Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 20, 2013

न्यूयोर्क टाइम्सको नेपालबारेको गलत न्यूज


विष्णु शर्मा
२० फेव्रुअरी, २०१

नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको आरोप सनातनी हो । दक्षिण, उत्तर र पश्चिमी कुटनीतिको अखडा बनिरहेको नेपाल अन्तराष्ट्रिय मिडियाको पनि अखडा बनेको छ । वैदेशिक मामिलामा कुटनीति भन्दा पनि मिडियाको भूमिकालाई संवेदनशिल मानिन्छ । यतिबेला प्रधानन्यायाधीश प्रकरणको नेपाली राजनीतिलाई लिएर अन्तराष्ट्रिय चासो जत्तिको बढेको छ, त्यति नै नेपालबारेको गलत समाचार बाहिर गैरहेको छ । आफूलाई प्रतिष्ठित दाबी गर्ने विदेशी मिडियाले नेपाली न्यूजलाई विदेशमै बसेर कभरेज गर्ने जसका कारण यहाँको यथार्थ नसमेटिने खतरा बढिरहेको छ । गार्डिनर ह्यारिसले मंगलबार न्यूयोर्क टाइम्सका लागि लेखेको समाचारप्रति धेरै नेपालीको असन्तुष्टि छ ।

‘लामो गतिरोध अन्त्य गर्न भैरहेको प्रयासप्रति माओवादी अर्को अवरोधक’ शीर्षकमा न्यूयोर्क टाइम्सले छापेको समाचारलाई संवाददाता ह्यारिसले केही नेपाली मिडियाको आधारमा दिल्लीमा बसेर कभरेज गरेका छन् । नेपाली राजनीतिलाई नजिकबाट जान्ने र बुझ्ने जो सुकैले यो न्यूजलाई खण्डन गर्न सक्छन् । विश्व पत्रकारितामा बेग्लै प्रतिष्ठा राख्न सफल न्यूयोर्क टाइम्सले यस्तो न्यूज लेख्न थाल्यो भने उसको विश्वसनियतामा असर गर्न सक्छ । ‘माओवादीले द्वन्द्वकालका घटना सबैलाई आममाफी दिन लागेको कारण सहमतिमा अवरोध बनिरहेको छ’ भन्ने लिड पत्रिकाको छ । तर, यथार्थ चाहिँ प्रधानन्यायधीशको सर्त र भाषाको कारणले हो । खिलराज रेग्मीका कतिपय असन्तुष्टिलाई सम्बोधन गर्दागर्दै सहमतिमा ढिलाइ भएको हो ।

उसै त न्यूयोर्क टाइम्सले नेपालको समाचार छाप्दै छाप्दैन, छापिहालेपनि दुलर्भ हुन्छ । त्यसमाथि कहिलेकाहीं छापिने समाचारले भ्रम मात्र फैलाइरहेको छ । पत्रिकाले नेपालस्थित अमेरिकी दुतावासमै बुझेर पनि न्यूज लेख्न सकेको भए राम्रो हुन्थ्यो । यदि, न्यूयोर्क टाइम्सले लेखेको समाचार पनि अमेरिकी दुतावासकै आधिकारिक हो भने झन् आपत्तिजनक छ । अमेरिकाकै अर्को प्रतिष्ठित अखबार वाल स्ट्रिट जर्नलले पनि मंगलबारकै डेटलाइनमा यथार्थको नजिक रहेर न्यूज लेखेको छ । एउटै देशका दुई प्रतिष्ठित पत्रिकाको यस्तो असमझदारीले वातावरणलाई प्रदुषित पार्ने मात्र काम गर्छ ।

न्यूयोर्क टाइम्सको गलत समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।
http://www.nytimes.com/2013/02/20/world/asia/nepal-agreement-may-break-deadlock-over-leadership.html?smid=tw-share

No comments:

Post a Comment