Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 4, 2013

तेस्रो विश्वयुद्ध एसियाको पानीबाट : टाइम म्यागजिन

विष्णु शर्मा
४ फेव्रुअर, २०१३

टाइम म्यागजिनले यस्तो पनि लेखिदियो –‘तेस्रो विश्व युद्ध एसियाको पानीबाट हुनेछ ।’ लोकप्रिय म्यागजिनको अघिल्लो संस्करणमा गरिएको यस्तो अनुमानले नेपालजस्ता गरिब मुलुकलाई जो पञ्चशिल सिद्धान्तमा अडिग छन्, ती मुलुकलाई नराम्रोसँग झस्काइदिएको छ । टाइमले यतिबेलाको एसियालाई पहिलो विश्वयुद्धपूर्व युरोपको अवस्थासँग तुलना पनि गरेको छ । विश्लेषणलाई गम्भिररुपमा केलाउँदा चीन, रसिया, उत्तर कोरिया, इरान एकातिर हुनेछन् भने अर्को ध्रुवमा भियतनाम, जापान र फिलिपिन्स छन् । यी दुई ध्रुव कम्युनिष्ट र प्रजातान्त्रिक हुन् ।

यतिबेलाको एसियाली कुटनीति चीन र जापानबीचको टापु विवादमा केन्द्रित छ । उक्त टापुलाई दुवै देशले आफ्नो भनेर दावी गर्न थालेपछि भड्किएको हिंसा अझै थामिएको छैन । विश्व शक्तिको रुपमा चीनको उदयसँगै त्यसलाई काउन्टर दिन अमेरिकाले आफ्ना एसियाली गठबन्धन राष्ट्रमा सक्रियता बढाएपछि एकाएक यस्तो तनाव झनै थपिएको छ । सामरिकरुपमा अर्थपूर्ण चीनको उदयलाई अमेरिका रोक्न चाहन्छ र नम्वर एक ग्लोबल पावर बन्न लागेको चीन एसियाली राष्ट्रमा आफ्नो प्रभाव कायम राख्न चाहन्छ । तर, अधिकांश छिमेकीसँग चीनको सम्बन्ध हार्दिक छैन ।

आइतबारमात्र भारतले चीनलाई ब्रम्हपुत्र नदीमा आफ्नो पानीको अधिकार चाहिएको सन्देश दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्त सैयद अकबरुद्दिनले साउथ ब्लकमा पत्रकार सम्मेलन नै गरेर ब्रम्हपुत्रमा बाँध बाँध्न खोज्ने चिनियाँ कदमको विरोध गरेका हुन् । चीनसँगको कुटिल सम्बन्धका कारण यतिबेला जापानी अर्थतन्त्र ध्वस्तताको बाटोमा छ । ‘जापान तत्कालै युद्ध चाहँदैन किनभने सुनामी र बाढीले अर्थतन्त्र नराम्रोसँग गिरेको बेला नवनियुक्त प्रधानमन्त्री सिन्जो अबे युद्धको बाटोमा लैजान चाहँदैनन्’ टाइमले लेखेको छ ।

यस्तो जटिल अवस्थामा भारत र चीनजस्ता ठूला उदाउँदा शक्तिको बीचमा सामरिकरुपमा संवेदनशिल स्थानमा रहेको नेपालले छिमेकी राष्ट्रसँग सन्तुलन कुटनीति अपनाउनुको विकल्प छैन । स्वभाविकरुपले अर्थतन्त्रको आयतन बढेसँग त्यसको ग्लोबल प्रभाव छिमेकी देशमा पर्छ । यसलाई हामीले भारतीय र चिनियाँ हस्तक्षेपको रुपमा लिनुहुँदैन । यस्तो बेला हामीले राजनीतिक स्थिरताको बाटो अपनाउनुपर्छ । नत्र, विश्वयुद्धको चपेटामा नेपाल सयौं वर्ष पछाडि पनि धकेलिने हो कि ? (तस्विर : टाइम म्यागजिन अनलाइन)

No comments:

Post a Comment