Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 9, 2013

सुगमलाई सुधारगृह पठाऊ !

विष्णु शर्मा
९ फेव्रुअरी, २०१३


स्कुल जीवनदेखि नै प्रिय गायक थिए सुगम पोखरेल । गायकीबाहेक गतिलै चिनजानले पनि प्रिय थिए उनी मेरा । इतिहास अक्सर दोहोरिन्न तर दोहोरियो भने निर्मम ढंगले दोहोरिन्छ । यो मान्यता यतिबेला यी पप गायकको जीवनमा दोहोरिएको छ । लागुऔषधसहित सुगम दोस्रोपटक प्रहरीद्धारा पक्राउ परेका छन् । पहिलोपटक पक्राउ पर्दा उनी सांगीतिक करियरको उत्कर्षमा थिए र निकै रोइ–कराईपछि प्रहरीले उनलाई गल्ती सच्याउने सर्तमा छाडेको थियो । उनै सुगम हुन् जो लागुऔषध मामिलामा पुनः पक्राउ परेका छन् र असंख्य फ्यानहरूको चित्त दुःखाएका छन् ।


दुईवर्षअघि चिया पिउन भेटिएको बेला सुगमले मलाई डिल्लीबजारस्थित एक प्रसिद्ध गायकको स्टुडियो लगेका थिए । जहाँ मैले सुगमले लागुऔषध सेवन गर्छन् भन्ने कुराको छनक पाएको थिएँ । यो भेटअघि नै एकपटक सुगम पक्राउ परिसकेका थिए तर, कुरो बाहिर आएको थिएन । यतिबेला भने सुगमको गिरफ्तारी सोसल साइटहरूबाट आगोजसरी फैलिए । प्रहरीले छानविका लागि यतिबेला उनलाई हिरासतमै राखेको छ । सुरुआती छानविनमा उनले उपभोगका लागि मात्र खैरो हेरोइन ल्याएको पाइएको प्रहरी भनाइ छ । यदि उनी कारोबारमै संलग्न भएको पाइए १ वर्ष जेल र १० हजार रुपैंया जरिवाना हुनेछ ।

अब सुगमलाई सुधारगृहमै पठाउनु उचित हुनेछ । किनभने उनी लागुऔषधको दुव्र्यसनमा फसिसकेका छन् र कुलतबाट निकालेर बाहिर ल्याउन कठिन पनि हुन्छ । बरु, सुधारगृहबाटै उनले सांगीतिक अभ्यास र पेशालाई जारी राख्न सक्छन् । पपगायनमा नेपाली स्वाद मिश्रण र नेपाली पाश्र्वगायनमा बेग्लै प्यार्टन दिएबापत श्रोताको मन जितेका सुगम प्रकरणले ‘सेलिव्रेटीहुड’को गम्भिर पाटो पनि बाहिर ल्याएको छ । गाएर, नाचेर, अभिनय र राम्रो काम गरेर मात्र सेलिव्रेटी भइँदैन, यी मापदण्ड पुरा गर्न व्यक्तिगत आचरण र बानीजस्ता सामाजिक मूल्यको पनि पालना गर्नुपर्छ ।

सुगम त एक प्रतिनिधि पात्र मात्र हुन्, लागुऔषधसँग करियर जोड्ने सेलिव्रेटीबारे प्रहरीले छानविन गरेर बाहिर ल्याउनैपर्छ । पश्चिमा सेलिव्रेटीको नक्कल गरेर सोही आवरणमा आफूलाई बदल्ने चाहने प्रवृत्ति आत्मरतिबाहेक केही हुँदैन । ‘से नो टु ड्रग्स’ सेलिव्रेटी बन्न चाहने कामको प्रस्थान विन्दु बन्नैपर्छ । प्लिज नेपाली कलाकारले बुझौं लोकप्रियता कमाउन वर्षौं लाग्छ, तर कुख्याती कमाउन सेकेन्ड । कृपया ! नेपाल लस–एन्जल्स, बेभर्ली हिल्स र पेरिस होइन, सामाजिक र राजनीतिक रुपान्तरण खोजिरहेको एउटा गरिब देश हो ।

No comments:

Post a Comment