Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 6, 2013

पानी खिच्न अमेरिकाबाट

विष्णु शर्मा
५ फेव्रुअरी, २०१३


'नमस्ते ! तपाईँ आराम हुनुहुन्छ ?' हालैको एक गोधुली साँझ ठमेलको मण्डप क्याफेमा भेटिएका अमेरिकी तन्नेरीहरु ट्रेभर वालेस र डेना एड्वार्डस ब्रोकन नेपाली बोल्दै थिए । नेपाल बस्न थालेको नौ सातामै यी गोरा तन्नेरीहरु फाट्टफुट्ट नेपाली बोलेर नेपाली माया दर्शाउँदै थिए । यो अन्तरालको नेपाल बसाईमा यी गोराहरुले सुदूरपश्चिमको दार्चुलादेखि सर्वोच्च शिखर मुन्तिरको कालापत्थर नापे । सोलुखुम्बुको जीवनशैली छामे, स्थानीयको हार्दिकता बटुले र कहिल्यै नमेटिने नेपालीपनको अनुभव बटुले । वास्तवमा उनीहरु नेपाली कथाको फिल्म खिच्न हिमालयको देशमा आइपुगेका थिए । विदेशी दातृ संस्थाहरु र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले लगानी गरेका नेपाली जलविद्युत र माइक्रोहाइड्रोले अमेरिका छँदै यी तन्नेरीको मन खिचेको थियो । त्यसको वर्षौंपछि उनीहरु डकुमेन्ट्री खिचेर विश्वबजारका फिल्म फेस्टिभलमा चर्चा दिलाउन नेपाल आइपुगे ।


क्यालिफोनिर्यास्थित सराह लरेन्स कलेजका २१ वर्षे ट्रेभर र स्टान्फोर्ड विश्वविद्यालयका २० वर्षे डेना ती फिल्म निर्माताहरु हुन् जो फिल्म भूगोलको परिधिमा खुम्चिन्छ भन्ने मान्यता राख्दैनन् । त्यसैले उनीहरुले अन्टकार्टिकाको पग्लिँदो बरफबारे डकुमेन्ट्री बनाएर विश्वको ध्यान खिचे, लघुवित्तले कोलिम्बियाको समाजमा गरेको अभूतपूर्व परिवर्तनबारे फिल्म खिचे । उनीहरुका लागि फिल्मको खिचाईको गति कहिँकतै रोकिएन र लोडसेडिङमा बाँचिरहेको जलस्रोतको धनी देशबारे फिल्म खिच्न काठमाडौं उत्रिए । दातृ निकायको लगानीमा निर्माण हुँदै गरेका मेलम्ची, खिम्ति, चमेलिया र उपल्लो कर्णालीजस्ता ठूला परियोजनामा पुगे स्थानीयसँग छलफल गरे ती परियोजना निर्माणमा दातृ निकाय र सरकारबीच भइरहेको कुटनीति, राजनीति र आर्थिक चलखेलको बारेमा अध्ययन गरे । यतिबेला उनीहरु माइक्रोहाइड्रो अध्ययनका लागि बागलुङ छन् ।

उनीहरुले निर्माण गर्न लागेको डकुमेन्ट्री 'पानी' यस्तो कथाको लघुफिल्म हो जसले स्वच्छ पिउने पानी र पानी अभावमा लोडसेडिङ खेपिरहेको नेपाली सहरको चित्रण गर्छ । यो लघुफिल्मले यस्तो कथा बोल्छ जसले सहरमा घन्टौं लोडसेडिङ खेपिरहँदा दुर्गमका गाउँमा चौविसै घन्टा उज्यालो छरिएको कथा चित्रण गर्छ । र अभाव, कठिनाइ र दुःखजिलो जीवन बाँचिरहेका गाम्ले नेपालीहरुको अनुभूति चित्रण गर्छ । 'वास्तवमा हामीले जुन विषयमा फिल्म खिच्दै छौं । यो आमनेपाली साथसाथै न्यून विकसित मुलुकका आमनागरिकले खेपिरहेको विवशता हो' ट्रेभरले मौनता भंग गरे 'सरकारले सहरभन्दा गाउँका बासिन्दालाई हरहालतमा सम्बोधन गर्नुपर्छ । जलविद्युतका नाममा अपारदर्शी चलखेल बन्द गर्नुपर्छ र समान फाइदा पुग्ने किसिमले सरकारले प्रतिफल वितरण गर्नुपर्छ ।'

