पढ्दै गरेका चिरन्जीवि राजेश हमालको सुटिङ भन्यो कि कलेज बङ्क गरेरै भएपनि जहाँपनि पुग्थे र सुटिङमा पुगेपछि स्वयमसेवक बनेर हमाललाई सघाउँथे । यो समय चिरन्जीविका लागि संघर्षको एउटा कालखण्ड थियो । सोही समय एकपटक याक एन्ड यतिमा हमालको एउटा कार्यक्रम थियो । हमाल सबैको आकर्षणका केन्द्रविन्दु थिए । यतिबेला चिरनले सँगै लन्च लिने अवसर पाए । यही अवसर थियो –जतिबेला उनले पहिलोपटक कुनै पाँचतारे होटलमा पाइला टेकेका थिए । खुलामंचको एक चलचित्रको सुटिङमा त उनले हमालकै अनुरोधमा कोरस डान्स पनि गरेका थिए । त्यसपछि झन्डै चारवर्षसम्म हमालका लगातार बर्थडेमा उनी सहभागि भए । ‘बर्थडेमा वीस् गर्न डाक्नुहुन्थ्यो र सँगै सुटिङमा पनि हिँड्नुपर्छ पनि भन्नुहुन्थ्यो’ चिरन सम्झन्छन् ।

०६३ साल चिरनका लागि सपनाको यथार्थ वर्ष बन्यो । महानायकको एसिस्टेन्ट बन्ने उनको सपनाले औपचारिक मूर्तरुप लियो । चिरन अहिलेपनि महानायकका सहयोगी छन् । भन्छन् –उहाँ रहुन्जेल र मलाई विश्वास गरुन्जेल म उहाँकै सहयोगी भइरहनेछु ।’ संघर्षका दिनमा लौ यो बिग्रियो भनेर दुरदुर गर्नेहरूले पनि अहिले प्रशंसा गर्न थालेका छन् । उनीहरू चिरनले सफलता हात पा¥यो भनेर भन्न थालेका छन् । यी त भए चिनरका व्यक्तिगत कुरा । तर, चिरनले जति राजेश हमाललाई सायदै अरुले चिन्न सकेका छन् । हमालबारे चिरनको आफ्नै ब्याख्या छ –राजेश हमाल त्यो व्यक्ति हो जसलाई चिनेर पनि चिन्न सकिँदैन र बुझेर पनि बुझ्न सकिँदैन ।’  उनले हमाललाई रहस्यपूर्ण व्यक्तित्वको रुपमा चर्चा गरे । यस्तो लाग्छ –चिरन एकमात्र त्यस्ता लगाम हुन् जसले महानायकलाई हस्तक्षेप र तेजोबध गर्न सक्छ । यतिसम्मकी राजेशको व्यक्तिगत जीवनमा समेत चिरन्जीविको हस्तक्षेप हुन्छ । हमालको व्यावसायिक पाटोलाई पनि चिरन स्वयमले डिल गर्छन् । ‘टाइम कमिटमेन्ट हामीले गरेका हुन्छौं’ चिरन भन्छन्, ‘हुनेवाला भाउजुसँग पनि समय तोकिएको हुन्छ । कुनै कार्यक्रममा लामो समय बस्नुभएको छ भने उहाँलाई त्यहाँबाट उठाउँछौं ।’

चिरनलाई लाग्छ –कुनैपनि कलाकार सहयोगीबिना स्टार बन्न सक्दैन । राजेश हमालको महानायकत्वमा पनि यही सिद्धान्त लागु हुन्छ । राजेश हमाल महानायक बन्न चिरन्जीविजस्तै सहदृयी सहयोगीको भूमिका प्रधान छ । ‘सहयोगीबिना स्टार कोही पनि बन्न सक्दैन । उहाँलाई पब्लिकको रेस्पोन्स दिने हामीले नै हो । पब्लिकसँगको समालोचना उहाँसग पुर्‍याउने हो’ चिरन भन्छन् । कामको निरन्तरता, पेशाप्रतिको इमान्दारिता र सरलताजस्ता विशेषताले हमाललाई महानायक बनाएको चिरनको ठम्याइ छ । केही पाउन केही गुमाउनुपर्छ भनेजस्तै राजेश हमाल पाउन चिरनले जिन्दगीका धेरै खुशिलाई तिलान्जली दिए । जस्तो : उनले साथीहरू गुमाए । घरपरिवारको सामिप्यता गुमाए । भाइटीका र दसैंको अक्षता गुमाए । गुमाएका यी चीजसँग उनले जीवनको आत्मसन्तुष्टि, सपना र राजेश हमाल साटेका छन् । भन्छन् , ‘मलाई जतिले रेस्पोन्स गर्छन् । ठूलो कुरा आत्मसन्तुष्टि हो । आज म ब्यूरोक्रासीमा भएपनि यत्तिको सम्मान पाउने थिइँन जति राजेश दाईलाई गाइड गर्दा पाएको छु ।’

चिरनको नीजि जीवन पनि छ । उनको आफ्नो वैश छ । बेफुर्सदी र सपना पुरा गर्ने म्याराथुनमा उनले केही सपनाहरू सजाएका छन् प्रेमिकाका लागि । उनलाई प्रेम प्रस्ताव गर्ने ठिटीहरूको सूचि लामो छ । यस्ती एउटी ठिटी छिन् जसको सौन्दर्यमा चिरन्जीवि लठ्ठ छन् । चारवर्षपछि ती केटीसाथीलाई जीवनकी राजकुमारी बनाउने मुडमा छन् उनी । प्रेमिकाका लागि डेटिङ र रोमान्सको समय दिन पनि चिरन्जीवि चुकेका छैनन् । तर, नीजि जीवनलाई सन्तुलन मिलाएर अघि बढिरहेका छन् उनी । आफूबाट हुनसक्ने सम्भावित गल्तीप्रति उनी निकै सजग छन् । ‘मैले गल्ती गरेँ भने राजेश हमालको नाम जोडिन्छ । आफ्नो नामभन्दा पनि उहाँको नाम बदनाम होला भन्ने खतरातर्फ म सजग छु’ राजेश हमालले खेलेका २ सय ८० फिल्ममध्ये २ सय ३० फिल्म हेरिसकेका राजेश हमाल फ्यान क्लवका अध्यक्ष समेत रहेका चिरन्जीविले भने । 

No comments:

Post a Comment