ट्रेभर र डेना नेपाली लघुजलविद्युतको विषयमा डकुमेन्ट्री बनाउने पहिला फिल्म निर्माता हुनेछन् । यद्यपी उनीहरुले गाउँमा भएका परिवर्तन र आममानिसका अनुभूतिलाई पनि नजिकैबाट नियालेका छन् । 'वास्तवमा हामी नेपाल घुम्दा नेपालीहरुसँग भावनात्मक रुपमा नजिक भयौं । उनीहरुसँग सँगै खायौं बस्यौं र दुःखमा रोयौं पनि' दुवैलाई फिल्म खिचाइमा सहयोग गरेका नेपाली तन्नेरी राजेन्द्र सापकोटा भन्छन् 'दार्चुलादेखि सगरमाथाको कालापत्थरसम्म उनीहरु हिँडे । हिँड्न नसकेका ठाउँमा एकले अर्कालाई बोकेर सहयोग पनि गर्‍यौं । वास्तवमा यी गोराहरुको मिहेनतबाट हाम्रा सिनेमा निर्माताले सिके धेरै राम्रो हुन्थ्यो ।' राजधानीको ओस्कार कलेजमा सिनेम्याट्रोग्राफी अध्ययनरत राजेन्द्रले ट्रेभर र डेनालाई कालापत्थरसम्म पुर्‍याए र नेपाली समाज चिनाए । भन्छन् 'फिल्म खिच्न इच्छाशक्ति र गतिशिलता हुनुपर्छ जुन उनीहरुमा छ ।'

फिल्म निर्माणका लागि नेपालमा उठान गर्नुपर्ने कथा छैनन् भन्ने कुराका खण्डन हुन् यी दुई अमेरिकी डकुमेन्टरहरु । पानीमात्र होइन वायरलेस नेटवर्कले नेपालका हिमाली र पहाडी जिल्लामा पुर्‍याएको र ल्याएको बदलावलाई उनीहरु अर्को शक्तिशाली कथा ठान्छन् । 'हो, हामीले यहाँ धेरै कथाहरु फेला पार्‍यौं' डेना भन्छन् 'यस्ता कथाहरु डकुमेन्ट्रीमा उठान गर्नुपर्ने ज्वलन्त कथाहरु, त्यस्ता कथाहरु जो मानवीय जीवनका आधारभूत स्रोतलाई सम्बोधन गर्छन् र संरक्षणका लागि दवाव दिन्छन् ।' नेपालमा खिचेको यो डकुमेन्ट्री पानीलाई उनीहरु अमेरिका र फ्रान्समा आयोजना गरिने फिल्म फेस्टिभलमा प्रदर्शन गर्दैछन् । नेपालमा वर्षेनी आयोजना हुने किम्फ फिल्म फेस्टिभलमा पनि पानी प्रदर्शित हुनेछ । नेपाल अन्तराष्ट्रिय लघुचलचित्र निर्माणको गन्तव्य बन्न सक्छ भन्ने मान्यतालाई यी अमेरिकी डकुमेन्ट्री निर्माताहरुले पुष्टि गर्न खोजेका छन् । समाज विकासको पर्दापछाडि यस्ता थुप्रै ट्रेभोर, डेना र राजेन्द्रहरु निरन्तर लागिपरेका छन् जसले नेपाली समाज विकासमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिएर सरकोर निकायलाई दवाव तुल्याइरहेका छन् । (Photo by : Rajendra Sapkota)





No comments:

Post a Comment